Comments Add Comment

सरकार फेर्ने बहसः अबको प्रधानमन्त्री देउवा कि प्रचण्ड ?

sherbahadur and prachanda

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएसँगै नयाँ सरकारको बहस सुरु भएको छ । यो बहसमा प्रधानमन्त्री केपी ओलीसमेत सार्वजनिकरुपमा सहभागी भइसकेका छन् ।

देउवा आफैंले त केही भनेका छैनन् तर, उनका निकटवर्तीहरु बोलिरहेका छन् । र, उनीहरुको अभिव्यक्तिबाट के प्रष्ट हुन्छ भने केन्द्रीय सदस्यहरुको मतगणना सकिएपछि देउवाले नयाँ सरकारको कसरत सुरु गर्नेछन् ।

त्यही छनक पाएर हुनुपर्छ, प्रधानमन्त्री केपी शर्मा ओली पनि जोडजोडले ‘यो सरकार ढल्दैन, कसैले टीका लगाएर दिएको होइन’ भन्दै हिँडेका छन् । जब प्रधानमन्त्री र मन्त्रीहरुले नै यो सरकारलाई कसैले ढल्न सक्दैन भन्न थाल्छन् भने नयाँ सरकार बनाउने खेल सुरु भएछ भनेर सहजै अनुमान गर्न सकिन्छ ।

देउवाको भित्री तयारी र प्रधानमन्त्रीको हतासपूर्ण अभिव्यक्तिलाई विश्लेषण गर्दा पर्दा पछाडि सरकारको जोड घटाउ सुरु भएको बुझ्न सकिन्छ ।

कति सम्भव होला ओली नेतृत्वमा राष्ट्रिय सरकार ?

प्रधानमन्त्री ओलीले कांग्रेस महाधिवेशनपछि नयाँ सरकार बन्ने होइन, विस्तार हुन्छ भनेका थिए ।

नयाँ संविधान जारी भएपछि एमाले अध्यक्ष ओलीको नेतृत्वमा सहमतीय सरकार बनाउने सहमति कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले तोडेको एमाओवादी अध्यक्ष प्रचण्ड र स्वयंम प्रधानमन्त्री ओलीको आरोप छ ।

र, अब महाधिवेशनपछि कांग्रेस आफ्नै नेतृत्वमा सरकारमा आइदिओस् भन्ने ओलीको अपेक्षा देखिन्छ । तर, अब त्यो सम्भावना लगभग टरेको छ ।

र, कांग्रेस सभापतिमा देउवाको जितसँगै नयाँ सरकार गठनको खेल सुरु भएको छ । स्रोतले भन्यो, ‘अब यही सरकारले नै राष्ट्रिय सरकारको स्वरुप लिने सम्भावना छैन, किनभने देउवाले यसलाई स्वीकार गर्दैनन् ।’

उसोभए अबको नयाँ सरकार कस्तो हुनेछ त ? यो प्रश्न स्वाभाविकरुपमा उठ्नेछ । यसमा केही विकल्पहरु देखिएका छन् । सहमतीय सरकारका लागि प्रमुख तीन दलबीच सहमति हुुनुपर्ने हुन्छ भने बहुमतीय सरकारका लागि तेस्रो ठूलो दल एमाओवादीको भूमिका महत्वपूर्ण हुन्छ ।

ओली सरकारको कार्यशैलीप्रति एमाओवादी सन्तुष्ट छैन । तर, उसले तत्कालै सरकार ढालेर अपजस लिने अवस्था पनि देखिँदैन । यो अस्थामा निम्न विकल्पहरु सतहमा देखिन्छन्ः

पहिलो विकल्पः कांग्रेसको नेतृत्वमा सहमतीय सरकार

कांग्रेस संसदको सबैभन्दा ठूलो दल हो र संविधान कार्यान्वयनको चरणमा उसले सरकारको नेतृत्व दाबी गर्नु अस्वभाविक पनि होइन ।

तर, संविधान कार्यान्वयनका लागि कम्तिमा संविधान जारी गर्ने शक्तिहरु एक ठाउँमा आउन जरुरी हुन्छ । यो भनेको कांग्रेस, एमाले र एमाओवादीसहितका दलहरु फेरि एकपटक एकै ठाउँमा उभिनु हो ।

यस्तो अवस्थामा कांग्रेसको नेतृत्वमा प्रमुख दलहरु सहभागी भएको सरकार गठन सम्भव हुन सक्छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनु थियो, भइसके । सरकारले अपेक्षा अनुसार काम गर्न नसकेकाले अब कांग्रेसको प्रमुख दलहरु सम्मिलित सरकार गठन गठन गर्ने विकल्प देखिन्छ ।

तर, आफ्नो नेतृत्वको सरकार ढालेर अरुलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी ओली सहजै तयार हुने देखिँदैन । त्यसैले सहमतीय सरकार गठनको नारा जति मीठो सुनिन्छ, त्यति नै गाह्रो पनि छ ।

दोस्रो विकल्पः कांग्रेसको नेतृत्वमा बहुमतीय सरकार

सहमतीय सरकार नबनेको अवस्थामा शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनको प्रयास गर्ने सहजै अनुमान गर्न सकिन्छ ।

तर, देउवाले बनाउने त्यस्तो सरकारमा एमाले हुने छैन । अर्थात बहुमतीय सरकारका लागि देउवाले एमाओवादी र मधेसवादी दलहरुको साथ पाउनुपर्छ । त्यस्तो अवस्थामा एमाओवादी अहिलेको बहुमतीय सरकार ढालेर देउवाको नेतृत्वमा अर्को बहुमतीय सरकार बनाउन तयार हुन्छ कि हुँदैन भन्ने मुख्य हुन्छ ।

एमाओवादीमा अहिलेको सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि छ । तर, एउटा बहुमतीय सरकार ढालेर अर्को बहुमतीय सरकार बनाउने र आफू फेरि सहयोगी मात्रै बन्नुहुन्न भन्ने मत माओवादीमा बलियो छ ।

त्यसैगरी मधेसवादी दलहरुलाई सरकारमा ल्याउन पनि सजिलो छैन । मधेसी मोर्चा अहिले पनि कुनै न कुनै रुपमा आन्दोलनमा छ । उसलाई सुटुक्क देउवा नेतृत्वको सरकारमा जान सजिलो छैन ।

त्यस्तो अवस्थामा मधेसको माग सीमांकनबारे देउवाले कुनै न कुनै सम्बोधन गर्नुपर्छ ।

यसरी हेर्दा देउवालाई माओवादी र मधेसीसहितको बहुमतीय सरकार बनाउने विकल्प त छ तर, सजिलो छैन ।

यो स्थितिमा देउवाले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको अवस्थामा मात्रै कांग्रेस र माओवादी एकै ठाउँमा आउन सक्ने सम्भावना देखिन्छ ।

तेस्रो विकल्पः माओवादी नेतृत्वमा सरकार

जब एमाले नेतृत्वको सरकारले राष्ट्रिय सरकार बन्न सक्दैन र कांग्रेसको नेतृत्वमा पनि सम्भव हुँदैन, त्यसपछि तेस्रो दलको दिन आउँछ । अघिल्लो संविधानसभामा दुई पटक एमालेका दुई नेता माधवकुमार नेपााल र झलनाथ खनालले त्यसरी नै प्रधानमन्त्री पद पड्काएका थिए ।

अहिले तेस्रो दल एमाओवादी हो । र, एमाओवादी अध्यक्ष प्रचण्ड फेरि प्रधानमन्त्री हुन चाहनु अवस्भाविक होइन । त्यसरी हेर्दा एमाओवादीले अब सरकारको नेतृत्व दावी गर्ने सम्भावना बढेको छ ।

सरकारको नेतृत्वका लागि माओवादीसँग दुई विकल्प छ । उसले पहिला वामपन्थीहरुको सरकार बनाउन सक्छ । अर्थात अहिलेको सरकारको नेतृत्व मात्र परिर्वतन हुन्छ, ओलीको ठाउँमा प्रचण्ड वा अरु कोही हुनेछन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई तपाईँलाई प्रधानमन्त्री बनाउन मैले सहयोग गरेँ, अब मलाई सहयोग गर्नुस्’ भन्नसक्छन् ।

यदि एमाले तयार भएन भने माओवादीसँग दोस्रो विकल्प हुनेछ कांग्रेस र मधेसीको समर्थनमा सरकार बनाउने । कांग्रेस एमाले नेतृत्वको अहिलेको सरकारसँग रुष्ट छ ।

त्यस्तो अवस्थामा आफ्नो नेतृत्वको सरकार बनेन भने कांग्रेसले माओवादीको काँधमा बन्दुक राखेर पड्काउन सक्छ । अर्थात कांग्रेसको एमाओवादीको नेतृत्वमा सरकार बनाउन सहयोग गर्छ र मधेसी मोर्चा पनि सहभागी हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment