+
+

सरकार र जनताका नाममा

सरकार रितिँदै छ दिन प्रतिदिन । आवश्यक र अति आवश्यक कुरा अनि बढिरहेका छन् लाइनहरु । ग्याँसको लाइन, पेट्रोलको लाइन, मट्टीतेलको लाइन, दाउराको लाइन अनि जहाँ लाइन छैन, त्यहाँ महंगी । २ सय को चिजलाई ४ सय वा ५सय हाल्नु पर्ने स्थितिमा गुजि्ररहेका छन् नेपाली ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २२ गते १४:४६

उषा किरण

सरकार रितिँदै छ दिन प्रतिदिन । आवश्यक र अति आवश्यक कुरा अनि बढिरहेका छन् लाइनहरु । ग्याँसको लाइन, पेट्रोलको लाइन, मट्टीतेलको लाइन, दाउराको लाइन अनि जहाँ लाइन छैन, त्यहाँ महंगी । २ सय को चिजलाई ४ सय वा ५सय हाल्नु पर्ने स्थितिमा गुजि्ररहेका छन् नेपाली ।

Usha-Kiranअपरेसन जस्ता संवेदनशील कुरामा पनि सम्झौता गर्नुपर्ने अवस्था आइसकेको छ । रगत नपाएर अनि हस्पिटलसम्म आउन नसकेर ज्यान गुमाइरहेका छन् । खान नपाएर भोकै बसिरहेकाहरुका छन् मानिसहरु । के यी सबै सामान्य हुन् त ? सरकार तिम्रो मन दुखेको छैन र ?

आन्दोलन कति हिंस्रक बन्दै गइरहेको छ , त्यो त देखिरहेकै छौं । के तिमी रमिते नै भएका हौ त ? अनि असन्तुष्ट पक्षहरु रङ्गमञ्च । अझै कतिन्जेल ? प्रयास जारी छ भन्छौ, खै के कस्ता योजनाहरु बनायौ त ? हामीलाई मीठो बोली हैन, प्रमाणका साथ अगाडि आउ, होइन भने झूठा आश्वासन नदेउ ।

तराईमा आन्दोलन भएको पनि सय दिन माथि कटिसक्यो । तराईमा रहनुभएका मधेसी आमाबुबा, दिदीबहिनी, दाजुभाइ सम्पूर्णलाई आग्रह गर्दछु कि हिमाल, पहाड र तराईका जनताहरुले के कस्ता सहयोग गर्नु पर्‍यो भन्नुहोस् । त्यसका लागि हामी तयार छौं र हामी सबै मिली यस्तो कदम चालौं कि वर्तमान र भविश्य उज्वल होस् ।

पावरमा रहेकाहरुलाई कहाँ अप्ठ्यारो पर्ने हो र भार त जनतालाई नै । उनीहरुलाई रुघा मात्र लागोस् त उनीहरुको स्वाथ्यपचारका लागि विदेशको यात्रा तुरुन्त खुल्ला भइसक्छ, मर्ने त हामी आम जनता न हो ।

हामीले आफू आफू नै लड्ने अवस्था सिर्जना गर्नु हुन्न । हामी परिवारभित्र नै झगडा गर्ने हो भने कसैले सहयोग गर्ने छैन र सहयोगको अपेक्षा राख्नु मूर्खता र लज्जास्पद हुनेछ । होइन र ? तर, हामी सबै मिली एक अर्कालाई सहयोग गरे उदाहरणीय बन्नेछौं । हो, राम्रो उदाहरण, तर रुवाण्डा देशको जस्तो होइन ।

स्कूलहरु बन्द हुनु, स्वास्थ्य क्षेत्रमा संकट आउनु, वनजंगल मासिनु, व्यापार व्यवसाय वा यस्ता थुप्रै कुरामा देशले घाटा व्यहोरिरहेको छ ।

के यी सबै हुनु राम्रो हो त ? हाम्रा आँखा अगाडि नै छन् त्यस्ता अनगिन्ती गल्तीहरु जसले हामीलाई मज्जाले पछारेकै हो। हामी त्यही गल्ती नहोहोर्‍याऊँ, जुन पहिले भए, अब हामीले सुधार्नुपर्छ । हामीले देशलाई निकास दिनैपर्छ किनकि अब नेपाल र नेपाली जनता पछाडि होइन, अगाडि बढ्नु छ । हामी एकजुट भएर काम गर्नुपर्छ ।

सरकार ! स्मरण रहोस् कि नेपाल रहे नेपाली रहन्छन्, नेपाल नै नरहे हाम्रो अस्तित्व कहाँ रहन्छ र ?

अब जनता सरकार बन्नु पर्छ । हो हरेक क्षेत्रमा ! नराम्रा विकृतिहरुका लागि एकजुट भएर लागि पर्ने र त्यसलाई जरै बाट उखेलेर फालिदिने र राम्रा कामहरुलाई जरैदेखि मलजल गर्ने । कानुन सबैका लागि बराबर । जनताको कानुनमा संरक्षण भन्ने हुँदैन । नेपाली जनता पहिले नेपाली हो अनि मात्र विभिन्न तह र तप्कामा विभाजित छौं, होइन र ? जब हामी एकजुट भएर काम गर्छौं सफलता त्यति नजिकिँदै जाने छ र त्यो सफलताको भागीदार एउटा समुदायको मात्र नभएर सिङ्गो नेपालको हितको लागि हुनेछ । अनि हामी चाडपर्वहरुमा हाम्रो सफलताको आदान-प्रदान गर्ने छौं ।

एक अर्काको चाडपर्वलाई सम्मान गर्दै संग्लन हुने हो भने हामीले हाम्रो देश विकास गर्न अरुको मुख ताकिरहन पर्दैन । सिङ्गो नेपालको संग्लनता पो हो त एक रुपैयाँका दरले नै हिसाब गर्ने हो भने पनि पर्याप्त मात्रामा रकम जुट्छ । गाउँका सबै मिली साना योजना बनाउँदै अगाडि बढे पक्कै सफल जनता र समृद्ध नेपाल बन्ने छ ।

सरकार, विश्वासको बाटो बनाएर हामीलाई सहयोग गर , उदाहरणीय बनेर देखाऊ । फेरी एउटा गर्भवान इतिहास रचना गर , जनतालाई मित्र बनाउ तर बिकृति फैलाउनेलाई कारबाही गर कदापी संरक्षण नगर । जनतालाई पछि नपार , नछल बरु जवाफदेही बन एनजीओ, आइएनजीओ, राजनीतिक दलहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नागरिक समाज अनि सिङ्गो संसार छ । अरु के चाहियो ?

सरकार सबैलाई समेटेर योजना बनाउ । क्रमवद्ध तरिकाले योजनाहरुलाई अगाडि बढाउ । सरसल्लाह गर, विशेषज्ञहरु राख, जनताका प्रतिक्रिया लेउ । ठाउँ ठाउँमा स्वयंसेवक खटाउ । सरकार, तिमी भन मात्र, खुसी आउँछन् सहयोग गर्ने नेपाली जनता । विश्वासको बाटो त बनाउ । जनतालाई अप टु डेट त गराउ । आजैबाट सुरु गर । वास्तवमा गर्न नसक्ने भन्ने केही नै छैन, मात्र आँट चाहिन्छ । त्यही पनि हाम्रो देशमा के मात्र छैन र ? धेरै थोक छ, कुरा यति मात्र हो कि आँट्ने कि नआँट्ने ।

सरकार धेरै कुरा गर्न सकिन्छ । तर, यहाँ त दिनसक्ने कुराहरुमा पनि किन चुकिरहेका छौं ? के हामी सबैलाई सम्मान अवसर दिन सक्दैनौं ? गुणस्तरीय शिक्षा, क्षमता वृद्धि गर्ने तालिमहरु दिन सक्दैनौं ? पर्यटन क्षेत्र, हाम्रो संस्कृतिहरुको क्षमता यति थोरै हो र ? शहर र गाउँलाई सडकले जोड्न सक्दैनौं ? साना जाति भनिएकाहरुलाई कमजोर कतिञ्जेल पार्ने ? शिक्षा प्रदान गरी उनीहरुले गर्दै आएका कामलाई समान र सहि प्रविधिहरु दिन सके ठूलो जनशक्ति बन्छ र उनीहरुले गार्मेन्ट जस्ता धेरै कारखानाहरु खोलेर आत्मनिर्भर बने के यो सिङ्गो नेपालका लागि राम्रो होइन र ?

त्यसैगरी कृषिमा पनि, पानीको सहि सदुपयोग, वैकल्पिक श्रोतहरुलाई पनि मान्यता दिएर, रिसाइकलको व्यवस्था र अरु थुप्रै कुराहरु छन्, जसलाई कुरामा मात्र नभई काम पनि गर्ने हो भने नेपाल गरिब नहुदाँ नहुँदै पनि नेपाल सानो र गरिब देश भनेर कहिले सम्म लेख्ने ?

जडीबुटीको खानी नै छ । जस्तै युवा-गुम्बा जुन एन्टी-एजिङका लागि एकदमै प्रभावकारी भनेर न्युजमा छापिएकै हो । अब भन्नु होस् कि कसलाई बूढो हुन मन लाग्ला ? सबै थोक भएर पनि अस्तित्व गुमाएर कतिञ्जेल बाँच्ने हामी नेपाली ?
प्रश्नहरु धेरै छन् अरु केही सोध्न मन लाग्यो, सक्छौ जवाफ दिन ? प्रयास गर । फ्रान्समा जस्तै विपद् आइपर्न सक्ने सम्भावनाहरुलाई कहिले गहिरिएर सोचेका छौ ? छिमेकी देशहरुले निहुँ खोज्दा सौदा नगरी काम गर्ने क्षमता राखेका छौ ? थाहा नै भएको कुरा हो, नेपाल भूकम्पीय जोखिम क्षेत्रमा पर्छ, योजना बनायौ ? लोडसेडिङ मुक्त देश १ वर्ष भित्र बनाउने नै हो त ? शिक्षा, स्वास्थ्य, रोजगार कहिले ? गास, बास र कपास नै हेरिदिँदैनौ भने भोका पेट भएका जनताहरुको आस कहिलेसम्म गर्छौं ? मानिसहरु चाहेर चोर, डाँका, डन, बेस्या, कुलतमा फस्ने होइन परिस्थितिको पनि ठूलो हात हुन्छ । के त्यो परिस्थिति को कल्पना गर्न सकिन्छ ?

धेरै ढीला भैसक्यो अब धेरै ढीला नगर । ढिला भए नेपाल र नेपाली जनतामाथि आउँन सक्ने परिस्थितिबारे हामीले भनी रहन नपर्ला । नेपाली जनताको माया र विश्वासलाई कमजोर ठान्ने भुल अब कदापि नगर्नु । सरकार ! स्मरण रहोस् कि नेपाल रहे नेपाली रहन्छन्, नेपाल नै नरहे हाम्रो अस्तित्व कहाँ रहन्छ र । हैन कहिले त यो सब नेपालमा नै भइरहेको छ भन्ने पनि लाग्छ । सायद त्यो वीरहरुका गर्भवान इतिहासको छाँप गहिरो छ । ति त्याग र बलिदान तिम्रा लागि पनि थिए सरकार ।

जय नेपाल !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?