Comments Add Comment

प्रधानमन्त्री ओलीको चीन भ्रमण चैतमा !

Kp Oli_1 (1)१५ पुस, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणमा इन्धन आपूर्तिबारे कुनै सम्झौता नभएपछि धेरैले भ्रमण सफल नभएको दाबी गरे । तर, थापाको भ्रमण असफल भयो भन्ने दाबी परराष्ट्र मन्त्रालयका अधिकारीहरु मान्न तयार छैनन् ।

तर, उच्चस्तरीय भ्रमणमा महत्वपूर्ण सम्झौता गर्ने तयारी भइरहेको स्रोतहरुले बताएको छ । र, चीनले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओली चीनको भ्रमणले गरुन् भन्ने चाहेको छ ।

चीनको हाइनान प्रान्तमा आगामी मार्च २२ देखि २५ (चैत ९ देेखि १२) सम्म बोआओ सम्मेलन हुुँदैछ । वर्ल्ड इकोनोमिक फोरमको विकल्पका रुपमा चीनले अघि सारेको यो फोरममा गत वर्ष नेपालका तर्फबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादव आफैं गएका थिए ।

स्रोतका अनुसार चीनले योपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउन चाहेको छ ।

र, ओलीको यो भ्रमणका क्रममा इन्धनका साथै व्यापार तथा पारवहनलगायतको सम्झौता गर्ने चयारी छ । स्रोतले भन्यो, चीनले उच्चस्तरमा नै सम्झौता गर्न चाहेको छ र त्यसअनुसार गृहकार्य पनि गरेको छ । अब हामीले त्यस अनुसार तयारी गर्न सक्नुपर्छ ।’

चीनको पाँच दिने भ्रमण गरेर फर्किएका उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले पनि ‘दीर्घकालीन सहकार्यको फ्रेमवर्क’बनेको र त्यो प्रधानमन्त्रीको भ्रमणमा कार्यान्वयन हुने बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले अनलाइनखबरलाई दिएको अन्तरवार्तामा पनि चीनमा उच्चस्तरीय टोली पठाउन ढीला भएको र अहिले उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको भ्रमणपछि सकारात्मक वातावरण बनेको बताएका छन् ।

श्रेष्ठ भन्छन् – केहीसमयभित्र नेपाल र चीनबीच केही ऐतिहासिक सम्झौताहरु हुने र इन्धन आपूर्तिको विषयमा पनि सहजीकरणसहित एउटा निष्कर्षमा पुग्न सकिने आशा गर्न सकिन्छ ।’

पहिला भारत, त्यसपछि चीन भ्रमण

पछिल्लो समय भारतले नाकाबन्दी गरेपछि इन्धनलगायतका अत्यावश्यक वस्तुहरुको आपूर्तिमा विकल्प खोजी सुरु गरेको नेपाल अहिले चीनतिर ढल्किएको छ ।

यसलाई लिएर प्रधानमन्त्रीका रुपमा केपी ओलीको पहिलो विदेश भ्रमण पनि चीनबाटै हुने दाबीहरु पनि आएका छन् ।

तर, उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले भने प्रधानमन्त्री केपी शर्मा ओली पहिला भारत जाने सम्भावना रहेको बताएका छन् । बीबीसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा थापाले भने, भारतको तर्फबाट निम्तो आएको छ । र, गृहकार्य पनि भइरहेको छ । अब पहिलो भारतको भ्रमण हुन्छ र त्यसपछि चीन जाने सम्भावना देख्छु ।’

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाइ दिनुका साथै भ्रमणको निम्तो दिए । त्यसको भोलिपल्ट नै ओलीले प्रधानमन्त्रीको सपथ लिनुअघि नै भारतीय राजदूत रणजीत राय बालकोट पुगे ।

भारतीय राजदूतसँगको भेटमा ओलीले छिट्टै भारत भ्रमण गर्ने इच्छा समेत देखााएका थिए । तर, भारतले नाकाबन्दी गरिरहेका बेला प्रधानमन्त्री ओलीले भारत जान उपयुक्त नठानेको बुझिएको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेइजिङ ओलम्पिकको अवसर पारेर पहिलो विदेश भ्रमण चीन गए । नेपालमा प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण दक्षिणी छिमेकी देश भारतबाटै हुने गरेकोमा उनले तोडेका थिए ।

तर, चीनबाट फर्किएलगत्तै विमानस्थलमा नै उनले औपचारिक भ्रमण भारत हुने बताएका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला पहिलो विदेश भ्रमणका रुपमा इण्डोनेसिया गए र पछि भारत भ्रमण गरे । तर, पछिल्लोपटक प्रधानमन्त्री भएका मध्ये झलनाथ खनाललाई भने भारत भ्रमणको निम्तो नै आएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment