Comments Add Comment

थप तीन स्थानमा इन्धन भण्डारणस्थल बनाइँदै

Nepal-Oil

  • सिनामंगलस्थित आयल निगमको भण्डारण स्थल

२२ मंसिर, काठमाडौं । सरकारले काभ्रेको पाँचखाल, नुवाकोटको त्रिशुली र तनहुँको खैरेनीमा इन्धन भण्डारणस्थल निर्माण गर्ने भएको छ ।

ती तीन स्थानमा छ-छ हजार किलोलिटर क्षमताका पेट्रोल भण्डारणस्थल निर्माण गर्न लागिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताए । इन्धनको भण्डारणस्थल निर्माणका लागि चीन सरकारसमक्ष प्रस्ताव गरिएको उनले जानकारी दिए ।

चीन सरकारको सहयोगमा सोही स्थानमा एक-एक हजार किलोलिटर क्षमताको डिजल भण्डारणस्थल पनि निर्माण गरिने भएको छ । भण्डारणस्थल निर्माणका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा अर्थ र परराष्ट्र मन्त्रालयले सो प्रस्तावलाई अगाडि बढाइसकेको छ ।

हाल मुलकुमा ७१ हजार ५६९ किलोलिटर पेट्रोल, डिजेल र हवाई इन्धन मात्र भण्डारण हुँदै आएको छ । मट्टीतेल र एलपी ग्यास भण्डारणको व्यवस्था भएको छैन । हाल कायम रहेको भण्डारण क्षमतामध्ये एक सातालाई पुग्ने पेट्रोलको भण्डारण क्षमता रहेको छ भने डिजेलको १५ दिन र हवाई इन्धनको भण्डारण क्षमता सात दिनलाई मात्र पुग्ने रहेको छ ।

भारतको अघोषित नाकाबन्दीका कारण मुलुकमा भण्डारण क्षमता नहुँदा उपभोक्ता नराम्ररी प्रभावित भएका छन् । उपभोक्ताले समस्या भोगेपछि भण्डारण क्षमता बढाउने विषयमा अर्थमन्त्री विष्णु पौडेल र वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनबीच पटक–पटक छलफल भएको थियो ।

भण्डारण क्षमता बढाउने विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रालयले बजेटको समेत जोहो गर्ने सहमति भएको थियो ।

हाल नेपाल आयल निगमको थानकोट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, पोखरा, नेपागन्ज, विराटनगरलगायतका स्थानमा भण्डारणस्थल रहेको छ ।

तराई–मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीपछि एकाध दिनलाई मात्र पुग्ने इन्धनको भण्डारण रहेको थियो । निगम नाफामा रहेको अवस्थामा समेत क्षमताअनुसार इन्धनको भण्डारण नगरिएको भन्दै चर्को आलोचना भएको थियो । पछिल्लो दिनमा स्वचालित मूल्य प्रणाली कायम गरेपछि निगमको नाफा बढेको अवस्थामा पनि भण्डारण गर्नेतर्फ ध्यान नदिएको र अत्यावश्यकीय वस्तुमा लापरवाही गरिएको भन्दै व्यवस्थापिका–संसद् मातहतका विभिन्न समितिले समेत आपत्ति जनाएका थिए ।

निगमका प्रवक्ता मुकुन्द घिमिरेले हालको अवस्थालाई हेर्दा भण्डारण क्षमता बढाउनै पर्ने आवश्यकता देखिएकाले भण्डारणस्थल बनाउन लागिएको बताए । “हालको भण्डारण क्षमता बढाएर कम्तीमा ९० दिनलाई पुग्ने भण्डारणस्थल निर्माण गर्न लागिएको हो” उनले भने । चीनबाट इन्धन आयात गर्ने सम्बन्धमा त्यहाँको सरकारी कम्पनी पेट्रो चाइना र निगमबीच प्रारम्भिक सम्झौता भइसकेको छ ।

यस्तै व्यापारिकरुपमा इन्धन आयात गर्ने सम्बन्धमा समेत प्रक्रिया अगाडि बढिरहेको छ । निगमको प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा इन्धन आयात गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढिरहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment