Comments Add Comment

बेलहिया नाकाबाट ६ महिनामा १८० युवतीको उद्दार

KI-Nepal,-Belahiya-Rupandeh

२८ माघ, भैरहवा । मानव बेचबिखन बिरुद्ध संस्था के आई नेपालले रुपन्देहीको सिमानाका बेलहियाबाट विगत ६ महिनामा १ सय ८० जना युवतीको उद्दार गरेको छ ।

केआईले असुरक्षित तरिकाले भारतका बिभिन्न शहरमा रोजगारी तथा आफन्त भेट्न जाने बहाना गरेर रुपन्देहीको सिमानाका बेलहिया हुदै सीमा पार गर्न खोजेका युवतीहरुलाई उद्दार गरेको हो ।

मानव बेचबिखन बिरुद्ध सिमा क्षेत्रमा क्रियाशील रहेको केआई नेपालले संचालन गरेको परियोजना बारे समिक्षा गर्न भैरहवामा आयोजित जिल्ला स्तरीय मानव बेचबिखन बिरुद्ध परियोजना सल्लाहकार समितिको बैठकमा प्रस्तुत तथ्यांक अनुसार यसरी भारत जानेमध्ये अधिकांश युवतीहरुले घरमा अभिभावकलाई खबर नभएको पाइएको छ ।

असुरक्षित रुपमा भारत जान लाग्ने अधिकांश १५ देखि ३० बर्ष भित्रका युवती रहने गरेको केआई नेपालले जनाएको छ ।

त्यस्तै बेलहिया नाकाबाट यो अवधिमा भारत जान लागेका २ हजार २ सय २९ जना युवतीलाई परामर्श दिईएको थियो ।

त्यस्तै ४ जनालाई सीपमुलक तालिमकोलागि पठाइएको र १ सय १६ जनालाई अनुसन्धानको लागि प्रहरीको जिम्मा लगाईएको केआई नेपाल रुपन्देहीकी ईन्चार्ज तारा सापकोटाले जानकारी दिइन् ।

उनका अनुसार गत साउन महिनादेखि पौष मसान्तसम्म बेचबिखनबिरुद्ध एउटा मुद्दा दर्ता गराइएको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ्गले मानब बेचबिखन गर्ने गिरोहले नयाँ-नयाँ तरिका र शैली अपनाएर चेलीहरुलाई सीमा पार गराउन खोज्ने हुदा सरोकारवाला संघसंस्थाहरु चनाखो भएर लाग्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment