Comments Add Comment

प्रधानमन्त्रीलाई ताप्लेजुङबासीको आग्रह- चीनसँग बाटो खन्ने मेसिन मागिदेऊ

Dambardhoj Tumbahamfe at Taplejung

  • सांसद डम्बरध्वज तुम्बाहाम्फे मार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउँदै ओलाङचुङगोलाबासी

रविन भट्टराई

२७ फागुन, काठमाडौं । ताप्लेजुङको ओलाङ्चुङगोलाका बासिन्दाले चीनसम्म मोटरबाटो खन्ने मेसिनको व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको चीन भ्रमणमा आफ्ना माग चीन सरकार समक्षा राखिदिन स्थानीयले माग गरे ।

ताप्लेजुङ सदरमुकाम हुँदै ओलाङ्चुङगोलासम्म मोटर बाटो पुर्‍याउनु भन्दा चीनको तिब्बतबाट ओलाङ्चुङगोलासम्म मोटरबाटो खन्न छोटो र कम खर्चिलो हुने स्थानीयको भनाइ छ ।

प्रधानमन्त्री चैत ७ गते चीनको औपचारिक भ्रमणमा जान लागेको खबर सुनेर तीन दिनको पैदल यात्रा गर्दै सदरमुकाम फुङलिङ आएका ओलाङ्चुङगोलाका बासिन्दाले बिहीबार विहान सांसद डम्बरध्वज तुम्बाहाम्फे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्रमा ओलाङ्चुङगोलाबासीलाई तिब्बतसँग सडक सञ्जाल जोडिए जीवनयापनमा सहज हुने भएकाले त्यसका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

ओलाङ्चुङगोलाबाट चीनको सिमाना १९ किलोमिटर मात्र छ । यो स्थानसम्म मोटरबाटो पुर्‍याउन मेसिन उपलब्ध भए आफ्नै खर्चमा बाटो खन्नसमेत आफूहरु तयार रहेको ओलाङ्चुङगोलाका स्थानिय छेतेन शेर्पाले बताए । १९ किलोमिटरमध्ये दुई किलोमिटर सडक स्थानीयले आफै खनिसकेका छन् ।

नेपालकै मुख्य नाकामध्ये एक यो ओलाङ्चुङगोला नाका खुले नेपाललाई पनि आर्थिक र व्यापारीक रुपमा फाइदा पुग्ने भएकाले सडक निर्माण चाँडो गरी नाका खोल्नमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रधानमन्त्रीलाई उनीहरुले आग्रह गरेको बताएका छन् ।

ज्ञापन पत्र बुझ्दै सांसद तुम्बाहाम्फेले प्रधानमन्त्रीसामु यस विषयमा कुराकानि गर्ने र चीन भ्रमणमा हुने सहमतिको एजेण्डामा समावेस गर्न आग्रह गर्ने बताए ।

उत्तर-दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाका अनुसार फुङलिङबाट गोलासम्मको कुल ९२ किलोमिटर दुरीमध्ये हालसम्म ४१ किलोमिटरको थिवा बजारसम्म ट्रयाक खोलिएको छ । गोलादेखि टीपताला भञ्ज्याङसम्मको दुरी १९ किलोमिटर छ ।

टीपतालादेखि रिउ बजारसम्म तिब्बत सरकारले सडक सञ्जाल स्थापना गरेकाले थप १९ किलोमिटरको दुरीमा सडक निर्माण भए गोला-रिउ सवारी साधन सञ्चालन हुन सक्ने स्थानीयले बताएका छन् । लेलेप गाविसको तल्लो भाग बाहेक उपल्लो ताप्लेजुङका बासिन्दाको दैनिकी रिउ बजारमै निर्भर हुने गरेको छ ।

सडक सञ्जालको अभावमा ढाकरमा भारी बोकेर महँगो मुुल्यको सामानबाट दैनिकी गुजार्न नसकिने ठानेर पछिल्लो दुुईबर्षमा गोलाबाट २२ परिवार बिस्थापित भएको स्थानिय छेतेन शेर्पाले बताए । गोलामा हाल भोटे र शेर्पा समुदायका ६१ परिवार बसोवास गर्दै आएका छन् ।

सडक सञ्जालको अभावमा ढाकरमा भारी बोकेर महंगो मूल्यको सामानबाट दैनिकी गुजार्न नसकिने ठानेर पछिल्ला दुुई बर्षमा गोलाबाट २२ परिवार बिस्थापित भएको स्थानिय छेतेन शेर्पाले बताए । गोलामा हाल भोटे र शेर्पा समुुदायका ६१ परिवार बसोवास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment