Comments Add Comment

राष्ट्रपति सहभागी हुने कार्यक्रममा अश्रुग्यास प्रहार, जनकपुर तनावग्रस्त

१ पुस, जनकपुर । राष्ट्रपति विद्यादेवी भण्डारीेको जनकपुर आगमनको विरोधमा प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । अहिले जनकपुर तनावग्रस्त छ ।

फाइल तस्वीर
फाइल तस्वीर

मोर्चाका कार्यकर्ताहरुले बिभिन्न स्थानमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले भानुचोक, जनकचोक र शिवचोकमा अश्रुग्यास प्रहार गरेको हो । प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप भैरहेको छ ।

राष्ट्रपति भण्डारी राष्ट्रप्रमुखको हैसियतमा रामजानकी मन्दिरको दर्शन गर्न आउने जानकारी पाएलगत्तै मोर्चाका कार्यकर्ताहरुले बहिस्कार गर्ने निर्णय गरेका थिए । उनीहरुले मंगलबार नै राष्ट्रपति भण्डारीको पुत्ला जलाएका थिए ।

राष्ट्रपति भण्डारी बुधबार जनकपुर पुगेर मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ । उनको आगमनलाई मध्यनजर गर्दै मन्दिर परिसर खाली गराइएको छ । सुरक्षाको नाममा नेपाल र भारतका दर्शनार्थीहरुलाई मन्दिर परिसरबाट हटाइएको छ ।

मधेसी मोर्चा तथा मधेसी गठबन्धनका कार्यकर्ताहरु संयुक्तरुपमा विरोध प्रदर्शनमा उत्रिएका छन् । अप्रिय घटना हुन नदिन उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाको बख्तरबन्द गाडीसमेत तैनाथ गरिएको छ ।

राम र सीताको परम्परागत विवाह पञ्चमी उत्सवमा सहभागी हुन भारतबाट समेत उल्लेख्य संख्यामा भक्तजनहरु जनकपुर आएका छन् । रामको जन्तीको रुपमा भारतीयहरु बाजागाजासहित जनकपुर आउने परम्परा रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment