+
+

कांग्रेस विधानको प्रस्तावनामा सुवर्णको नाम राखिने

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १२ गते १४:५५

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्ण शमशेरको नाम राख्ने तयारी थालेको छ ।

Congress-Flag‘नेपाली काँग्रेसको विधानको प्रस्तावनामा पार्टीका संस्थापक तथा अग्रज नेता बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नाम उल्लेख छ । तर, प्रस्तावनामा पार्टीको स्थापनाकालदेखि नै जहानियाँ राणा शासनविरुद्ध सशस्त्र युद्धको नेतृत्व गर्नुका साथै पार्टीलाई आर्थिक रुपमा भरमग्दुर सहयोग गरेका संस्थापक नेता सुवर्णको नाम उल्लेख छैन ।

पार्टीका अधिकांश सभा, सम्मेलन र कार्यक्रममा संस्थापक भनेर नेता शमशेरको नाम उल्लेख गरिन्छ र उनका योगदानलाई पनि सम्झिइन्छ ।

पार्टीको १३ औँ महाधिवेशनको तयारीका लागि विधानमा आवश्यक संशोधन गर्न हाल पार्टीका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित विधान संशोधन समितिले प्रस्तावनामा संस्थापक नेता सुवर्णको नाम राख्ने बारेमा छलफल अघि बढाएको छ ।

स्थापनाकालदेखि नै पार्टी र प्रजातन्त्रका लागि अतुलनीय योगदान पु¥याउनुभएका नेता सुवर्णको नाम राख्ने बारेमा सुझाव आएको र सोहीअनुसार प्रस्तावनामा उहाँको नाम राख्ने बारेमा छलफल भएको  समितिका सदस्य जीवन परियारले बताए ।

तत्कालीन अन्योलपूर्ण राजनीतिक अवस्थामा नेता सुवर्ण नेतृत्वको सरकारले नै २०१५ सालमा मुलुकमा पहिलो संसदीय निर्वाचन सम्पन्न गरेको थियो । सो निर्वाचनमा काँग्रेसले दुईतिहाइ भन्दा बढी बहुमत प्राप्त गरी बिपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।

जिल्ला कार्यसमिति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट विभिन्न सुझाव आएकाले सोहीबमोजिम विधान संशोधन गर्न तयारी थालिएको नेता परियारले बताए । “प्रस्तावनामा नेता सुवर्णको नाम छुटेको रहेछ, त्यसलाई समेट्न प्रस्तावनादेखि नै विधान संशोधन गर्ने तयारी थालेका छौ, उनले भने ।

समितिले प्रस्तावनामा सभापति सुशील कोइराला नेतृत्वको सरकारको सक्रियतामै मुलुकमा संविधानसभाबाट पहिलो पटक संविधान जारी भएको ऐतिहासिक कार्यलाई पनि समावेश गरिने भएको छ । विसं २००३ माघ १२ गते गठन भएको नेपाली राष्ट्रिय काँग्रेस र २००५ साल साउनमा गठन भएको नेपाल प्रजातन्त्र काँग्रेसको एकीकरणपछि २००६ सालमा नेपाली काँग्रेसको स्थापना हुँदासम्म नेता सुवर्णले अतुलनीय योगदान गर्नुभएको काँग्रेसको इतिहास लेख्नुभएका नेता पुरुषोत्तम बस्नेतले बताए ।

विसं २००३ मा स्थापित राष्ट्रिय काँग्रेसले जहानियाँ राणा शासनविरुद्ध अहिंसात्मक आन्दोलन थालेको थियो । आन्दोलन प्रभावकारी नहुँदा नेता सुवर्ण अधिनायकवादी सरकारविरुद्ध सशस्त्र आन्दोलन नगरेसम्म सफल नहुने भन्दै प्रजातन्त्र काँग्रेस स्थापनामा लागेका थिए ।

नेता सुवर्णले २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक सरकार विघटन गरेपछि बिपी, गणेशमान र भट्टराईलगायत प्रमुख नेता जेलमा हुँदा राजाको उक्त कदमविरुद्ध बाहिर बसेर निरन्तर आन्दोलनको नेतृत्व गरेका थिए ।

समितिका सदस्य डा प्रकाशशरण महतले प्रस्तावनामा नेता सवुर्णको नाम, उनले पार्टी र मुलुकलाई गरेको योगदान उल्लेख गर्न छुटेकाले समावेश गर्ने तयारी भइरहेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?