+
+

मेरी श्रीमती : जैसीकी छोरी भनेर २० वर्षसम्म घरमा भित्रिन पाइनन्

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १६ गते १६:३५

Manoj Gajurel_Meri Shreemati_650मनोज गजुरेल, कलाकार

एउटी युवतीसँग मेरो आँखा जुधिरहन्थ्यो । बैंशालु बेला न पर्यो, मैले त्यो आँखा जुधाइमा एक प्रकारको प्रेम पाएँ । त्यो हेराइलाई एक प्रकारको आकर्षण, आह्वानको रुपमा बुझेेँ । यो ०५१ सालतिरको हो ।

पुतलीसडकमा मेरो दाजुको पत्रिका पसल थियो । मैले पसल हेर्थें । पसलपारि एउटा कम्युनिकेसन थियो, जहाँ उनी काम गर्थिन् । हाम्रो आँखा जुधिरहन्थ्यो ।

मेरो एउटा साथी छ, राजेन्द्र ढकाल, सञ्चय कोषमा काम गर्छ । एक दिन कुराकानीकै सिलसिलामा मैले उसलाई भनेँ, ‘यार, त्यो कम्युनिकेसनमा काम गर्ने केटी मलाई मन पर्छ, राम्री लाग्छ ।’  उसले भन्यो, ‘ए मुला, त्यो त मेरी बहिनी हो ।’ एकैचोटि म चिसो भइहालेँ, कहाँ साथीकै बहिनीलाई आँखा लगाउन पुगिएछ भनेर ।

तर उसले नै भन्यो, ‘मेरै बहिनी त होइनन् । हाम्रो घर एकै ठाउँमा हो, विराटनगर । उनी पनि ढकाल हुन्, नाम मीना । एसएलसी पास गरेर पढ्न आएकी ।’

ब्लफ कल गर्न थालेँ

उनको पसलको नम्बर पत्ता लगाएँ र ब्लफ कल गर्न थालेँ । सकेसम्म उनको मन जित्ने, मन राख्ने नै कुरा गरेँ । सुरुमा त तिम्रै दाइ हो, तिम्रै आफन्त हो, मेरो पनि घर उतै विराटनगर हो भनेर झुट बोलेँ । उनलाई साँच्चिकै कतै नजिकको आफन्त हो कि भन्ने पारेँ । उनले ‘तपाईं को, कहाँको, के गर्नुहुन्छ’ भनिरहन्थिन् । मैले भेटौँ न, सबै कुरा थाहा भइहाल्छ भन्थेँ । भेट्न आकाकानी गरिरहिन् ।

त्यस्तै, ६-७ महिनापछि कसोकसो भेट्न मानिन् । पुतलीसडकको श्रेष्ठको फोटोकपीअगाडि भेट्ने कुरा भयो । त्यहीँ भेटेर हामी कुरा गर्दै तल पद्मोदय स्कुलअगाडिको आरती फिल्म हल (अहिले छैन) सम्म हिँड्यौँ र छुट्टयिौँ । उनी डेरा गइन्, त्यहीँनेर उनको डेरा थियो ।

त्योबीचमा सौहार्दपूर्ण कुराकानी भए । मुखले राम्रै बोले पनि मुहारको भावमा उनी त्यति उत्सुक देखिएकी थिइनन् । मलाई अनुमान लगाउन गाह्रो थिएन- उनले अपेक्षा गरेजस्तो म रहेनछु भनेर । कम्युनिकेसनमा देखादेख भए पनि उनले कल्पनासम्म गरेकी थिइनन् कि फोन गर्ने मान्छे म नै हुँला भन्ने । किनभने, त्यतिबेला पनि म अहिलेजस्तै मोटो थिएँ, उमेरभन्दा पाको देखिन्थेँ, ब्लफ कल गरेर बस्ने खालको देखिन्नथेँ ।

विराटनगर सहरबाट आएकीले उनी सहरियाजस्तै देखिन्थन्, पहिरनमा ध्यान दिन्थिन् । म झापाबाट आएको, गाउँले पाराकै थिएँ, पहिरनमा त्यति ध्यान दिन्नँथेँ ।

वारिपारि पसल भएकाले देखादेख भइरह्यो । मैले फोन गरेर बाहिर कतै भेट्न बोलाउँथेँ, चिया मःमः खायौँ । यसरी नै क्रमशः हाम्रो बोली व्यवहारमै प्रेम झल्कन थाल्यो । प्रेम आफैँ हुन्छ, हुँदो रैछ । हुँदै जाँदा ६-७ महिनापछि कुरा बिहे गर्नेसम्म पुग्यो ।

कलाकारिताको पाटो
मेरो घर झापा, हामी तीन दाजुभाइ, चार दिदीबहिनी हौँ । ठूलोदाजु केशवराज गजुरेल, अहिले नेपाल टेलिकममा जागिरे हुनुुहुन्छ । माइलोदाजु धीरेन्द्रराज, गाडीको व्यवसाय गर्नुहुन्छ । म कान्छो हुँ । म ६ महिनाको हुँदा मेरो पिताजीको देहान्त भएको हो ।

झापामा काकाहरू हुनुहुन्छ, झापामा हाम्रो लगभग संयुक्त परिवार नै हो । मेरी आमा झापामै बस्न रुचाउनुहुन्छ । तर, काठमाडौं पनि आवतजावत गरिरहनुहुन्छ ।

झापा हुँदा हिमालय मावि दमकमा पढ्थेँ । त्यहाँ पढ्दै मैले हास्यव्यंग्य कला देखाइसकेको थिएँ- प्यारोडी गीत गाउनेदेखि कुखुरा, बाख्राको आवाज निकाल्ने, अरुको नक्कल गर्ने गर्थें । कक्षा आठमा पढ्दा स्कुलमा हास्यव्यंग्य प्रतियोगिता भएको थियो, त्यतिबेला म प्रथम र पत्रकार देवेन्द्र भट्टराई दोस्रो भएका थिए ।

त्यतिबेला मैले समाचार भनेको थिएँ । अहिले संसद् गतिविधि भनेजस्तो उतिबेला ‘राष्ट्रिय पञ्चायतमा के भयो ?’ भन्ने कार्यक्रम रेडियोमा आउँथ्यो । मैले त्यही समाचारको प्यारोडी बनाएको थिएँ, ‘आज राष्ट्रिय पञ्चायतमा बसेको बैठकले घर-जग्गाविहीन जनतालाई अहिले नै माटोबाट हटाई लाठी र मुंग्रीले ठटाई, उत्तरतिर खेदाउने विषय पारित गरेको छ ।’

यो मैले कसैले सिकाएर गरेको त होइन । तर, त्यतिबेलाको परिस्थितिअनुसार मेरो प्यारोडी पञ्चायतविरोधी बनेछ । गाउँमा हुने कार्यक्रममा हिँड्दा-डुल्दा पनि पञ्चायतविरोधी भएको गाइँगुइँ हुन थाल्यो । र, आमाले काठमाडौंमा रहनुभएका मेरा दाइलाई भन्नुभयो, ‘भाइलाई पनि उतै काठमाडौं लैजानू ।’

ठूलो दाजु केशवराज गजुरेलको अभिभावकत्वमा म काठमाडौं आएको हुँ, ०४५ सालमा । माहिलोदाजु पनि यतै हुनुहुन्थ्यो, ठूलोदाजुसँगै । ठूलोदाजुको बिहे भइसकेको थियो । म दाइहरूसँगै बसेँ । पद्मोदयमा ९ कक्षामा भर्ना भएर पढेँ । त्यहीँबाट ०४८ सालमा एसएलसी गरेँ । त्यसपछि आरआर क्याम्पसबाट पत्रकारितामा स्नातक गरेको हुँ, दाइको पत्रिका पसलमा काम गर्दै ।
म १० कक्षामा पढ्दा मेरो दाजु आरआर क्याम्पसमा पढ्नुहुन्थ्यो, विद्यार्थी राजनीतिमै हुनुहुन्थ्यो । दाइले नै मलाई क्याम्पसमा हुने कार्यक्रममा प्रहसनका लागि वातावरण मिलाउनुभयो । मैले १० कक्षा पढ्दादेखि नै क्याम्पसमा प्रहसन गर्न थालेको हुँ ।

त्यतिबेला म अनेरास्ववियुको कार्यकर्ता थिएँ, उपत्यका सांस्कृतिक कमिटीमा काम गर्थें, प्रहसन गर्थें । पार्टीगत कार्यक्रममा कलाकारको रुपमा चिनिन थालेको थिएँ । उथलपुथल, अब घाँडो जाग्यो गरी तीनवटा हास्यव्यंग्यको क्यासेट निकालिसकेको थिएँ, शम्भु राईको श्रद्धा डिजिटल स्टुडियोबाट । शम्भु राई वामपन्थी विचारको मान्छे, मेरो अग्रज पनि, भावात्मक रुपमा निकट भएकाले उहाँकै लगानीमा क्यासेट निकालेँ । यो ०५० देखि ५२ सालसम्मको कुरा हो ।

Manoj-Gajurel_650

बिहेमा परिवारको स्वीकृति भएन

यता हामी गहिरो प्रेममा थियौँ । उनलाई बिहे गर्ने निर्णयमा म पुगिसकेको थिएँ । मैले दाइहरू र आमालाई सुनाएँ । तर, आमा यो बिहेमा त्यति सकारात्मक हुनुभएन । किनभने, मेरी आमा ३० वर्षको उमेरमा विधवा बन्नुभएकी, समाजले मान्दै आएको विधवा संस्कारलाई पालना गर्नुभयो । उहाँ परम्परागत समाजमै हुर्कनुभएकी, त्यहीअनुसार भन्नुभयो, ‘बाबु, केटी त जैसी पो रैछ, हामी उपाध्याय हौँ ।’

दाइसँग सल्लाह गरेँ, दाइले पनि आँट गर्नुभएन । भन्नुभयो, ‘आमाको मन किन दुखाउने ? तँ आफ्नै ढंगले बिहे गर्छस् भने गर ।’ तर, म उनलाई छाड्न सक्ने अवस्थामा थिइनँ । उनीसँग बिहे गर्न आफ्नै ढंगले अघि बढेँ । दाइले १० हजार रुपैयाँ दिनुभयो, मसँग पाँच हजार थियो । १५ हजारले सामान्य बिहे प्रक्रिया अगाडि बढ्यो ।

उनले नै घरमा कुरा पुर्याइन्, मलाई फलानो मन पर्छ भन्ने ढंगले । मैले मीनालाई सोधेँ, ‘घरमा के भन्नुभएको छ ?’ उनले भनिन्, ‘पाल्न सक्छ कि सक्दैन भनेर बुवा दोधारमा हुनुहुन्छ ।’

हामीबीच लमीको काम मेरो साथी राजेन्द्र ढकालले गरिरहेको थियो, जो विराटनगरकै थियो । राजेन्द्रले भन्यो, ‘चिन्ता नगर यार, मसँग एउटा उपाय छ । तेरा हास्यव्यंग्यका दुइटा किताब, तीनवटा क्यासेट लगेर जाउँ, मीनाका बुवालाई दिएर भनौँ यस्तै गरी पाल्ने हो ।’

त्यसै गर्नु त परेन, जेहोस् कुरा यसरी नै पुग्यो । कुरा छिन्न जाँदा दुई साथी लिएर गएको थिएँ- काकाको छोरा डिल्ली गजुरेल र साथी राजेन्द्र ढकाल । विराटनगरमा कुरा छिनियो । त्यसपछि काठमाडौं गुहेश्वरी मन्दिरमा हामीले बिहे गर्यौँ । उनी काकाको डेरामा बस्थिन्, त्यहीँ उनका आफन्त जम्मा भए । यता मेरा थुप्रै साथीहरू बिहेमा जानुभएको थियो- सुन्दर बस्नेत, माधव भट्टराई, शिव डाँगी, कृष्ण राईलगायत ।

बिहे एक विद्रोह

हाम्रो बिहे सामान्य भए पनि समाजमा एउटा विद्रोह थियो । किनभने, जैसी र उपाध्यायको बिहे नहुने जुन परम्परागत ब्राह्मणवादी मान्यता थियो, त्यसलाई हामीले तोडेका थियौँ ।

बिहेपछि म दाइसँग छुटिएर बस्न थालेँ, पुतलीसडकमा कोठा लिएर । ठूलो दाइ पहिलेजस्तो खुसी देखिनुभएन । त्यसपछि उहाँको पसलमा जान पनि कम भयो । यता, मीनाले पनि बिहेपछि कम्युनिकेसनमा काम गर्न छाडिन् ।

अब मलाई दाम्पत्य जीवन र कलाकारितामा सफलता हासिल गर्नुपर्ने ठूलो चुनौती थियो । म कलाकारिताको सुरुवातमै थिएँ । अनेरास्ववियुमा पहिले बिनापारिश्रमिक पनि कार्यक्रममा हिँड्थेँ । तर, बिहेपछि पैसा चाहिन्छ भनेँ । मेरो कुनै रेट त थिएन, तर साथीहरूले खाममा हालेर पारिश्रमिक दिन थाले । यो बीचमा पिसिओमा पनि काम गरेँ ।

बिहेपछिको प्रगति

एसएलसीपछि तीन-चार महिना जागिर गरेको थिएँ, रिक्सामा साबुनलगायत सामान बेच्ने । त्यसपछि राष्ट्र बैंकमा बाहिर गेटमा बसेर भौचर भर्ने काम पनि गरेँ, त्यस्तै दुई-तीन महिना । त्यहाँ कसैको भौचर भरिदिएबापत पैसा आउँथ्यो । पछि दाइले पत्रिका पसल खोलेपछि त्यहीँ काम गरेँ ।

तर, बिहेपछि त हास्यव्यंग्य प्रस्तुतिका लागि भटाभट विदेश जान पाएँ, प्रगति नै प्रगति भयो ।

बिहेको दुई वर्षपछि सन् १९९८ मा हङकङ गएँ, हास्यव्यंग्य प्रस्तुतिका लागि, एउटा फियोना भन्ने संस्थाको निमन्त्रणामा । हास्यव्यंग्य प्रस्तुतिकै लागि सन् २००० मा कतार, २००३ मा जापान गएँ । २००७ मा अमेरिका गएँ, त्यति बेला डेढ महिना बसेको थिएँ । दोस्रोपटका जाँदा पाँच महिना बसेँ । तेस्रोपटक डेढ महिना बसेँ । चौथौपटक डेढ महिना बसेँ । अहिलेसम्म ४० वटाजति देशमा हास्यव्यंग्य प्रस्तुति दिएको छु ।

अहिले हामी भक्तपुरको आफ्नै घरमा छौँ, ०६४ सालमा घर बनायौँ । यसलाई मैले आफ्नो मात्रै सफलताको रुपमा लिएको छैन, यसमा मेरा पुर्खा, पिताले गरेको कर्म पनि मसँग जोडिएर आउँछ । त्यसमाथि मेरी श्रीमतीको झनै ठूलो साथ र सहयोग छ ।

छोरीको नाक चुच्चो हुँदै आयो

हाम्रा दुई छोराछोरी छन्- मिरोज र मेमोरी । मिरोज ०५४ मा जन्मेको हो । छोरा पाउँदा म उनीसँगै थिएँ । प्रसुती व्यथा लाग्दा ढाड थिचेर ढाडस दिँदै काठमाडौं मोडेल हस्पिटलमा ल्याएँ । उनकी बहिनी लक्ष्मीलाई हेरविचारका लागि बोलाएका थियौँ । सामान्य शल्यक्रिया गरेर बच्चा निकालियो, धेरै गाह्रो भएन । हस्पिटलमा तीन-चार दिन राख्नुपर्यो, त्यो बेला मैले नै उनका लागि खाना लिएर जान्थेँ ।

०६१ मा छोरी जन्मिइन् । त्यतिबेला पनि म उनीसँगै थिएँ । हेरविचारका लागि उनका दिदी र बहिनीलाई बोलाएका थियौँ । काठमाडौं मोडेल हस्पिटलमा सामान्य शल्यक्रियाबाटै छोरी जन्मिन् ।

मेलै हस्पिटलमा बच्चा साट्छन् भन्ने सुनेको थिएँ । छोरी जन्मेपछि नर्सले ल्याएर मलाई दिइन् । अनुहार हेर्छु, नाक थेप्चो छ, मंगोलियनजस्तो । मलाई शंका लाग्यो, साटियो कि भनेर । मैले नर्सलाई भनेँ, ‘तपाईं झुक्किनुभएको त छैन नि, म मीनाको श्रीमान !’ नर्सले नझुक्किएको बताइन् । पछि मैले मीनालाई सोधेँ, ‘छोरीको नाक त थेप्चो छ नि, कतै साटिएको त हैन ?’ उनले ‘होइन, सानोमा नाक थेप्चो त हुन्छ नि’ भनिन् । पछि छोरीको नाक चुच्चो हुँदै आइहाल्यो ।

Manoj Gajurel_1

सँगै रोएका र हाँसेका पल

हामी धेरैपटक सँगै रोएका छौँ । सन् २००३ मा मलाई जापानको भिसा लाग्यो, तीन महिनाको । जाने दिन हामी सँगै रोयौँ, किनभने तीन महिनाका लागि छुटिँदै थियौँ ।

जापान पुगिसकेपछि साथीहरूले उतै बस्न भने । ‘जापान आउनै गाह्रो छ, तिमी आउन पाएका छौ, यतै बस, हामी छौँ, दुई-चार वर्ष बसेर कमाएर र्फक’ भन्ने साथीहरूको कुरा थियो । मैले घरमा फोन गरेर उनीसँग सोधेँ, ‘के गरौँ ? साथीहरू यसो पो भन्छन्, म त यतै बस्छु, आठ-दश वर्ष ।’ मैले जापान बस्ने निर्णय गरेको त थिइनँ, त्यतिकै उनको मन चोर्न नाटक गरेको थिएँ, गम्भीर नै भएर भनेको थिएँ । तर, उनी रोइन्- आठ-दश वर्ष हामीलाई छाडेर बस्छु भन्ने भनेर । मैले नाटक गर्न छोडिन्- म यतै बस्छु, पैसा कमाएर तिमीहरूलाई पठाउँछु, छोराछोरी सम्हाल भनेँ । उता उनी रोइरहिन् । मेरो पनि आँसु थामिएन, हामी फोनमा सँगै रोयौँ ।

हामी केही वर्ष यता सँगै ध्यान गर्छौं, ओशोको । ध्यानमा दमित भावावेग रोएर, हाँसेर फाल्ने एउटा विधि छ । हरेक हप्ता बिहीबार ओशोवाटिका बालुवाटारमा जान्छौँ । त्यही हामी सँगै रुने र हाँस्ने गर्छाैं ।

हामी खुसी नै छौँ, उनी छन्, सन्तान छन् । सबैको मायाले जीवन राम्रैसँग चलिरहेको छ । तर, अलि बढी नै खुसी चाहिँ छोराछोरी जन्मँदा भयो । छोराछोरी बराबरी भने पनि नेपाली समाजले छोराको जन्मलाई ठूलो उत्सवका रुपमा लिन्छ । समाज र संस्कारले गर्दा हाम्रो भित्री मनमा पनि छोरा जन्मेको अहंकार हुँदो हो, त्यसैले पहिलो छोरो जन्मँदा हामी निकै खुसी भयौँ ।

त्यसपछि छोरी जन्मिइन् । छोरापछि छोरी नै होस् भन्ने हाम्रो चाहना थियो । हामीलाई छोरीको रहर थियो, नभन्दै छोरी जन्मिइन्, छोरी जन्मँदा हामीमा खुसी छायो । घरमा छोराछोरी खेल्न थाले, त्यो दृश्यले हामीलाई नयाँ ऊर्जा, नयाँ खुसी मिल्न थाल्यो- यो केही क्षणको खुसी होइन, सधैँको हो । छोरीको जन्मपछि अझ कलाकारिता मलाई राम्रो भयो । छोरीलाई त मैले आफ्नो भाग्य सम्झन्छु ।

उनका गुण
दाम्पत्य जीवनको सफलता बाहिर देखिने चिज होइन, यो भावनात्मक कुरा हो र सबै चिज भावनाले जोड्ने हो । दाम्पत्य जीवन सफल हुन दुवैको भावना मिल्नुपर्छ, वेभलेन्थ मिल्नुपर्छ । हामी दाम्पत्य जीवनको २० वर्षमा हिँड्दै छौँ । यो अवधिसम्म हामीमा त्यति ठूलो झगडा भएको छैन ।

कुट्ने-पिट्ने भन्ने त हाम्रो शब्दकोसमै छैन । वैवाहिक जीवनका २०औँ वर्षगाँठसम्म आइपुग्दा हामी जति खुसी छौँ, यो उनकै गुण, स्वभावले सम्भव भएको हो ।

उनी मायालु छिन् । असल गृहिणी हुन्, पत्नी हुन्, आमा हुन् । परिवारलाई बाँधेर राख्ने क्षमता, छोराछोरीलाई माया गर्ने जबर्जस्त तरिका उनीमा छ । उनी पछिल्लो समय ध्यान गर्छिन् । तर, धार्मिक रुढी प्रवृत्ति उनीमा छैन, पूजापाठ गरिरहने, मन्दिर गइरहने गर्दिनन् ।

सानो झगडाले तीन दिन घर छाडिन्

सामान्य ठाकठुक त पर्छ । बेलुका छिटै घर फर्कोस् भन्ने उनको चाहना हुन्छ, यो स्वाभाविक पनि हो । तर, कामको चापले साँझ घर र्फकन कहिलेकाहीँ मैले ढिला गर्छु । उनी मेरो पति राम्रो बनेर हिँडोस् भन्ने चाहन्छिन्, तर मैले पहिरनमा खासै ध्यान दिन्नँ । यस्तै नटुंगिने विषयमा सामान्य ठुस्काठुस्की हुन्छ । सामान्य ठाकठुकले सम्बन्धलाई झनै सुमधुर बनाएको छ ।

तर, झगडापछि हामी बोलिहाल्छौँ । सामान्य ठाकठुकलाई सहज बनाउने कला दुवैमा छ, यो दुवैले बुझेका पनि छौँ ।
सन् २००३ को कुरा हो, म जापानबाट र्फकंदा जापानी रक्सी लिएर आएको थिएँ । घरमा आएर खाएँ । बुढाबुढीबीच कुरा हुन थाल्यो । उनले ‘यतिका दिन जापान बस्दा त्यति फोन पनि गर्नुभएन । आफूलाई कति चिन्ता हुन्छ’ भन्न थालिन् । मैले ठट्टैठट्टामा मैले तिमीलाई माया गर्दिनँ भनेँ । उनले भनिन्, ‘साँच्चै हो ?’ मैले ‘साँच्चै हो’ भनेँ ।

यो प्रश्न-उत्तर दोहोरियो । रक्सी खाएकाले पनि मैले ठट्टा गरिरहेँ । तर, उनी साँच्चिकै रिसाइन् । कुरा झगडामै पुग्यो । त्यसको भोलिपल्ट उनी हराइन्, छोरालाई लिएर । त्यति बेला छोरो त्यस्तै दुई-तीन वर्षको थियो । उनका दिदी, बहिनी, काका, जो काठमाडौंमा हुनुहुन्छ, उहाँहरूकहाँ गएर खोजेँ, छैनन् ।

मलाई विश्वास थियो, उनी मलाई छाडेर जाने होइनन् भन्ने । तर, तीन दिन हराएपछि त चिन्ता हुन्छ । दारी नकाटेर लथालिंग पारामा दाइकहाँ बसेको थिएँ, उनी आइन् । हामी अँगालो हालेर रोयौँ । थाहा नपाओस् भनेर साथीकहाँ गएकी रहिछन् । मलाई उनकी बहिनीले संकेत गरेकी थिइन्, ‘दिदी कतै टाढा गएकी छैनन्, चिन्ता नगर्नु भेनाजु ।’ तर, उनले दिदी कहाँ गएकी छिन् भन्ने चाहिँ भनेकी थिइनन् । जेहोस्, यो घटनापछि हामी झनै आत्मीय भयौँ ।

उनले मायाले मनु भन्छिन्, दयाले बाबा । मैले उनलाई मायाले मैना, मीनु, टुन्टु-पुन्टु मनमा जे आयो त्यही भन्छु । बाटोमा कसैको राम्रो नाम सुने भने पनि घरमा आएर उनलाई त्यही नामले बोलाउँछु । पत्नीलाई विदेश घुमाउने थोरै कलाकारमध्ये म पर्छु । मैले उनलाई विदेश घुमाउन पनि लगेको छु- मलेसिया, हङकङ, बैंकक, लन्डन । हामी हप्तामा दुईपटक रेस्टुरेन्टमा खान्छौँ ।

२० वर्षपछि नाटकीय विवाह गरेर घर प्रवेश

विवाहपछि हामी केही वर्ष घरमा गएनौँ, आमा नै हामीलाई भेट्न आउनुभयो । बिहेमा आमाको चित्त दुखाइ मात्रै थियो, उहाँको चाहना थियो कि छोराले धर्म-संस्कार नछाडोस् ।

मेरी आमा एक्ली गलत हुनुहुन्न, उहाँ जुन समाज र संस्कारमा हुर्कनुभयो, त्यो गलत थियो । उपाध्यायले जैसीले छोएको नखाने भन्ने थियो, उहाँले पनि त्यही मानिआएको संस्कारलाई मान्नुभयो ।

आमा प्रायः झापामै बस्नुहुन्छ, काठमाडौं आउँदा दाजुकोमा । हामीलाई भेट्न आउँदा सुरुमा बुहारी मीनाले छोएको खानुभएन । तर, बिस्तारै बदलिँदै आउनुभयो । बिहे भएको दुई वर्षपछि उहाँले मीनाले पकाएको चिया खानुभयो । पाँच वर्षपछि उनले बनाएको चाम्रे खानुभयो । उहाँले मीनाले बनाएको खाना खान थालेको दुई-तीन वर्ष भयो । अहिले आमाको सबैभन्दा प्यारी बुहारी मीना भएकी छिन् ।

बिहेपछि म व्यक्तिगत रुपमा झापा घरमा गइरहेँ, तर बुहारीलाई घरमा भित्र्याउने भन्ने भएन । बिहे गरेको २०औँ वर्षमा हामी छोराबुहारीको रुपमा घर गयौँ । एक महिनाअगाडि घरमा स्वर्गीय हजुरबुवाको सम्झनामा भागवत महापुराण लगाइएको थियो । मीना र म पण्डितसँगै बसेर पुराणमा सहभागी भयौँ ।

पुराणको एक भागमा कृष्ण र रुक्मिणीको विवाह भएको नाटक गर्नुपर्दोरहेछ । कसले यो भूमिका निभाउने भन्ने कुरा भयो । कुल-खान्दानमा हाम्रो विवाह भएको थिएन । त्यसैले हामीलाई यही विवाहको नाटक गर्न भनियो । म कृष्ण र उनी रुक्मिणी भइन्, यही नाटकीय विवाहपछि गजुरेल खान्दानले हामीलाई छोराबुहारीको रुपमा स्वीकार गर्यो, घरमा प्रवेश गरायो ।

प्रस्तुति : ध्रुवसत्य परियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?