रवीन्द्र घिमिरे
२७ फागुन, काठमाडौं । निकै महत्त्वकांक्षाका साथ सरकारले काठमाडौंमा थालेको प्राकृतिक ग्यास खोज्ने अभियान सुरुवातमै प्रभावित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले घर-घरमा ग्यासको पाइप पुर्याउने उद्घोष गरेपछि सुरु भएको अभियान प्राविधिक विज्ञता र दक्ष जनशक्तिको अभावमा प्रभावित भएको हो ।
प्रधानमन्त्रीले नै खुबै चासो दिएपछि खानी तथा भू-गर्भ विभागले टेकुमा बन्द अवस्थामा रहेको स्टेसनबाट ग्यासको कुवा सफा गर्न थालेको थियो । तर, आवश्यक प्रविधिको अभावले ग्यास खोज्ने काम सुस्त मात्रै भएको छैन, आजभोलि त रोकिएरै बसेको छ ।
जापानी सहयोग नियोग (जाइका) ले वर्षौंअघि ल्याएको पुरानो पम्पिङ मेसिनमार्फत ग्यासको कुवा खन्न लाग्दा सुरुमै पम्प बिगि्रएर प्राविधिकले समस्या भोगेका थिए । काम थालेपछि पनि प्राविधिकले विभिन्न समस्या भोग्नुपर्यो ।
ग्यास कुवामा भरिएको माटो र बालुवा निकालेर सफा गर्न खटिएका प्राविधिकले कुनै आशलाग्दो सफलता हात पार्न सकेका छैनन् ।
प्राविधिकलाई न ग्यास कुवाबारे पर्याप्त ज्ञान छ, न ग्यास निकाल्ने प्रविधिबारे विज्ञता नै । त्यसकारण जोडबलले प्रधानमन्त्रीको इच्छा पूरा गर्नैका लागि विभागले काम गरिरहेजस्तो गरिरहेको देखिएको छ।
ग्यास अझै भेटिएन, प्रविधि र जनशक्तिको समस्या
टेकुमा ग्यासको कुवा सफा भइरहे पनि अपेक्षाअनुसार ग्यास भेटाउन सकिएको छैन । प्राविधिकहरू प्रविधि नभएर मात्रै हैन, ग्यासबारे खासै जानकारी नभएर पनि हैरान छन् । तर, सफाइको काम भने जारी राख्ने उनीहरू बताउँछन् ।
अरु नयाँ प्रविधि ल्याएर भए पनि ग्यासको सम्भाव्यताबारे एउटा निष्कर्षमा पुग्ने टेकुमा खटिएका विभागका डि्रलर शिव रिजालले अनलाइनखबरलाई जानकारी दिए ।
‘अहिलेसम्म अपेक्षाअनुरूप ग्यास भेटाउन सकेका छैनौं । स्टेसनबाट कति परिमाणमा ग्यास मिसिएको पानी निकाल्न सकिएला भन्ने निष्कर्षमा पुग्न हामी थप काम गर्दैछौं,’ रिजालले भने ।
उनले पानीमा डुबाएरै पम्प गर्न सकिने ‘सब्मर्सिबल पम्प’ प्रयोग गर्न लागिएको जानकारी दिए । नयाँ पम्प विभागसँग नभएकाले मगाइएको रिजालले बताए । रिजालले आवश्यक प्रविधि नहुँदा काम गर्न असहज भएको सुनाए ।
प्राकृतिक ग्यासबारे नेपालमा जनशक्ति र प्रविधि नभएकाले समस्या भएको उद्योग मन्त्रालयका सहसचिव दिनेश घिमिरेले पनि बताए ।
‘हामीसँग प्राकृतिक ग्यासबारे राम्रो जानकारी राख्ने विज्ञ छैनन् । त्यसअनुसार काम गर्ने प्राविधिक पनि छैनन् । त्यसैले कामअघि बढाउन समस्या भएको हो,’ उद्योग मन्त्रालयका सहसचिव दिनेश घिमिरेले भने ।
टेकुमा रहेको झन्डै तीन सय ५० मिटर गहिरो कुवा बीचबाट ‘क्र्याक’ भएको हुन सक्ने प्राविधिकको अनुमान छ । तत्कालीन समयमा यो ग्यासको अध्ययन र उत्खननको काम सबै जाइकाले गरेकाले खानी विभाग अझै अन्योलमा देखिएको छ ।
पञ्चायतकालमा यो कुवाबाट ग्यास निकालेर टेकु क्षेत्रका सरकारी कार्यालय, अस्पताललगायत वितरण भएको थियो ।
०४१ देखि ०५३ सम्म यहाँबाट उत्पादन भएको ग्यास पाइपमार्फत शुक्रराज ट्रपिकल अस्पताल, भेटेरेनरी अस्पताल, सेनाको मेस, सुन्धाराको टेलिग्राफ र कारागारलगायत सरकारी स्वामित्वमा कार्यालयमा वितरण हुने गरेको थियो । तर, वर्षौंसम्म त्यसलाई प्रयोग तथा मर्मत नगरिएपछि कुवा जीर्ण भएको छ ।
यो कुवा जाइकाको सहयोगमा ०४० सालतिर नै खनिएको हो । यहाँ प्रयोग भएको सबै सामग्री जापान सरकारले नै ल्याएको हो र यसको जडान पनि उसैले गरेको हो ।
यो कुवाबाट पानीसहित ग्यास निस्किन्थ्यो । फिल्टरेन मेसिनमा राखेर पानी र ग्यासलाई छुट्याएर प्रशोधन मेसिन हुँदै बुलेटमार्फत हावाकै रुपमा हुने ग्यास पाइपमार्फत वितरण गर्न सकिन्छ । तर, अहिले टेकुमा ग्यास मिसिएको पानी नै राम्रोसाथ निकाल्न सकिएको छैन ।
त्यतिबेला टेकुमा तीनवटा तथा काठमाडौंको ह्युमत टोल र ललितपुरको इमाडोलमा दुई-दुई तथा भृकुटीमण्डप, शंखमूल, कोटेश्वर, जडिबुटी, तीनकुने, टीकाथली र टेकुमा थप एक-एक कुवा खनिएको छ ।
जाइकाले सहयोगमा इच्छा देखाएन
जाइकासँग यी ग्यास स्टेसन र यिनीहरूमा जडान भएका प्रविधिबारे प्राविधिक सहयोग र परामर्श मागिए पनि सकारात्मक जवाफ नआएको खानी विभागका निर्देशक सहदेव महतोले जानकारी दिए ।
विभागले कुवा सफा गर्दा पहिलेजस्तै ग्याससहितको पानी निस्किन्छ भन्ने निश्चित नभएकाले जाइकालाई गुहारेको थियो । तर, जाइकाल तत्काल यस विषयमा सहयोग गर्न नसक्ने जवाफ दिएको छ ।
काठमाडौंमा प्राकृतिक ग्यास के-कति परिमाणमा छ भन्नेबारे जाइकाले अध्ययन गरेकाले विभाग प्राविधिक रूपमा कसरी अघि बढ्ने भन्नेमै अल्झिएर बसेको छ ।
विभागले सबै ग्यास स्टेसनमा प्राविधिक काम भइरहेको बताए पनि ग्यास उत्खननका लागि कुनै परिणामुखी काम गर्न सकेको छैन ।
उपत्यकाभित्र रहेको ग्यास निकाल्न सकिने प्रमाणित भएमा कस्तो प्रविधिको प्रयोग गर्ने भन्नेबारे पनि विभागले अझै निर्णय गरेको छैन ।
विदेशीसँगै सहयोग लिने योजना
जाइकाले तत्काल सहयोग नगर्ने भनेपछि उद्योगले अब विभिन्न देशको सहयोग लिएर भए पनि ग्यास, पेट्रोलियम पदार्थ र धातुका खानी उत्खनन् गर्ने योजना अघि सारेको छ ।
गभर्नमेन्ट टु गभर्नमेन्ट अर्थात् जीटुजी तहमा सम्झौता गरेर ग्यास उत्खनन गर्नेबारे प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगेको छ । केही दिनमै मन्त्रिपरिषद्ले खानी उत्खननमा विभिन्न देशका सरकारसँग सम्झौता गर्ने निर्णय गर्नेछ ।
यसपछि औपचारिक रुपमै जापान, चीन लगायत सरकारसँग ग्यास उत्खननका लागि प्रस्ताव गर्ने उद्योग मन्त्रालयको योजना छ ।
विदेशीको सहयोगबिना यो कामअघि बढाउन नसकिने निष्कर्ष निकालेर मन्त्रालयले यस्तो प्रस्ताव मन्त्रिपरिषदमा लगेको सहसचिव घिमिरेले बताए ।
प्रतिक्रिया 4