Comments Add Comment

शशांक कोइरालाः आँखाकाे डाक्टरदेखि कांग्रेसको महामन्त्रीसम्म

Shashanka Koirala

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा विजयी बनेका डा. शशांक कोइराला वीपीका कान्छा छोरा हुन् भन्ने सबैलाई थाहा छ । तर, शशांकको जीवनको भित्री पाटोचाँहि कमैलाई मात्र जानकारी छ ।

नेपाली कांग्रेसमा कोइराला परिवारको अवसान सुरु भएको चर्चा चल्दै गर्दा केन्द्रीय पदाधिकारी टीममा डा. शशांक एकमात्र पारिवारिक प्रतिनिधिका रुपमा उदाएका छन् ।

पेशागत दक्षताका हिसाबले आँखाका डाक्टर रहेका ५९ वर्षीय डा. शशांक ०४६ साल अघिसम्म सक्रिय राजनीतिमा थिएनन् । बहुदल आएपछि सक्रिय राजनीतिमा प्रवेश गरेका डा. कोइराला नवलपरासीबाट संविधानसभामा दुई कार्यकाल विजयी जनप्रतिनिधि समेत हुन् ।

सक्रिय राजनीतिमा आएको छोटो समयमा शशांकले अहिलेसम्म पछाडि र्फकनु परेको छैन । उनले अहिलेसम्म चुनाव हारेको रेकर्ड छैन ।

सक्रिय राजनीतिमा निकै पछि आए पनि ०४६ को जनआन्दोलनमा शशांकले सहभागिता जनाएका थिए । यसक्रममा उनी केही समय प्रहरी हिरासतमा पनि परेका थिए । ०६३ सालमा पनि उनी हिरासतमा परेका थिए ।

डा. शशांक कोइराला कांग्रेसका अरु पुराना नेताले जस्तै जेलनेल भोगेका नेता होइनन् । यद्यपि ०१७ सालदेखि ०३६ सालसम्म उनको जीवनकाल निर्वासन र अध्ययनमा बितेको थियो ।

आँखाको अप्रेसन गर्ने डा. कोइराला अब नेपाली कांग्रेसको नीति निर्माण तहमा रहेर राजनीतिको अप्रेशन गर्ने भूमिकामा रहने छन् ।

विदेशमै अध्ययन, विदेशीसँगै विवाह

पारिवारिक सूत्रहरुका अनुसार शशांक कोइराला शिशुअवस्थामै हुँदा उनका पिता वीपी कोइराला जेल परे । वीपी कोइराला ०१५ सालको चुनावमा खट्ने तयारीमा रहेका बेला शशांकको जन्म भएको हो । र, उनी दुई वर्ष पुग्दा नपुग्दै वीपी प्रधानमन्त्रीबाट अपदस्त भए ।

वीपी जेल परेपछि शशांक भारतको बनारसमा पुर्‍याइए र उतै उनले विद्यालय तहको अध्ययन पूरा गरे । शशांकले भारतमै आइएस्सी उत्तीर्ण गरे र उतै एममीबीबीएस अध्ययन गरे ।

एमबीबीएस पढ्दै गर्दा थाइल्याण्डकी युवतीसँग शशांकको प्रेम सम्बन्ध भयो । भारतीय पिता र थाई आमाबाट जन्मेकी सुपात्रा (सुफात्रा) भाटिया भारतमा छात्रवृत्ति पाएर अध्यययनरत थिइन् । पछि उनीहरुले नेपालमै आएर विवाह गरे । र, भारतबाटै शशांक र सुपात्रा दुबै जना एमडीसम्मको अध्ययन पूरा गरी दुबैजना डाक्टर बने ।

भारतमा रहँदा शशांक र सुपात्रा आमा सुशीलासँगै बसेका थिए । र, उनीहरु उतै हुँदा वीपी कोइरालाको निधन भएको थियो ।

शशांकपत्नी डा. सुपात्रा कोइराला प्रसुतीसम्बन्धी नेपालकी चर्चित डाक्टर हुन् । सुपात्राले डा. भोला रिजालको ओम अस्पतालमा काम गर्दा प्रसुती सेवामा राम्रो नाम कमाएकी छिन् । उनी कुशल सर्जन मानिन्छिन् । डा. शशांकचाँहि आँखाका डाक्टर हुन् । राजनीतिमा लाग्नुपूर्व शशांकले काठमाडौंको टिचिङ एवं वीपी कोइराला मेमोरियल अस्पतालमा काम गरेका थिए ।

हाल काठमाडौंको टोखामा बसोबास गर्ने डा. शशांक र डा. सुपात्राकी एकल छोरी छिन् । केही वर्ष पहिले मात्रै विश्वबन्धु थापाका नाति (छोरीका छोरा) सँग उनको विवाह भएको छ । उनी हाल अमेरिकामा बसोबास गर्छिन् । शशांकका ज्वाइँ पनि विदेशमै बस्छन् र उनी उतैका ‘पीआर होल्डर’ हुन् ।

बिराटनगरका कोइराला नवलपरासीमा किन ?

डा. शशांक कोइराला २०१५ साल कात्तिक ८ गते बिराटनगरमा जन्मेका हुन् । तर, उनी ०६४ देखि नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट चुनाव लड्दै र जित्दै आएका छन् । आखिर बिराटनगरका शशांक चुनाव लड्न किन नवलपरासी पुगे ?

यसको कारण हो, बिराटनगरमा धेरै कोइरालाहरु हुनु र नवलपरासीको क्षेत्र नं १ मा कांग्रेसको राम्रो पकड हुनु । मोरङमा डा. शेखर कोइराला, सुजाता कोइराला लगायतका एक से एक नेताहरु रहेकाले डा. शशांकले नवलपरासीको सुरक्षित क्षेत्र रोजेका हुन् ।

डा. शशांकले ०६४ सालको चुनावमा नवपरासीबाट ३ हजारको फराकिलो मतान्तरले माओवादीका ठाकुरप्रसाद चापागाईँलाई हराएका थिए । कोइरालाले त्यसबेला १७ हजार ४ सय ३० मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी चापागाईले १४ हजार ९ सय ७२ मत पाएका थिए । सो क्षेत्रमा ०६४ सालमा एमालेको मत साढे ८ हजार मात्रै आएको थियो । मधेसी दलको उपस्थिति झनै कमजोर थियो ।

दोस्रो संविधानसभामा पनि शशांकले नवलपरासी १ नै रोजे र त्यहाँबाट जित हात पारेर संविधानसभामा आए ।

गणतन्त्र विरोधी, नयाँ संविधानका आलोचक
Shasank Koirala

विचारका हिसाबले महामन्त्री डा. शशांक गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरोधी हुन् । उनी अहिलेको संविधानले स्थापित गरेका यी तीनवटै मान्यताको विरोधमा छन् ।

यसको अर्थ उनी नेपालमा संवैधानिक राजतन्त्र र हिकन्दु राष्ट्रका पक्षपाती हुन्, जुन लाइन कमल थापासँग ठ्याक्कै मेल खान्छ ।
तर, वैचारिक रुपमा राप्रपा नेपालसँग नजिक देखिए पनि नेपाली कांग्रेसको महामन्त्रीको बागडोर सम्हाल्ने अवसर पाएका कोइरालाका लागि आफ्नो पार्टीलाई ०४७ सालको संविधानतिर फर्काउन सजिलो चाँहि छैन । यद्यपि उनको भूमिकाले राजतन्त्र फर्काउन चाहनेहरुलाई मद्दत पुग्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

कोइराला परिवारको बिऊ, सुशीलको सपना

पार्टी महामन्त्रीमा जित हात पारेका वीपीपुत्र शशांक नेपाली कांग्रेसको पदाधिकारी टीममा कोइराला परिवारका एकमात्र प्रतिनिधि हुन् । त्यसो त नोनापुत्र डा. शेखर कोइरालाले पनि महामन्त्रीमा दाबी गरेका थिए, तर भाइ चुनावमा उठेको भन्दै डा. शेखर पछि हटे ।
गिरिजापुत्री सुजाता कोइरालाले पनि सभापतिमा उठ्ने बताएकी थिइन्, तर मनोनित उपसभापतिका लागि रामचन्द्र पौडेलसँग उधारो सहमति गर्दै उनी पनि पछि हटिन् ।

अब कांग्रेसको उच्च तहमा शशांक कोइराला एक्ला प्रतिनिधि हुन् । उनको यो उपस्थितिले नेपाली कांग्रेसमा कोइरालाको बर्चस्व सकिएको छैन भन्ने प्रष्ट झल्को दिएको छ । शशांकले पाएको लोकपि्रय मतले पनि कोइराला परिवारको प्रभावलाई स्पष्ट पारेको छ ।

त्यसो त स्व. सुशील कोइरालाले आफ्नो जीवनकालमै शशांकलाई उत्तराधिकारी बनाएर नेतृत्व हस्तान्तरणको सपना बुनेका थिए । महाधिवेशनपछि शशांकलाई पार्टीको मनोनित उपाध्यक्ष बनाउने र त्यसपछि कार्यवाहक सभापति बनाउने सुशीलको योजना थियो । सुशीलको सपना त पूरा भएन नै, तर शशांक आफ्नै बुँदाले चुनाव लडेर महामन्त्रीमा आउन सफल भए ।

शशांकका चुनौती र कमजोरी

व्यक्तिगतरुपमा अधीक मादक पदार्थ सेवनका कारण अलि होस्ल्याङेजस्ता लाग्ने डा. शशांकले अब आफूलाई कसरी सम्हाल्लान् ? र, कांग्रेसमा कोइराला परिवारको विरासत फर्काउन उनले कस्तो भूमिका खेल्लान् ? यसमा भने शंका गर्ने ठाउँ प्रसस्तै रहेको बताउँछन् कांग्रेस नेताहरु ।

संविधानसभामा पनि शशांकले खासै उल्लेखनीय भूमिका खेल्न सकेनन् र उनले त्यस्तो कुनै उल्लेखनीय छाप बनाउन सकेनन् । यो दृष्टान्तले पनि पार्टीमा उनको ‘परफरमेन्स’ खासै प्रभावकारी नहुने विश्लेषण कांग्रेसवृत्तबाट भइरहेको छ ।

र, नयाँ संविधानप्रतिको रिजर्भेसनका कारणले डा. शशांकको आगामी राजनीतिक यात्रा निकै जटिल बन्न सक्ने देखिन्छ ।

डा. शशांक राजनीतिक विश्लेषण गर्न एवं ‘आइडिलोजिकल पोलिटिक्स’मा निकै माहिर मानिन्छन् । तर, उनको विचार प्रधान राजनीति सभापति शेरबहादुर देउवासँग ‘म्याच’ खाँदैन । देउवा व्यवहारिक राजनीतिमा बढी विश्वास गर्छन्, जसले गर्दा देउवा र शशांकको दुईधारको राजनीति कता जाला भन्ने अर्को जटिलता पनि उत्तिकै छ ।

तर, हिन्दु राष्ट्रलगायतका मुद्दामा शेरबहादुर र शशांक एकापसमा निकट मानिन्छन् । यो स्थितिमा सभापति र महामन्त्रीको मतो मिल्न सक्ला, तर यसले नयाँ संविधानमा हस्ताक्षर गरिसकेको कांग्रेसलाई पछाडितिर फर्काउन खोज्नु र हिन्दुराष्ट्र फर्काउने बाटोमा हिँड्नु कोइराला र देउवा दुबैका लागि आगोको भुङ्रोमा हिँड्नुजस्तै हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment