Comments Add Comment

मलेसियाको सुरक्षागार्डमा नेपालीको एकाधिकार अन्त्य हुँदै

Security-Guard

२७ फागुन, काठमाडौं । मलेसियामा नेपाली सुरक्षागार्डको एकाधिकार समाप्त हुन सक्ने देखिएको छ । मलेसियाले नेपालबाहेकका मुलुकबाट पनि सुरक्षागार्ड लिने गरी आफ्नो नीतिको समीक्षा सुरु गरेपछि नेपाली एकाधिकार तोडिने अवस्था आएको हो ।

मलेसियाले अहिले नेपालीलाई मात्रै सुरक्षागार्डका रुपमा लैजान पाउने नियम बनाएको छ ।

मापदण्ड बिपरित गैह्र सैन्य जनशक्ति आपूर्ति गरेको भन्दै नेपाली गार्डको विकल्प खोज्ने तयारी गरिएको हो । अब श्रीलंका, भारत, बंगलादेशलगायतका मुलुकबाट पनि सुरक्षागार्ड लिनका लागि नयाँ नीति बनाउन लागिएको जानकारी मलेसियन गृहमन्त्रालयका अधिकारीले दिएको एसियनएजले जनाएको छ ।

‘पूर्वसेना, पूर्वपुलिस र सैन्य पृष्ठभूमि भएका सुरक्षागार्ड दिनसक्ने श्रीलंकालगायतका मुलुकहरु विकल्पका रुपमा छन्,’ उप-गृहमन्त्री नुर जजलानले भने, ‘गोर्खाली कार्यशैली कारण नेपालीलाई रोजेका थियौं । तर, न्युन आपूर्तिका कारण अन्य देशबाट पनि सुरक्षागार्ड लिन अब मलेसियाली कम्पनी बाध्य बन्ने अवस्था आयो ।’

नेपालबाट सैन्य पृष्ठभूमीका गार्डभन्दा नक्कली प्रमाणपत्र बनाएर लैजाने क्रम तीब्र भएकाले पनि मलेसियाले आफ्नो नीतिमा पुनर्बिचार गर्न लागेको हो

मलेसियाले गत सन् २००६ मा नेपालीलाई मात्रै सुरक्षाका लागि भित्र्याउने निर्णय लिएको थियो । मलेसियामा सुरक्षागार्डको काम अन्य भन्दा सुक्षित र आकर्षक मानिन्छ । अन्यमा भन्दा दोब्बरसम्म आम्दानी हुने हुँदा नेपालीका लागि यो राम्रो अवसर बनेको छ ।

तर, मलेसियाले मुलुकभर वैधानिक रुपमा झण्डै २४ हजार नेपाली सुरक्षागार्डहरु कार्यरत रहेको बताएको छ । सन् २०१३ यता गैरकानुनी रुपमा कार्यरत १ हजार १ सय १६ विदेशी गार्डहरु पक्राउ परिसकेका छन् ।

सन् २०१४ देखि २०१५ सम्म सरकारले सुरक्षा क्षेत्रका विभिन्न ४० कम्पनीको लाइसेन्स खारेज गरेको छ भने ४९ कम्पनीलाई कारवाहीको चेतावनी दिएको छ ।

नेपालबाट सैन्य पृष्ठभूमीका गार्डभन्दा नक्कली प्रमाणपत्र बनाएर लैजाने क्रम तीब्र भएकाले पनि मलेसियाले आफ्नो नीतिमा पुनर्बिचार गर्न लागेको हो ।

पर्याप्त सेक्युरेटी गार्ड नपाएको अवस्थामा अन्य देशको विकल्पमा जानु बाध्यता भएको मलेसियाली अधिकारीहरु बताउँछन् ।

तर, मलेसियामा सुरक्षागार्ड आपूर्ति गराउने स्थानीय कम्पनीका प्रतिनिधि भने पर्याप्त मात्रा नेपाली सुरक्षागार्ड आपूर्ति भइरहेको दावी गर्छन् ।

नेपालबाट सुरक्षा गार्ड आपूर्ति गर्ने कम्पनीका मुख्य संगठन सेक्युरिटी सर्भिसेज एसोसियसन अफ मलेसिया (पीपीकेकेएम) का सल्लाहकार साहिन मिर्जा हबिबले गैरकानुनी कामदारविरुद्धको कारवाही अभियनले सुरक्षा क्षेत्रमा जनशक्तिको माग बढ्ने बताए । उनले पर्याप्त जति माग भए पनि नेपाली सुरक्षा गार्ड ल्याउन समस्या नहुने उनको दावी छ ।

हबिबले अन्य नयाँ मुलुकबाट सुरक्षागार्ड ल्याउनुअघि गैरकानुनी कामदार विस्थापित गर्न सरकारलाई सुझाव दिए ।

मलेसियामा अहिले गैरकानुनी विदेशी कामदारको लागि गत महिनादेखि पुनदर्ता र कारवाहीको अभियान सुरु भएको छ ।

यसैकारण गैरकानुनी सुरक्षागार्ड घर फर्किनुपर्ने भएकाले नेपालबाट मागअनुसार आपूर्ति कठिन हुने भन्दै कतिपय व्यवसायिक संस्थाले अन्य देशबाट पनि ल्याउन पाउनुपर्ने माग गर्दै आएका छन् ।

मलेसियामा नेपालीको नाममा लगाएर अन्य देशका नागरिकहरु सुरक्षागार्डमा नियमविपरित कार्यरत छन् । मलेसियाले उनीहरु स्वदेश फर्किएपछि श्रीलंका लगायत देशबाट पनि सुरक्षागार्डमा नयाँ जनशक्ति लिने स्पष्ट संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment