Comments Add Comment

१३२ नगरपालिका अझै दमकलबिहीन

Damkal-Taplejung
रविन्द्र घिमिरे

७ माघ, काठमाडौं । ०६० साल यता मात्रै ४ पटक आगोलागी हुँदा फुङलिङ बजारले ठूलो क्षति बेहोरेको छ । बल्लतल्ल गत असारमा नगरपालिकाको पहलमा फुङलिङमा दमकल त पुग्यो तर, बेवारिसे जस्तो बनेको छ ।

फुडलिङ नगरपालिकाले अझै अग्नि नियन्त्रकको व्यवस्था गर्न सकेको छैन । जसका कारण दमकल बाटोमा पानी छर्न प्रयोग भइरहेको छ ।

फुङलिङ नगरपालिकाले ठूलो क्षति ब्यहोरेपछि दमकल पाएपनि देशभरका १३२ वटा नगरपालिकामा अझै दमकल छैन । भएकाहरुले पनि आयस्रोत नभएको कारण देखाउँदै राम्रोसँग सञ्चालन गर्न सकेका छैनन् ।

बाक्लो वस्तीका कारण शहरी क्षेत्रहरु आगलागीको उच्च जोखिममा छन् । तर, २ सय १७ नगरपालिका मध्ये ८५ वटामा मात्रै दमकलको सुविधा रहेको स्थानीय विकास मन्त्रालयले जनााएको छ ।

आगलागी भइहाले ठूलो क्षती ब्यहोनु बाहेक विकल्प छैन । स्थानीय विकास मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले नगरपालिकालाई दमकल किन्नका लागि आयस्रोत नभएको बताउँछन् । एकैपटक सबैलाई दमकल किन्न अनुदान पनि दिन नसकिएको मन्त्रालयले बताएको छ ।

अहिले मन्त्रालयमा १ सय ३२ वटा नगरपालिकाले नै दमकल किन्न भन्दै प्रस्ताव पेश गरेका छन् भने केहीले दमकल सञ्चालन गर्न जनशक्ति व्यवस्थापनको माग गरेका छन् ।

स्थानीय विकास मन्त्रालयले दमकल किन्न एउटा नगरपालिकालाई ५८ लाख रुपैयाँसम्म दिने गरेको छ । तर,सबैलाई दिन सक्ने अवस्थामा छैन । केही नगरले अनुदानमा रकम थपेर राम्रो गुणस्तर र बढी क्षमताको दमकल किनेका छन् भने कतिले अनुदान रकमबाटै खरिद गरेका छन् ।

तर, पछिल्लो समयमा अधिकांश नगरपालिकाले भारतीय दमकलहरु खरिद गर्ने गरेका छन् । भारतीय दमकलहरु प्राविधिक रुपमा कमजोर मानिन्छन् । तर, दमकल राख्नै पर्ने बाध्यताका कारण नगरहरु कम गुणस्तरका दमकल भएपनि किनिरेको मन्त्रालयका एक अर्का उच्च अधिकारी बताए ।

भएकालाई पनि हात्ति पालेजस्तो

अहिले दमकम भएकाले नगरपालिकाहरुले पनि त्यसको उचित व्यवस्थापन गर्न सकेको छैन । कतिको दमकल बिग्रिएको छ भने भने कहिँ सञ्चालन गर्ने जनशक्ति र अग्नि नियन्त्रकहरु नै छैनन् ।

स्थानीय विकास मन्त्रालयका अग्नि नियन्त्रण शाखाका अधिकृत अमरदीप सुनुवारले भने-‘आगलागी प्राकृतिक घटना भएकाले कहिले हुन्छ भन्न सकिन्न । दमकलको व्यवस्थापनमा लाग्ने जनशक्ति र त्यसको मर्मतसम्भारमा नगरपालिकाहरु सक्षम देखिएका छैनन् ।’

एउटा दमकल सञ्चालनका लागि ५ जना भन्दा भन्दा बढी जनशक्ति २४ घण्टा नै तयार रहनुपर्ने हुन्छ । जनशक्ति व्यवस्थापनमा समस्या भएपछि काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरको जुद्ध बारण यन्त्रअन्तरगत सेवा केन्द्र बढाएर सहकार्यमा काम गर्न प्रस्ताव अघि सारेको छ । ‘आय स्रोत नभएका नगरहरुका लागि दमकल पाल्नु हात्ति पाल्नु सरह नै भएको छ’ काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले भने, त्यसैले यो प्रस्ताव गरेका हौं ।’

मन्त्रालयको नयाँ योजना

स्थानीय विकास मन्त्रालयले भने दमकलको व्यवस्थापनका लागि नयाँ योजना तयार पारेको छ । नजिकै रहेका नगरहरुको संयोजनामा संयुक्त अग्नि नियन्त्रण केन्द बनाउने तयारी भएको हो ।

त्यसका लागि सबै जिल्लाका दैबी प्रकोप उद्धार समितिलाई सुझावसहित संयुक्त अग्नि नियन्त्रण केन्द्रको सिफारिस गर्न पत्राचार गरिएको मन्त्रालयका सह-सचिव गोपी खनालले बताए । ‘धेरै नगरहरु आय स्रोतमा कमजोर भएकाले अब सम्भव भएसम्म विभिन्न नगरका बीच भागमा पर्ने स्थानमा अग्नि नियन्त्रण केन्द्र राख्नुको विकल्प देखिएन’ सह-सचिव खनालले भने-‘तराईका धेरै नगरहरु एक-आपसमा जोडिएका छन् । पहाडी क्षेत्रमा पनि भौगोलिक रुपमा नजिक रहेका नगरहरुको ‘क्लष्टर’ बनाए र अब दमकल राख्ने व्यवस्था गर्न लागेका छौं ।’

यसका लागि दमकल खरिद गर्न र जनशक्तिको व्यवस्थापन गर्न सम्बद्ध नगरहरुले साझेदारीमा निश्चित प्रतिशत लगानी गर्ने सरकारको प्रस्ताव छ । अब जिल्ला दैवि प्रकोप उद्धार समितिहरुको सिफारिसका आधारमा एकीकृत अग्नि नियन्त्रण केन्द्र निर्माण गरिने सचिव खनालले बताए ।

सबै नगरमा अत्यावश्यक मानिने दमकलको व्यवस्थापन गर्न समस्या परेपछि स्थानीय विकास मन्त्रालयले छुट्टै अग्नि नियन्त्रण विभागको स्थापनाको प्रस्ताव पनि तयार गरेको छ । दमकलको व्यवस्थापन गर्न सशस्त्र प्रहरीको सहयोग लिने गरी मन्त्रालयले विभाग स्थापनाको प्रस्ताव तयार गरेको थियो ।

तर, गृह मन्त्रालयले त्यसमा सकारात्मक जवाफ नदिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment