Comments Add Comment

विश्व क्रिकेट लिग च्याम्पियनसिपः नामिबियाविरुद्ध नेपालको तयारी शून्य

Nepal--cricketTeam

२७ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाबीचको खेल एक महिनापछि हुने तालिका छ । तर, नेपालले अहिले कुनै तयारी सुरु गरेको छैन ।

नेपाली राष्ट्रिय टोली यतिबेला प्रमुख प्रशिक्षकबिहीन छ । पुवुदु दशानायकेले छाडेपछि नेपालले नयाँ प्रशिक्षक नियुक्त गर्न सकेको छैन । अर्कोतर्फ उक्त खेल नेपालमा आयोजना हुने-नहुने समेत अन्योल छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले क्यानको विवाद लगायतलाई देखाएर खेल दिल्लीको ग्रेटर नोयडामा सार्ने संकेत दिइसकेको छ ।

नेपाल क्रिकेट संघ क्यानकी कार्यकारी अधिकृत भावना घिमिरेले केही दिनमा बन्द प्रशिक्षण सुरु गर्ने भन्दै काठमाडौंमा उपलब्ध खेलाडीहरुलाई छिट्टै क्याम्पमा बोलाउने बताइन् । नयाँ कोच नियुक्त नगरिएको विषयमा उनले भनिन्, ‘अहिलेलाई हाम्रो मुख्य प्रशिक्षक नै जगत टमाटा हुनुहुन्छ ।’ पुवुदु प्रमुख प्रशिक्षक रहँदा टमाटा सहायक प्रशिक्षक थिए । यू-१९ विश्वकपमा नेपाली टोलीको प्रमुख प्रशिक्षक टमाटालाई बताइउको थियो ।

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का भने अहिले नेपालमा क्रिकेटको माहोल नै खराब रहेको बताउँछन् । उनले भने-‘राम्रो रिजल्टका लागि जुन माहोल चाहिन्छ, त्यो छैन । दुई वर्षदेखि राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन ।’ यद्यपि नामिबियासँगको खेल पहिलो प्राथमिकतामा रहेको भन्दै उनले छिट्टै क्याम्प सुरु हुने बताए ।

खेल नेपालमै गराउने प्रयास

ग्रेटर नोयडा अथोरिटीले गत साता मात्र नेपाल र नामिबियाको खेल नोयडामा हुने सार्वजनिक गरेको थियो । आईसीसीले यसलाई अनुमोदन गरेको तर, अन्तिम रुप दिन बाँकी रहेको उसले जनाएको छ ।

यो खबर आए लगत्तै नेपाल क्रिकेट संघ क्यानले खेल नेपालमै गराउन पहल सुरु गरेको दाबी गरेको छ । आईसीसीले क्यानको विवादसँगै कीर्तिपुरस्थित मैदानको भौतिक पूर्वाधार र सुरक्षाको पनि प्रश्न उठाएको छ । क्यानको आधिकारिता विवाद अदालतमा विचाराधिन छ । पेशी सरेको सर्‍यै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment