१ कात्तिक, खोटाङ । दशैं-तिहारको संघारमा जीप दुर्घटना हुँदा खोटाङका तीन किशोरीले ज्यान गुमाएका छन् ।
दशैं तिहार मनाउनका लागि कात्तिक १ गते काठमाडौंबाट घर फर्कनेक्रममा सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानमा को१ज २९७६ नम्बरको जि दुर्घटना हुँदा तीन किशोरीको मृत्यु भएको हो ।
मध्यपहाडी लोकमार्गमा गुडिरहेको जीप सडकबाट करिब दुई सय मिटर तल सुनकोसीमा खस्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षीय युपना राई, १८ वर्षीय काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १६ वर्षीय स्वस्तिका बिश्वकर्माको घट्नास्थलमै ज्यान गएको हो ।
घाइते बनेका चालकले बताए अनुसार तीन जना यात्रु सुनकोसीमा बेपत्ता भएका छन् । बेपत्ताको अझै पहिचान गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा जीपका चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीय सम्झना राई, छोरी १२ वर्षीय सिवानी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १३ वर्षीय अंकित बिश्वकर्मा घाइते भएका छन् ।
घाइतेमध्ये सम्झनाको अवस्था गम्भीर छ । कात्तिक १ गते बिहान करिब साँढे २ बजे काठमाडौँबाट हिँडेको जीप सिन्धुलीमा पुगेपछि दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न बाँकी छ । चाडवाडको समयमा चालक अनिदो बसेर गाडी कुदाउनु, ओभर स्पीड लगायतका कारण दुर्घटना हुने गरेको छ ।
जीपमा सवार यात्रुको नाम, ठेगाना र सम्पर्क विवरणको अभिलेख नहुँदा मृतकको पहिचान गर्न कठिन भएको थियो । आफन्त घटनास्थलमा पुगेपछि मात्रै मृतकको पहिचान खुलेको हो ।
अभिलेखकै अभावमा बेपत्ताको पहिचान गर्न पनि कठिन भइरहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको गोताखोरसहितको संयुक्त टोली खटिएका छन् ।
प्रतिक्रिया 4