+
+

उदितको उक्साहटमा सुरु भएको थियो नायिका उषा पौडेलको मुम्बई सपना

उषा पौडेल यतिबेला काठमाडौंमा छिन् । गुपचुप । अस्ति भर्खर एउटा अवार्ड कार्यक्रममा झुलुक्क झुल्किइन् । उनलाई देख्नेहरुले आँखा तन्काउँदै सोधे, ‘आम्मोई, तिमी यतै छौ ?’

दशैं अगाडी नै हो उषा नेपाल आएको । अमेरिकाबाट फर्किएका कलाकारहरुलाई एयरपोर्टमै झ्याप्पै छोप्ने पत्रकारहरुबाट उनी तीन महिनासम्म कसरी र किन छलिइन् त ?

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १० गते १७:५८

Usha poudel (4)

चिरञ्जीवी पौडेल

उषा पौडेल यतिबेला काठमाडौंमा छिन् । गुपचुप । अस्ति भर्खर एउटा अवार्ड कार्यक्रममा झुलुक्क झुल्किइन् । उनलाई देख्नेहरुले आँखा तन्काउँदै सोधे, ‘आम्मोई, तिमी यतै छौ ?’

दशैं अगाडी नै हो उषा नेपाल आएको । अमेरिकाबाट फर्किएका कलाकारहरुलाई एयरपोर्टमै झ्याप्पै छोप्ने पत्रकारहरुबाट उनी तीन महिनासम्म कसरी र किन छलिइन् त ?

‘म लुकेर बसेकी छैन, पत्रकारसँग भाग्दै हिँडेकी पनि होइन,’ उषा भन्छिन्, ‘म आएँ है भनेर ढोल पिट्दै हिँड्ने कुरा पनि आएन । आफ्नै घरमा बसेकी छु, खाएकी छु, डुलेकी छु ।’

०००

‘फोटो खिच्ने र ?’ उषा अन्कनाइन् । तर, क्यामरा सोझिइसकेको थियो ।

एक छिन रेडी हुन्छु नी त भन्दै उनी १० मिनेट जति अलप भइन् । त्यतिञ्जेलमा कपाल स्याहारिछन् । पावरदार चश्मा फुकालेर आँखामा गाजल लगाइछन् । ओठमा लाली दलिछन् । बल्ल पो हिरोइन जस्तै देखिइन् ।

उषा अहिले मोटाएकी छिन् । अमेरिकाबाट फर्केपछि ४ किलो तौल बढेको रहेछ उनको । हुन त, एउटा हिरोइनकी लागि ४ ग्राम तौल बढ्नु पनि चिन्ताको विषय हुनसक्छ । तर, उषा चिन्तामा छैनन् । किनकी मोटाएर उनी झन् राम्री देखिएकी छिन् ।

०००
सरोज खनाल वा कर्णदास जसरी अमेरिकाबाट सदाका लागि स्वदेश फर्केकी होइनन् उषा । गएको नै कति भयो र । जम्मा एक वर्ष ।

एक वर्षसम्म अमेरिकामा डुलेरै बिताएको उषा बताउछिन् । ‘अहँ, मैले अमेरिकामा कुनै काम गरेकी छैन,’ उनले भनिन्, ‘कैले यसकहाँ गयो, कैले त्यसकहाँ गयो । एक वर्ष फुत्तै बित्यो ।’

अमेरिकामा उनी अर्की पूर्व नायिका अरुणीमा लम्सालसँगै बस्छिन् । अरुणिमाका बुढाबुढी नै त्यतै छन् । उनकी पुरानी सहकर्मी, ऋचा घिमिरे पनि परिवारसहित उतै छन् । दिलिप रायमाझी पनि पुगिसके ।


_MG_0024

०००

तोतेबोली बोल्दादेखि नै छमछमी नाच्न थालेकी रुक्मिणीलाई ठुली भएर नायिका होइन, प्रख्यात डान्सर बन्नु थियो । उनले स्टेज शोहरु हुँदै रेस्टुरेन्ट डबलीसम्म कम्मर मर्काइन् ।

कम्मर मर्काउने क्रममै, १७ वर्षको कलिलो उमेरमा उनलाई हिरोइन बन्ने प्रस्ताव आयो । प्रस्ताव अस्वीकार गर्नुपर्ने कुनै कारण देखिनन् । उनले ब्रेक पाएको फिल्म थियो, कर्म । यद्यपि, त्यो दोस्रो फिल्म थियो, जसले उनलाई चिनायो ।

मुनामदन । नेपालीहरुमाझ अत्यधिक लोकप्रिय लक्ष्मीप्रसाद देवकोटाको पुस्तकमा आधारित फिल्ममा मुनाको भूमिका एउटी कल्कलाउदी केटीका निम्ति ठूलै ब्रेक थु्र थियो । उनले पहिल्यै पढेको मुनामदन, फिल्म खेल्ने भनेपछि दोहोर्‍याएर, तेर्‍याएर, चौर्‍याएर पढिन् ।

मुनामदनपछि उषाले करिब ४० वटा फिल्ममा अभिनय गरिन् । १० वर्षसम्म नेपाली चलचित्रमा व्यस्त रहिन् । यति गर्दा पनि उनी स्थापित नायिकाका रुपमा दरिन सकिनन् । उनले खेलेका चलचित्रको नाम सम्झिनुपर्दा धेरैलाई मुनामदनभन्दा दोस्रो नाम सम्झिन कठिन पर्छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको मुनामदनको प्रदर्शनमा ढिलाई भएको भनेर उषा अहिलेसम्म थकथकी मान्छिन् । ‘मुनामदन खेल्न पाएकोमा जति गौरव छ, यसलाई समयमा दर्शकसम्म नपुर्‍याइएकोमा त्यत्ति नै दुख छ,’ उनले भनिन्, ‘मुनामदन ठीक टाइममा रिलिज भइदिएको भए मेरो करिअरले अर्कै मोड लिन सक्थ्यो ।’

उषाको करिअरले अर्कै मोड त लियो, तर अलि पछि । सन् २००३ मा उनी कतारमा एउटा सांस्कृतिक कार्यक्रमका लागि जाँदा त्यहाँ आएका थिए मुम्बईबाट उदित नारायण । उनले उषालाई मनिषा कोइरालासित तुलना गरेर स्टेजमै भने, ‘उहाँको फेस मनिषासित मिल्छ । यदि मुम्बईमा आएर हिन्दी सिक्नुभयो भने बलिउडमा मनिषाभन्दा माथि पुग्न सक्नुहुन्छ ।’ उदीतको उक्त भनाइले उषामा नयाँ महत्वाकांक्षा जगाइदियो । मुम्बईमा गएर स्थापित हुने सपना मनमा पाल्न थालिन् ।

यसैबीच उनको जीवनमा आए पुराना भारतीय अभिनेता राहुल राय । उनी एउटा अनलाइन टिकेटिङ विजनेसका सिलसिलामा नेपाल आएका थिए । त्यसको वान स्टप सप नामक अभियानका लागि नेपालमा ब्राण्ड एम्बेसडर खोज्दै थिए । केहि हिरोइनहरुसित कुरा गरेपछि उनले उषालाई रोजे । उषा खुशीसाथ अनुवन्धित भइन् ।

उषालाई ब्राण्ड एम्बेसडर बनाएको घोषणा गर्न राहुलले तामझामसहित पत्रकार सम्मेलन गरे । चाँडै नै नेपालमा एउटा फिल्म बनाउने, त्यसमा आफू हिरो र उषालाई हिरोइन बनाउनेसम्मको गफ चुटे । धेरैले उषालाई भाग्यमानी सम्झिए ।

Usha poudel (4)

यद्यपि, फिल्म बनाउने राहुलको घोषणा हावा सावित भयो । उषालाई पनि झ्याउ लाग्न थाल्यो र उनले राहुलको कम्पनीसित अनुवन्ध तोडेर आफ्नो पुरानो मुम्बई सपनालाई ब्यूताइन् । राहुल रायलाई फोन गरेर भनिन्, ‘म आजदेखि तपाईंको कम्पनीमा छैन । गुड बाई ।’

त्यसपछि झोला भिरेर लागिन् मुम्बईतिर । ‘धेरैले सोचे कि मलाई राहुलले नै मुम्बई बोलाएका हुन्,’ उषा भन्छिन्, ‘त्यो सर्वथा गलत थियो । स्याल कराउनु र बाख्रो हराउनु एकैसाथ भएको मात्रै हो । खासमा म एक्लै मुम्बई गएँ र एक्लै संघर्ष गरेँ ।’ उनले भारतमा एकचोटी पनि राहुलसित भेट र सम्पर्क नभएको बताइन् ।

नेपालमा कसम फिल्मको काम सकाएर मुम्बई हान्निएकी उषा फेरि कलिउडमा फर्केकी छैनन् । मुम्बईमा एउटा होस्टलमा पेइङ गेस्टको रुपमा बसेर अनुपम खेरको स्टुडियोमा अभिनय सिक्न थालिन् । नेपालमा ४० वटा फिल्म खेलेर १० वर्ष लामो अनुभव हासिल गरेकी अभिनेत्रीलाई अनुपम खेरले अभिनय सिकाएर २० हजार आइसी लिए । अभिनयपछि उनले फेरि तीन महिना हिन्दी भाषा सिकिन् । हिन्दी र अभिनय दुवैमा पारंगत बनेपछि अडिसन दिन थालिन् ।

‘सुरुमा मुम्बई जाँदा त्यहीँ स्थापित हुन्छु भन्ने थिएन । ट्रेनिङ लिएर फर्किन्छु भन्ने योजना बनाएकी थिएँ, तर साथीभाईले एकचोटी सिरियलमा ट्राइ गर्न सल्लाह दिएपछि रोकिएँ,’ उषा भन्छिन् ।

उनी भटाभट अडिसन दिन थालिन् । मेकअप गरेर घरबाट निस्किनु, अडिसनमा सोधिएका प्रश्नको कन्दै हिन्दीमा जवाफ दिनु, थकित बन्दै कोठामा आएर ओछ्यानमा पसारिनु, उनको दिनचर्या बन्यो । अडिसन दिएर आएपछि फोनको प्रतिक्षा गर्नुपथ्र्यो । सुरुमा धेरै ठाउँबाट उनी रिजेक्ट भइन् । धेरैले उनको हिन्दी पर्फक्ट नभएको कमेन्ट गर्थे ।

सबैभन्दा पहिले उनले बलिउड नायक अक्षय कुमारसित मास्टर सेफको प्रोमोमा देखिने मौका पाइन् । त्यसपछि अदालत भन्ने सिरियलको एउटा एपिसोडका लागि छानिइन् । उक्त सिरियल सोनीबाट प्रशारण हुन्थ्यो । अदालतमा देखिएपछि उषामा धेरैको नजर पर्‍यो र बिस्तारै काम पाउन थालिन् । जय जय बजरंगबली, तुझसँग प्रित लगाइ सजना, लगायत ८-१० वटा सिरियलहरुमा आफूले लिड रोल गरेको उनी बताउछिन् । करिब चार वर्ष मुम्बईमा काम गरिसकेपछि उनी लागिन् अमेरिका ।

०००

‘हिन्दी सिरियलमा काम गर्दा ख्याति थियो, पैसा पनि राम्रै हुन्थ्यो होला । किन एकाएक अमेरिका होमिनुभयो ?’ उषालाई सोधियो ।

उनले जवाफ दिइन्, ‘चार-पाँच वर्ष काम मात्रै गरेँ । यसो अमेरिकातिर गएर साथीभाई भेटौं, रमाइलो गरौं भनेर गएकी, उतै बरालिएँ ।’

अमेरिकामा उनका पुराना साथीहरु धेरै थिए । ऋचा घिमिरेदेखि पुजा चन्दसम्मका घुमि-घुमि डेरा जमाइन उनले । पछि अरुणिमासित बस्न थालिन् । उषाका अनुसार अमेरिकामा उनको एउटै मात्रै काम थियो, डुल्ने ।

‘मैले अमेरिकामा डुल्ने र साथीभाई भेट्ने भन्दा केहि गरेकी छैन,’ उनले भनिन्, ‘अब चाहिँ केहि गर्नुपर्ला ।’ एक वर्षमा उनले अमेरिकाको ग्रीन कार्ड हात पारिसकेकी छिन् । ग्रीन कार्ड लिएपछि परिवारलाई भेट्न दशैंअघि नेपालमा आएकी उनी अहिलेसम्म यतै छिन् । केहि दिनमै अमेरिका जाने तयारीमा रहेकी उषाले त्यहाँ एउटा डान्स स्कुल खोल्ने योजना सुनाइन् । दिलिप रायमाझीसित यसमा पार्टनरसीप गर्ने विषयमा उनको सल्लाह भइरहेको छ ।

०००

Usha poudel (2)

विहेको प्रश्न नगरीकन अन्तरवार्ता सकिने कुरा भएन ।

कहिले गर्ने त विहे ?

उनले तत्काल कुनै योजना नभएको सुनाइन् । ‘खोई अहिले कसैसित लभ पनि परेको छैन, कोही मन मिल्ने केटो भेटेको पनि छैन,’ उषाले भनिन् । विगतमा उनको लभै नपरेको भने होइन । ‘एउटा व्वाई फ्रेन्ड थियो पहिला, तर टुट्यो, अहिले एक्लै छु,’ उनले दावी गरेपछि नपत्याउने कुरा आएन ।

०००

उषालाई नेपाली फिल्ममा फर्किने रहर बाँकी नै छ । तर, यतिबेला यो अनिश्चित बनिदिएको छ ।

उनी नेपाल आएपछि फिल्मसम्वन्धी जम्मा दुई वटा कार्यक्रम एटेन्ड गरिन् । त्यहाँ आफूलाई धेरै नौला अनुहारहरुको बीचमा पाइन् ।

‘फिल्म इन्डष्ट्रीमा धेरै नयाँ मान्छेहरु आउनुभएछ,’ उषा भन्छिन्, ‘म पुरानी अभिनेत्री भएर पनि आफूलाई नयाँ जस्तो महसुस गर्न पुगेँ ।’

०००

उषा नेपाल आउनुअघि नै नेपालमा नाकाबन्दी लागेको थियो । नेपाल बसाईमा नाकाबन्दीभन्दा लोडसेडिङले धेरै अत्याइरहेको छ ।

उनले चिन्ता व्यक्त गरिन्, ‘हेर्नु न यहाँ त एक हप्तादेखि बत्ति आएको छैन । कति-कतिखेर पिलक्क आउँछ र जान्छ । यस्तो पाराले कसरी देश बन्छ ?’

त्यै त ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?