Comments Add Comment

सुरुङमार्ग बनाउने कुशकुमार जोशी कहाँ हराए ?

Kulekhani Surung Margaरवीन्द्र घिमिरे

पाँच वर्षअघि मकवानपुरका नवराज पुडासैनीले काठमाडौं-हेटौडाको दुरी छोटिने र सुरुङबाट ओहोर-दोहोर गर्न पाइने खबर सुने । विसं. २०७३ को अन्त्यसम्म काठमाडौं जान सहज भइसक्ने पुडासैनीलाई विश्वास थियो ।

मकवानपुरका उद्योगी, व्यवसायी, राजनीतिक दलका नेतासँगै बसेर नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले जनताकै लगानीमा छोटो दुरीको हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग बनाउने बताउँदा पुडासैनी निकै उत्साहित थिए ।

सरकारले नगरेपछि ‘हामी गछौं’ भन्दै निजी क्षेत्रले स्थापना गरेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) मार्फत सुरुङ मार्ग बन्ने र मकवानपुरसँगै तराईका जिल्लामा ठूलो विकासे लहर आउने पुडासैनीको विश्वास थियो ।

काठमाडौँ-कुलेखानी हेटौँडा सुरुङमार्ग ५८ किलोमिटरको आयोजना हो । चार लेनको बाटोसहितको डिजाइन भएको सुरुङमार्गबाट हेटौँडा पुग्न झण्डै एकघण्टा मात्रै लाग्ने अनुमान गरिएको छ

भीमफेदी घर भएका पुडासैनीले यो विकासे अभियानलाई जति सकिन्छ, त्यति लगानी गरेर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । र, उनले आफ्नी श्रीमतीका नाममा १० हजार रुपैयाँको सेयरसमेत किने ।

तर, सन् २०१६ मा बन्ने भनिएको सुरुङमार्ग अझैसम्म निर्माण प्रारम्भसमेत नहुँदा उनी जति चिन्तित छन्, उति नै आक्रोसित पनि । पुडासैनीजस्तै सुरुङमार्गको सेयर किन्नेहरु यतिबेला निराश एवं चिन्तित छन् ।

‘काम गर्नै नसक्ने भए पहिल्यै किन पैसा उठाउनुपर्थो  ? कुरा १० हजार रुपैयाँ लगानीको होइन, जनतालाई देखाएको झूठो सपनाको हो’ पुडासैनीले अनलाइनखबरसँग भने- ‘गत वर्ष कम्पनीबाट अझै पैसा थप्नुपर्‍यो भनेर फोन आयो, योजति लाजमर्दो के हुन्छ ?’

सुरुङ मार्ग निर्माण गर्ने कम्पनीको कार्यालय थापाथलीमा पुग्दा त्यहाँबाट सरेको थाहा पाएपछि पुडासैनीलाई आफू ठगिएको हो कि भन्ने आशंका लाग्न थालेको छ ।

काठमाडौँ-कुलेखानी हेटौँडा सुरुङमार्ग ५८ किलोमिटरको आयोजना हो । चार लेनको बाटोसहितको डिजाइन भएको सुरुङमार्गबाट हेटौँडा पुग्न झण्डै एकघण्टा मात्रै लाग्ने अनुमान गरिएको छ ।

सुरूङमार्गको परिकल्पना (भिडियो)

सुरुङका नाममा ४० करोड उठाइयो

पुडासैनीजस्तै हजारौं नागरिकसँग नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) ले संस्थापक लगानी भन्दै झण्डै ४० करोड रुपैयाँ उठाएको छ ।

तर, सो रकमबारे कम्पनी पारदर्शी रुपमा प्रस्तुत नभएको गुनासो सेयर लगानीकर्ताहरुबाट सुनिन थालेको छ ।
रकम बेलैमा सदुपयोग नभएको र कम्पनीले आयोजना सुरु हुन नसक्नुबारे कुनै आधिकारिक जानकारी पनि नगराएका कारण धेरै लगानीकर्ताहरु आक्रोशित छन् ।

एनपीबीसीएलले सुरुङ मार्ग निर्माणका लागि क्यानडेली कम्पनी एक्सपी सर्भिससँग गत वर्षको भदौमा २८ अर्ब रुपैयाँको लगानी सम्झौतासमेत गरेको थियो

कम्पनीका अध्यक्ष कुशकुमार जोशीले केही महिनाअघि २०१६ को जनवरीबाट काम थाल्ने बताएपनि अहिलेसम्म सुखद् समचार लिएर हेटौंडा फर्किएका छैनन् ।

यसैकारण सुरुङ मार्ग निर्माण हुने/नहुनेमा आशंका जन्मिएको छ । कतिपय लगानीकर्ताले कम्पनीका सञ्चालकहरुले आफ्ना मान्छेलाई जागिर खुवाउनकै लागि मात्र आफ्नो रकम दुरुपयोग गरिरहेको आरोपसमेत लगाउन थालेका छन् ।

एनपीबीसीएलले काठमाडौंसहित हेटौंडा र सिस्नेरीमा शाखा खोलेका छ । काम नै नभएको कम्पनीमा झण्डै दुई दर्जन कर्मचारी राखिएको भन्दै आलोचना हुने गरेको छ ।

क्यानडेली कम्पनीको २८ अर्ब लगानी अन्याैलमा

सरकारले एनपीबीसीएललाई ०७० जेठमा एक वर्षभित्र आयोजनाको वित्तिय स्रोत जुटाउने समयसीमा दिएको थियो । त्यसपछि पनि एक वर्षको अवधि थप गर्दासमेत कम्पनीले सुरुङ मार्गका लागि भरपर्दो वित्तीय स्रोत जुटाउन सकेको छैन ।

यसबीचमा एनपीबीसीएलले सुरुङ मार्ग निर्माणका लागि क्यानडेली कम्पनी एक्सपी सर्भिससँग गत वर्षको भदौमा २८ अर्ब रुपैयाँको लगानी सम्झौतासमेत गरेको थियो ।

क्यानडेली कम्पनी आफैंले निर्माण गर्ने शर्तमा ऋण लगानी गर्ने सम्झौता गर्दा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) हेरेर मात्रै लगानी ल्याउने बताएको थियो ।

surung

गत वर्षको माघसम्म डीपीआरको पुनरावलोन सकेर सुरुङमार्गको निर्माण सुरु गर्ने योजना थियो । तर, देशको अस्थिरताको कारण देखाउँदै अहिले क्यानडेली कम्पनीले लगानी गर्न हिच्किचाएको कम्पनीका अध्यक्ष कुशकुमार जोशीले अनलाइनखबरसँग बताए ।

‘बन्द, हड्ताल, नाकाबन्दीलगायतका कारण विदेशी कम्पनी लगानी गर्न आश्वस्त हुन सकिरहेको छैन् । यस्तो अवस्थामा यो आयोजनालाई अगाडि बढाउन कम्पनी तयार नभएको सत्य हो’ जोशीले अनलाइनखरबसँग भने- ‘अब सरकारले पनि सुरुङमार्गमा निश्चित रकम लगानी गरेर विदेशी कम्पनीलाई लगानीका लागि वातावरण छ भन्ने सन्देश दिनुपर्ने भएको छ ।’

जोशीले सन् २०१६ भित्रै आयोजना निर्माणको काम सुरु हुन सक्ने बताए । तर, क्यानडेली कम्पनीको लगानी नआएसम्म आयोजना सुरु हुन नसक्ने उनले बताए ।

पुरानै लागतमा निर्माण असम्भव: जोशी

जोशीको कम्पनीले प्रि-आइपीओबाट पाँच अर्ब संकलन गर्ने लक्ष्य लिएको छ । तर, अझै धितोपत्र बोर्डले कम्पनीलाई प्री-आइपीओ जारी गर्ने अनुमति दिएको छैन । कम्पनीले संस्थापक सेयर अन्तरगत २ अर्ब लगानी गर्ने भने पनि अझै सबै संस्थापक लगानी पनि उठाउन सकेको छैन् ।

सुरुङ मार्ग निर्माण गर्न सुरुवातमा ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । सन् २०१६ सम्म निर्माण सक्ने लक्ष्य लिइएकोमा अझै आयोजना सुरु नहुँदा अब लगानी बढ्न सक्ने एनपीबीसीएलको अनुमान छ ।Surung Marga

‘पहिले अनुमान गरिएकै लागतमा अब सुरुङ मार्ग नबन्न सक्छ, यसबारे अब फेरि लागत पुनरावलोकन गर्नुपर्छ’ जोशीले अनलाइनखबरसँग भने ।

मूल्यवृद्धिअनुसार आयोजनामा लागत बढ्ने कम्पनीको प्रक्षेपण छ । यसअघि पनि कम्पनीले आयोजनाको लागत अनुमान बढाएको थियो ।

जोशीले नबनाए अनुमति खारेज हुन्छः मन्त्रालय

सरकारले भने सुरुङ मार्ग निजी क्षेत्रको आयोजना भएकाले सरकारी तवरबाट कुनै प्राथमिकतामा नरहेको प्रष्ट पारेको छ ।

भौतिक योजना तथा यातायात मन्त्रायका सहसचिव रविन्द्रनाथ श्रेष्ठले एनपीबीसीएलले अहिलेसम्म लगानी जुटाउन नसकेको अवस्थामा सरकारले केही गर्न नसक्ने बताए ।

‘हाम्रो प्रथमिकता काठमाडौं-तराई फाष्ट ट्रयाक हो । सुरुङ मार्ग निजी क्षेत्रबाट प्रस्तावित हो,’ सहसचिव श्रेष्ठले भने- ‘सरकारले लगानी गर्ने होइन, लगानी जुटाएर पूर्वाधार विकास कम्पनीले निर्माण थाल्नुपर्छ ।’

वि.सं ०६९ मा शिलान्यास भइसकेको यो आयोजनाबाट असन्तुष्टि जनाउँदै राप्रपाका सांसदसमेत रहेका ठेकेदार व्यवसायी विक्रम पाण्डेले हात झिकिसकेका छन्

लगानी जुटाउने सयमसीमा गुजारे पनि अन्य कम्पनीले सुरुङ मार्गमा चासो नदेखाएसम्म एनपीबीसीएलको अनुमति खारेज नहुने उनले बताए ।

तर, अन्य कम्पनी सुरुङ मार्गमा लगानी गर्न इच्छुक भए उसको अनुमति खारेज गरिने श्रेष्ठले बताए ।

जोशीको कम्पनीले जनताबाट रकम उठाएर दुरुपयोग गरेको गुनासो बढेको भन्दै त्यसबारे कम्पनीसँग छलफल गरिने श्रेष्ठले बताए ।

राप्रपाका ठेकदार पछि हटे, एमालेका यथावत

वि.सं ०६९ मा शिलान्यास भइसकेको यो आयोजनाबाट असन्तुष्टि जनाउँदै राप्रपाका सांसदसमेत रहेका ठेकेदार व्यवसायी विक्रम पाण्डेले हात झिकिसकेका छन् ।

एनपीबीसीएलमा एमालेका सांसद तथा व्यवसायी सुभाषचन्द्र ठकुरी र निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष जयराम लामिछानेलगायत अझै सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment