Comments Add Comment

मकै पिँध्ने घट्टबाटै निकाल्न सकिन्छ बिजुली (भिडियोसहित)

Pani Ghata bata electry (1)

रविन्द्र घिमिरे

१९ पुस, काठमाडौं । खोल्साखाल्सीमा बगिरहेको पानीबाट घट्ट चलाउने र कुटानी पिसानीको काम गर्ने प्रचलन नेपालमा पुरानो र मौलिक परम्परागत प्रविधि हो । अब आधुनिकतासँगै ती पानीघट्टबाट थोरै लगानीमै आफ्नो गाउँलाई चाहिने बिजुलीसमेत निकाल्न सकिने ‘मेसिन’ बजारमा आइसकेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित वैकल्पिक ऊर्जाको प्रदर्शनीस्थलमा यस्तै एउटा सामान्य मेसिन देखियो, जसबाट थोरै खर्चमा सहजै बिजुली निकाल्न सकिँदोरहेछ । ढुंगाको जाँतोसमेत जोडिएको मेसिनबाट कसरी बिजुली निस्कन्छ भनेर हामीले चासो राख्यौं ।

गाउँघरमा प्रायः स-साना खोल्साहरुमा पानी बगिरहेकै हुन्छ । त्यही खोल्सा र खोलाको पानी सदुपयोग गर्ने जाँगर स्थानीयलाई आयो भने लोडसेडिङ मात्रै होइन, प्राधिकरणको महंगो बिजुलीको बिलबाट पनि मुक्ति पाउन सकिने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारीहरुको दाबी छ ।

परम्परागत घट्टलाई सामान्य सुधार गर्दा एक घण्टामा तीन पाथीसम्म खाद्यान्न पिस्ने घट्टले ७ पाथीसम्म पिँध्न सक्छ । पुरानो शैलीका घट्टहरुलाई सुधार गरेर बिजुली निकाल्दा काठका मदानीको ठाउँमा फलामको मदानी जोडिन्छ । बगेर आएको पानी मदानीमा ठोक्किदाँ मदानीसँगै घट्ट र सँगै राखिएको जेनेरेटर पनि घुम्छ । घट्ट घुमिरहँदा पिसानीको कामसँगै बिजुली पनि निस्किन्छ ।

कहाँ-कहाँ भएको छ यसको प्रयोग ?

गाउँघरमा कुटानी पिसानीका लागि जोडिएका पानीघट्टबाटै बिजुली निकाल्न सकिन्छ भन्ने अझैसम्म धेरैलाई थाहा छैन । घट्ट चल्ने क्षमताको खोल्साको पानी नै बिजुली निकाल्न पर्याप्त हुन्छ । प्राविधिकरुपमा भन्ने हो भने प्रतिसेकेण्ड २५ देखि ३० लिटर पानी बग्ने खोल्साबाट बिजुली निकाल्न सकिन्छ ।

भिडियो

अहिलेसम्म परम्परागत घट्टलाई सुधार गरेर नेपालमा ४० भन्दा बढी ठाउँबाट बिजुली निकालिएको छ । काभ्रेको हात्तिसारमा घट्टबाटै निस्किएको ५ किलोवाट बिजुली ६८ घरले उपयोग गरिरहेका छन् ।

यस्तै मकवानपुर, धादिङ, सिन्धुली, बैतडी, सुर्खेत, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट लगायतका जिल्लामा घट्ट सुधिार गरेर नै बिजुली निकालिएको छ ।

लघु जलविद्युत आयोजनामार्फत बिजुली निकाल्न चाहेमा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सुगमता हेरेर क्षमताअनुसार प्रतिकिलोवाटका लागि १ लाख ६५ हजार रुपैयाँदेखि २ लाख ५५ हजार रुपैयाँसम्म अनुदानको समेत व्यवस्था गर्दै आएको छ ।

लोडसेडिङका कारण अहिले गाउँदेखि शहर सबै क्षेत्र आक्रान्त भइरहेका बेला खोल्साबाट विजुली निकाल्ने यो प्रविधि पहाडमा निकै प्रभावकारी हुने देखिन्छ ।

शहरमा लगानी गर्न सक्नेले इन्भर्टर, सोलार र जेनेरेटरलगायतका सामाग्री प्रयोग गरेर लेडसेडिङको विकल्प खोजेका छन् । तर, गाउँघरमा खासै लोडसेडिङको विकल्प खोजिएको पाइँदैन । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका प्राविधिकहरु भन्छन् – हामीले बुद्धि पुर्‍याउने हो भने लोसेडिङबाट मुक्ति पाउन गाउँघरमा सानो लगानी र प्रयास नै पर्याप्त छ ।

कति घरलाई कति लगानी चाहिन्छ ?

घट्टलाई सुधारेर बिजुली निकाल्नका लागि केही लगानी र मेहनत आवश्यक पर्छ । घट्टलाई सामान्य सुधार गरेर बिजली निकाल्न कुनै समस्या नपर्ने ग्रामीण वातावरण विकास केन्द्रका साहयक कार्यक्रम अधिकृत मिलन श्रेष्ठ बताउँछन् । पैसाका साथै श्रमदानबाट पनि कतिपय काम गर्न सकिन्छ ।

Pani Ghata bata electry (2)

सामान्यतया गाउँघरमा चल्ने साधारण घट्टमा २ लाख ५० हजार रुपैयाँ खर्च गर्ने हो भने १ किलोवाट बिजुली निकाल्न सकिने श्रेष्ठले बताए । १ किलोवाट बिजुलीले १० परिवारलाई आरामले बिजुली बाल्न पुग्छ ।

यदि त्यही घट्टबाट ५ किलोवाट बिजुली निकाल्ने हो भने पानीको मात्रा र उचाइलाई त्यसैअनुरुप बढाउनुपर्छ । बिजुली निकाल्ने गरी घट्टमा जनेरेटर र प्राविधिक सामाग्री जोड्ने हो भने बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले प्रतिकिलोवाट ७० देखि ८० हजार रुपैयाँसम्म अनुदान पनि दिन्छ ।

एक किलोवाट बिजुली निकाल्न २ लाख ५० हजार रुपैयाँसम्म खर्च पर्याप्त हुन्छ । १ किलोवाट बिजुली निकाल्न १० परिवारले १८/१८ हजार रुपैयाँ लगानी गर्दा लोसेडिङ पूर्ण रुपमा हट्छ ।

घट्टस्थलबाट गाउँघरसम्म लामो दुरी छ भने तार टाँग्दा भने खर्च बढ्न सक्छ । यदि स्थानीयले श्रमदान गरे भने त्यो लागत अझ घट्न सक्छ । घट्ट पनि सुधार हुने र कार्यक्षमता बढ्ने अनि बिजुली पनि निस्कने भएकाले यो निकै उपयोगी हुन्छ ।

घट्टबाट ५ किलोवाट बिजुली निकाल्ने हो भने त्यसैअनुरुप पानीको मात्रा र उचाइ बढाउनुपर्छ । ५ किलोवाटसम्म बिजुली निकाल्दा ५० घरलाई बिजुली बाल्न पुग्छ ।

घर छेउबाट बग्ने खोल्सामा खेर गइरेको पानीमा १८ हजार रुपैयाँ खर्चिँदा लोडसेडेडिङ हट्छ भने किन यसबारे नसोच्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment