Comments Add Comment

कतै विवाह, कतै पूजाको नाममा जमघट : गाउँ-गाउँमा फैलियो कोरोना

१ जेठ, पोखरा । कोरोना महामारीको दोस्रो लहर फैलँदै गर्दा सरकारले अस्पतालको व्यवस्थापन, स्वास्थ्यकर्मी थप, आइसोलेसन, अक्सिजन र खोपको व्यवस्थापन नगरे पनि विभिन्न जिल्लामा निषेधाज्ञा गरेर कोरोना नियन्त्रणको प्रयास भने गरेको छ ।

निषेधाज्ञामा अत्यावश्यक बाहेक सामान्य जीवनशैलीमा रोक लगाइएको छ । विवाह, पूजा, चौरासी पूजा, रुद्री, ब्रतवन्ध जस्ता सामाजिक संस्कार नगर्न र गर्नै परे १० जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको छ । तर जनस्तरबाट यस्ता कार्यहरूमा सावधानी नअपनाउँदा गण्डकी प्रदेशका थुप्रै गाउँ अहिले आइसोलेसनमा छन् ।

सिंगो गाउँका गाउँ संक्रमित छन् । सामाजिक संस्कारबाट फैलिएको कोरोनाले थुप्रै परिवारका सदस्यको ज्यान गएपछि कतिपय गाउँ शोकमा छन् ।

विवाह भोजमा रमाएका बागलुङ बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजला अहिले गाउँ नै कोरोना संक्रमित (कोभिडमय) छ । बेहुलाको परिवारका सदस्यको कोभिडले ज्यान लिएपछि उत्सव शोकमा परिणत भएको छ ।

वडाध्यक्ष प्रेम गलामी भन्छन्– वैशाख ११ गते जलजला धुरिडाँडामा विवाह भोजमा बेहुला–बेहुलीका आफन्तसहित करीब १०० जना सहभागी भए । १७ गते बेहुलाको परिवारकै एक जनामा समस्या देखियो । त्यसपछि  थप ३० जनाको स्वाब परीक्षण गर्दा २५ जनाको पोजेटिभ देखियो । अहिले गाउँ नै बिरामी छ । पूरै गाउँ त्रसित छ ।

वैशाख ११ गते जलजला धुरिडाँडामा विवाह भोजमा बेहुला–बेहुलीका आफन्तसहित करीब १०० जना सहभागी थिए । विवाहबाट फर्केको केही दिनमा गाउँका मानिसहरूमा रुघा, खोकी र ज्वरो देखिन थाल्यो ।

‘१७ गते बेहुलाको परिवारकै एक जनामा समस्या देखिएर धौलागिरि अस्पताल बागलुङ पु¥याएपछि स्वाब परीक्षण गरियो । उनलाई कोरोना देखिएपछि अरूहरूको पनि परीक्षण गरिएको हो’ वडाध्यक्ष प्रेम गलामीले भने, ‘पछि ३० जनाको स्वाब परीक्षण गर्दा २५ जनाको पोजेटिभ देखियो । अहिले गाउँ नै बिरामी छ । पूरै गाउँ त्रसित छ ।’

त्यही विवाह भोजमा सहभागी भएका एकै परिवारका तीन जनाको ज्यान गइसकेको छ । अन्य एक जना गम्भीर बिरामी भएर फेरि धौलागिरि अस्पतालमा भर्ना गरिएको छ । मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय छोरा छन् । ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र हेलिकप्टरमार्फत पोखरा ल्याइएका ५१ वर्षीय छोराको उपचारको क्रममा मृत्यु भएको वडाध्यक्ष गलामीले जानकारी दिए ।

गाउँकै अर्का ७० वर्षीय पुरुषको बागलुङमा उपचार भइरहेको छ । वडाध्यक्षका अनुसार मृत्यु हुने बेहुलाका हजुरबा, जेठो बुवा र काइँला बुवा छन् । ‘गाउँका सबै मानिस त्रसित छन् । हामीले मनोबल बढाइरहेका छौं । एकघरबाट अर्को घर नजान भनिरहेका छौं’ अध्यक्ष गलामीले भने, ‘बागलुङमा निषेधाज्ञा त जारी नै छ ।’

बडिगाडको जलजला जस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ झोबाङमा पनि सामाजिक रीतिरिवाजमा भेला भएका गाउँलेमा कोरोना संक्रमण देखिएपछि सन्त्रास बढेको छ ।

वैशाख १७ र २४ गते गाउँमा चार वटा विवाह भएको थियो । २२ गते रुद्री र पूजा पनि भएको छ । त्यसमा सहभागीलाई कोरोना संक्रमण देखिएको हो । झोबाङमा २१ जनालाई संक्रमण देखिएको छ । थप ६० जनाको स्वाब परीक्षणका लागि पठाइएको छ ।

‘गाउँमा अहिले दुई कारणले कोरोना संक्रमण फैलिइरहेको छ । एउटा विवाह, ब्रतवन्ध, पूजा लगायतका संस्कार र अर्को नेताको अकर्मन्यताका कारण’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले भने, ‘गाउँमा त्रास र थप संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मीको टोली खटाएका छौं, एम्बुलेन्स तयारी अवस्थामा छ ।’

पोखरामै हप्ता दिनअघि जन्मोत्सव मनाएका १७ जनामा कोरोना संक्रमण देखिएको थियो । प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार संक्रमितमध्ये एक जनामा गम्भीर समस्या देखियो र उपचारको क्रममा मृत्यु भयो ।

स्याङ्जा पुतलीबजार गाउँपालिका वडा नम्बर ६ को टक्सार गाउँको व्यथा पनि उस्तै छ । गाउँमा चौरासी पूजामा भेला भएकाहरूलाई धमाधम कोरोना संक्रमण देखिएपछि गाउँ नै आइसोलेसनमा रहेको पुतलीबजार नगरपालिका प्रमुख सीमा क्षेत्रीले जानकारी दिइन् ।

टक्सारमा सामाजिक तथा धार्मिक संस्कारमा सहभागी भएका ३१ जनाको स्वाब परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँमा भएको चौरासी पूजामा कास्की र स्याङ्जाका आफन्त भेला भएका थिए ।

‘भेला भएकामध्ये केहीलाई रुघाखोकी र ज्वरो देखियो । परीक्षण गर्दा २७ जनालाई कोरोना देखियो । अहिले सिंगो गाउँ नै त्रसित भएपछि स्वास्थ्यकर्मीको टोली नै गाउँमा खटाइएको छ, एम्बुलेन्स पनि गाउँमै राखेका छौं’ मेयर क्षेत्रीले भनिन्, ‘अहिले धेरै गाउँमा कोरोना संक्रमण फैलिने मुख्य कारण विवाह, पूजा, ब्रतवन्ध जस्ता सामाजिक रीतिरिवाज बनेका छन् ।’

भारतको कुम्भ मेलामा सहभागी भएर फर्किएपछि स्याङ्जा वालिङमा एक संक्रमित हिंड्दाहिंड्दै ढले । उनमा कोरोना परीक्षण पोजेटिभ देखिएपछि गाउँका धेरैमा संक्रमण फैलिइसकेको थियो । भारतमा भएको कुम्भ मेलामा जस्तै शिवरात्रिमा वालिङमा संक्रमण फैलियो ।

फेदीखोलामा एक जना महिलाको हालै कोरोना संक्रमणबाट ज्यान गयो । उनी विवाहमा सहभागी भएर तराईबाट फर्किएकी महिला भएको जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जा प्रमुख विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।

‘स्याङ्जाका थुप्रै गाउँमा कोरोना फैलिनुको मुख्य कारण सामाजिक संस्कार भएको छ । पहिले गाउँमा कोरोना थिएन । शहर, बजारहुँदै संक्रमणको हटस्पटबाट आउजाउ भएपछि गाउँ गाउँमा संक्रमण फैलियो’ जनस्वास्थ्य प्रमुख सुवेदीले भने, ‘गाउँमा एक जनालाई मात्र कोरोना छ भने पनि भेटघाट जारी राख्यो भने सिंगो गाउँमै कोरोना देखिन सक्छ ।’

कोरोनाले आफन्त, समाज र साथीभाइ नभन्ने भएकाले स्वयं अनुशासनमा बस्नुको विकल्प नभएको उनको भनाइ छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मा सचेत पार्छन्– कोरोना के हो भनेर अस्पताल पुगेर फर्किएका आफन्त वा साथीभाइलाई सोध्नुस् । उसले दायाँ फर्किंदा पनि मृत्यु र बायाँ फर्किंदा पनि मृत्युलाई देखेर फर्किएको पाउनुहुनेछ

अस्पतालबाट फर्किनेलाई सोध्नुस् कोरोना र मृत्युको डर के हो : डा. शर्मा

अहिले गण्डकी प्रदेशका सबैजसो जिल्लामा निषेधाज्ञा छ । स्वास्थ्य मापदण्ड कायम गरेर १० जनाभन्दा बढी जम्मा नहुने गरी आफ्नै घरमा सामाजिक तथा धार्मिक संस्कार गर्न प्रशासनले निर्देशन गरेको छ ।

तर, प्रशासनको निषेधाज्ञालाई बेवास्ता गर्दै जमघट हुँदा संक्रमणको दर बढिरहेको र मृत्युलाई निमन्त्रणा दिने काम भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्मा बताउँछन् ।

‘कोरोना केही होइन, १६ महीनासम्म खै मलाई केही पनि भएन । शहरमा पो डर गाउँमा केको डर जस्ता कुरा गरेर हेलचेक्र्याइँ नगरौं’ डा. शर्माले भने, ‘हामी निकै डरलाग्दो र खतरनाक विन्दुमा आइपुगेका छौं । यो बेला घरमै बसिदिनुस्, अवश्य बाँचिनेछ र फेरि रमाउँला, फेरि मनाउँला उत्सव ।’

कोरोना केही होइन भनेर भन्नेलाई दोस्रो लहरमा संक्रमण देखिएर अस्पताल पुगेर फर्किएकालाई सोध्न शर्माको अनुरोध छ । ‘कोरोना के हो भनेर अस्पताल पुगेर फर्किएका आफन्त वा साथीभाइलाई सोध्नुस्’ शर्माले भने, ‘उसले दायाँ फर्किंदा पनि मृत्यु र बायाँ फर्किंदा पनि मृत्युलाई देखेर फर्किएको पाउनुहुनेछ ।’

विवाह, ब्रतवन्ध, पूजा जस्ता सामाजिक तथा धार्मिक संस्कारले गाउँसम्मै कोरोनालाई पु¥याएको डा. शर्माको भनाइ छ । दोस्रो भेरियन्टको प्रभाव नेपालमा होला भन्ने नसोचिएको अवस्थामा जसरी नेपालमा फैलियो, गम्भीर भएनौं भने त्यसरी नै परिणाम पनि नसोचेको आउन सक्ने डा. शर्माले चेतावनी दिए ।

प्रत्येक दिन म बाँचें, मेरो परिवारलाई सुरक्षित राख्न सकें भनेर प्रत्येक मान्छेले सोच्ने बेला आएको शर्माको भनाइ छ । ‘यो हेलचेक्र्याइँ गर्ने र यो खुशी मनाउने बेला होइन’ शर्माले भने, ‘अवस्था सोचेभन्दा फरक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

ट्रेन्डिङ

Advertisment