+
+

प्रचण्डलाई सिध्याउने ‘लिनप्याओवादी’ षड्यन्त्रमा गृहमन्त्री लागेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २६ गते १७:३१

prachanda

२६ मंसिर, काठमाडौं । शनिबार बिहानै आयोजना गरिएको एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेत अनुहार बिगारेर नतमस्तक देखिए । बैठकमा बोल्ने केही स्थायी कमिटी सदस्यहरुले मन्त्री बस्नेतमाथि प्रचण्डलाई सिध्याएर पार्टी कब्जा गर्न खोजेको आरोप लगाए ।

गृहमन्त्री बस्नेतमा लिनप्याओवादी प्रवृत्ति देखिएको स्थायी समिति सदस्य गोपाल किरातीले बैठकमा आरोप लगाए ।

लिनप्याओ चिनियाँ नेता माओत्सेतुङका उत्तराधिकारी थिए, जसले माओलाई मारेर आफू पार्टी अध्यक्ष एवं राष्ट्रपति हुने असफल षड्यन्त्र गरेका थिए । सुरुमा माओको अति गुणगान गरेर विश्वास जित्ने र पार्टी कब्जा गर्ने उनको सोचाइ थियो । पछि उनी विमान दुर्घटनामा परेर मरे । एमाओवादीभित्र बेलाबेला उनै लिनप्याओको नाम लिने गरिन्छ ।

शनिबार बिहान प्रचण्ड निवासमा बोलाइएको स्थायी कमिटी बैठकमा एमाओवादी स्थायी कमिटी सदस्य किरातीले गृहमन्त्री बस्नेतमाथि लक्षित गर्दै भने- ‘बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेलामा प्रचण्डपुत्र प्रकाश दाहाल र विद्यार्थी नेता कृष्ण केसीलाई सगरमाथा चढ्न दुई कुरोड रुपैयाँ निकासा गरेर प्रचण्डको टाउकोमा दुई करोडको घन हान्ने काम गरियो । अहिले फेरि भूकम्प पीडितको कोटामा प्रचण्डकी नातिनीलाई चीन पठाएर नेतृत्वलाई बदनाम गराउने काम भएको छ ।’

मन्त्री बस्नेतको यो कदमलाई किरातीले षड्यन्त्रको संज्ञा दिएका छन् । खरोरुपमा प्रस्तुत हुँदै किरातीले बैठकमा भने ‘बाबुरामका पालामा भएको सगरमाथाकाण्डमा जस्तै प्रचण्डलाई बदनाम गरेर पार्टी आफ्नो कब्जामा लिने लिनप्याओवादी षड्यन्त्र अन्तरगत यो काम भइरहेको छ ।’

प्रचण्डलाई किन थाहा थिएन ?

Gopal-Kiratiबैठकमा बोल्दै किरातीले आफ्नी नातिनीको चीन भ्रमणबारे प्रचण्डले थाहा छैन भनेकोप्रति अविश्वास प्रकट गरे । बैठकमा किरातीले भने- ‘बाटामा आउँदा आउँदै एकजना पत्रकारले मलाई फोनमा भने, आफ्नी नातिनीलाई सामान्य ज्वरो आएको त थाहा हुने प्रचण्डलाई नातिनी चीन जानेकुरो कसरी थाहा हुँदैन ?’

किरातीले यस्तो प्रश्न गरेपछि प्रचण्डले आफूलाई शुक्रबार बिहानमात्रै नातिनीको चीन भ्रमणबारे थाहा भएको तर आफूले रोक्ने नसकेको बताएका थिए ।

भूकम्प पीडितको कोटामा यसरी आफन्तलाई पठाउनु गम्भीर कमजोरी भएको प्रचण्डले बैठकमा बताएका थिए ।

गृहमन्त्री बस्नेतले पनि आफूबाट कमजोरी भएको स्वीकार गरेका थिए ।

तर, यसलाई कमजोरी भयो मात्रै भनेर नपुग्ने भन्दै नेता किरातीले गृहमन्त्री बस्नेतलाई पार्टीले फिर्ता बोलाउनुपर्ने माग गरेका छन् ।
यसबारे पछि फेरि छलफल गरौंला भन्दै स्थायी कमिटी बैठक सकिएको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

जनार्दनले भने- गृहमन्त्रीले के गर्न खोजेको ?

स्थायी कमिटी बैठकमा अर्का नेता जनार्दन शर्माले पनि मन्त्री बस्नेतको कडा आलोचना गरे । मन्त्री बस्नेतले आफूसँग सरसल्लाह नै लिने नगरेको र सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा आउन नचाहेको भन्दै बैठकमा प्रश्न गरे- उहाँले के गर्न खोजेको ? यस्तो पाराले कसरी काम हुन्छ ?’

नारायणकाजीले भने- म छाड्छु

Narayan-Kaji-Shresthaस्रोतका अनुसार बैठकमा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार सञ्चालन गर्ने समितिको संयोजकबाट आफूलाई मुक्ति दिलाउन प्रचण्डसँग माग गरे ।

एमाओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आचार संहिताको पालना नगरेको, आफूखुशी काम गरेको र पार्टीलाई नै बदनाम गराइरहेको भन्दै यस्तो अवस्थामा आफूले यस्तो जिम्मेवारी सम्हालेर नबस्ने बताए ।

तर, प्रचण्डले अहिले नै जिम्मेवारीबाट नहट्न उपाध्यक्ष श्रेष्ठलाई आग्रह गरेका छन् ।

स्थायी कमिटी बैठकमा कृषि मन्त्री हरिबोल गजुरेल उपस्थित थिएनन् । त्यसैगरी महासचिव कृष्णबहादुर महरा पनि काठमाडौं बाहिर भएकाले अनुपस्थित थिए । प्रवक्तसमेत रहेका दीनानाथ शर्माले घाँटी दुखेका कारण आफू बैठकमा नगएको अनलाइनखबरलाई बताए ।

बैठकमा सहभागी स्थायी कमिटी सदस्य प्रायःले गृहमन्त्रीले चीन प्रकरणमा गरेको गल्तीबारे प्रश्न उठाएका थिए ।

केही नेताले हालै गृहमन्त्रालयले गरेको सिडियोहरुको सरुवा समेत विवादास्पद भएको भन्दै गृहमन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाएका थिए ।

यो पनि पढ्नुहोस्

एमाओवादी बैठकमा गृहमन्त्री शक्ति बस्नेतलाई फिर्ता बोलाउन माग

भूकम्पपीडितको कोटामा भ्रष्टाचारः गृहमन्त्रीबारे छलफल गर्न एमाओवादीले बैठक बोलायो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?