+
+

मधेसी मोर्चाका नेतालाई दिल्लीमा प्रश्न-आन्तरिक मामिलामा किन भारतलाई गुहारेको ?

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २० गते १८:४३

Sushma-with-Morcha-650

२० मंसिर, काठमाडौं । भारतको राजधानी दिल्ली पुगे लगतै मधेसी मोर्चाका शीर्ष नेताहरु राजनीतिक भेटवार्तामा व्यस्त भएका छन् ।

मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव लगायतका नेताहरुले आइतबार दिल्लीमा विभिन्न दलका नेताहरुलाई भेटेका छन् । उनीहरुले बिहारका मुख्यमन्त्री नितिसकुमारको पार्टी जनता दल युनाइटेड अध्यक्ष सरद यादव र कांग्रेस आईका नेता करण सिंहलाई भेटेका छन् ।

भारतको राज्यसभामा नाकाबन्दी गरेका कारण नेपालमा संकट गहिरिएको र भारतविरोधी भावना बढेको भन्दै विपक्षीहरूले नरेन्द्र मोदी सरकारको आलोचना भइरहेका बेला मधेसी मोर्चाका नेताहरुलाई दिल्ली भ्रमणको निम्तो आएको थियो । राजेन्द्र र महेन्द्र सीलगुढी हुँदै शनिबार नै दिल्ली पुगेपछि महन्थ र उपेन्द्र आइतबार विहान दिल्ली पुगेका थिए ।

मोर्चाका नेताहरुले पहिलो भेट जेडियूका अध्यक्ष सरद यादवसँग गरे भने त्यसलगतै करण सिं र राष्ट्रिय कांग्रेस पार्टीका महासचिव डीपी त्रिपाठीलाई छुट्टा-छुट्टै भेटेका छन् ।

मधेसी मोर्चाका नेताहरुले साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेका छन् । मधेसी मोर्चाका नेताहरुका लागि रात्रीभोजको समेत आयोजना गरिएको थियो ।

Upendra-Yadav-with-Karan-sing

भेटमा मधेसी मोर्चाका नेताहरुले भारतले नेपालमाथि नाकाबन्दी नगरेको दाबी गरेका छन् । आफूहरुले सीमा नाकामा धर्ना दिएको र त्यसकै कारण आपूर्तिमा अवरोध भएको बताए ।

आफूहरुको आन्दोलन अधिकारका लागि भएको भन्दै मोर्चाका नेताहरुले भारतमा सत्तापक्ष र विपक्षीको एउटै धारणा हुनु पर्नेमा जोड दिएको मोर्चाका एक नेताले बताए ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले मधेसमा भइरहेको आन्दोलन र नेपाल सरकारले लिएको दमनकारी नीतिबारे कुराकानी भएको बताए । उनले भने-‘हामी खुसी छौं । हाम्रो कुरालाई उहाँले गम्भीर रुपमा लिनु भएको छ ।’

नाकाबन्दीबारे केही कुुरा भयो भन्ने प्रश्नमा उनले भने-‘नाकाबन्दी छैन । दसगजामा बस्नु नाकाबन्दी होइन, अबरोध हो ।’

आफूहरुले असहयोग आन्दोलन सुरु गरेको र त्यस अन्तरगत नै सडक र बोर्डरमा धर्ना दिइरहेको उनले बताए । उनले भने-‘नाकाबन्दी हुन्थ्यो भने हामी कसरी यहाँ आउँथ्यौं ?

यादवले नेपालमा तराइवासीमाथि राज्यले रंग, भाषाका आधारमा विभेद गरेको र संविधानले पनि विभेद गरेकाले अधिकार प्राप्तिका लागि आन्दोलन सुरु गरेको बताए ।

आन्तरिक मामिलामा किन भारतलाई गुहारेको ?

यादवले नाकाबन्दी भारतले नगरेको दाबी गरे, जुन भारतले पनि लगातार भन्दै आएका छ । तर, भारतले सार्वजनिक रुपमा संविधान नेपालको आन्तरिक मामिला भएकाले नेपालका दलहरुले वार्ता र सम्वादबाट समाधान खोजेस् भन्दै आएको छ ।

पत्रकारहरुले यादवलाई प्रश्न गरे, नेपालको अन्तरिक मामिलामा भारतलाई किन गुहारेको ?
सद्भावको अपेक्षासहित भारत पुगेका यादवलाई यो प्रश्नले केही आक्रोसित बनायो । मधेसी मोर्चाका नेता यादवले झोकिँदै भने-‘मैले कहिले भनेको छु कि यो भारतको मामिला हो ? यो आन्तरिक मामिला हो र यो हामी आफैं समाधान गर्छौं ।’

उसो भए किन भारत आएको त भन्ने प्रश्नको जवाफमा यादवले ‘छिमेकमा समस्या छ भने छिमेकलाई पनि प्रभावित हुन्छ । यदि यहाँ नआए तपाईलाई कसरी थाहा हुन्छ’ भन्दै हाँसेर टारे ।

त्यसपछि पत्रकारले मधेसी मोर्चाका अर्का नेता राजेन्द्र महतोलाई सोधे-‘नेपालमा भएको आन्दोलनलाई भारतले मलजल गरिरहेको आरोप लागिरहेको छ । यस्तोमा तपाईंहरु आएर भारतीय नेताहरुलाई भेट्दा यो आरोप पुष्टि हुँदैन ?’

महतोले मधेसमा भारतले आन्दोलन नगरेको बताए । ‘नेपालमा त भारतविरोधी गलत राष्ट्रवाद छ । मधेसीको आन्दोलनमा भारतलाई लगाउनु सस्तो काम हो’ उनले भने-‘हामीले पो अवरोध गरेका हौं त । हाम्रो कारणले पो सारा कुराको अभाव भएको छ नेपालमा । भारतलाई आरोप लगाउनुको तुक छैन ।’

उनले सरकारसँगको वार्ता सकारात्मक नरहेको भन्दै अधिकार नपाएसम्म आन्दोलन जारी रहने बताए ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?