+
+
Shares

सिमेन्टदेखि जलविद्युतसम्मः यसरी रोपिँदैछ नेपालमा चीनको पैसा

५ चैत, काठमाडौं । केही वर्षअघिसम्म नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याउनेमा भारतभन्दा निकै पछि थियो चीन । तर पछिल्ला वर्षमा भारतलाई चीनले कडा टक्कर दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ५ गते ९:३०

China_Investmane in Nepalनविन अर्याल

५ चैत, काठमाडौं । केही वर्षअघिसम्म नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याउनेमा भारतभन्दा निकै पछि थियो चीन । तर पछिल्ला वर्षमा भारतलाई चीनले कडा टक्कर दिएको छ ।

चीनले नेपालमा आक्रमक ढंगले लगानी बिस्तार गर्दै भारतलाई चुनौति दिएको हो । आफैं वैदेशिक लगानी खोजीरहेको भारतभन्दा पैसा खर्च गर्न अवसर खोजीरहेको चीनबाट भविष्यमा कयौं गुणा बढि लगानी भित्र्याउन सकिने विज्ञहरु बताउछन् ।

ठीक एक दशक अगाडि आर्थिक वर्ष २०६२/०६३ मा भारतबाट एक अर्ब ५६ करोड रुपैयाँ लगानीको प्रस्ताव आउँदा चीनबाट केवल १८ करोडको प्रस्ताव आएको थियो । तर, त्यसको सात वर्षपछि चीनबाट भारतको भन्दा झण्डै दोब्बर बढी लगानी प्रस्ताव आयो । उद्योग विभागका अनुसार आव २०६९/७० मा चीनले ५ अर्ब ८० करोड रुपैयाँ लगानीको प्रस्ताव ल्यायो, जबकि, सो आवमा भारतबाट दुई अर्ब ५९ करोड रुपैयाँको लगानी प्रस्ताव आएको थियो । त्यसपछिका वर्षमा चीन र भारतबीच पहिलो हुने होडबाजी देखिन्छ ।

लगातार दुई वर्ष चीनले उछिनेपछि भारत पनि तात्तियो । गएको वर्ष भारतले फेरि चीनलाई उछिन्दै आफुलाई पहिलो नम्बरमा पार्न सफल भयो । चालु आर्थिक वर्षमा पनि भारत अगाडि छ ।

विभागका अनुसार साउनदेखि फागुन मसान्तसम्म भारतबाट एक अर्ब ९० करोड रुपैयाँ लगानी प्रस्ताव आइसकेको छ भने चीनबाट एक अर्ब ३० करोडको प्रस्ताव आएको छ । प्रधानमन्त्रीको चीन भ्रमणसँगै चिनियाँ लगानी बढ्ने विश्वास गरिएको छ ।

India_China_Investmane on Nepalपछिल्लो समय भारत आफै विदेशी लगानी भित्राउन लागिपरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुलकमा लगानीमैत्री वातावरण बनाएर विदेशी लगानीकर्ता आकषिर्त गर्न जोड दिइरहेका छन् । तर, चीनसँग प्रशस्त पैसा रहेको हुँदा लगानी गर्न मुलुकहरु खोजिरहेको सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज वैद्य बताउँछन् ।

‘चीन लगानी गर्ने ठाउँ खोजिरहेको छ र नेपाललाई वैदेशिक लगानीका प्रशस्त अवसर छन्,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका वैद्यले भने- ‘यस्तो बेलामा हामीले लगानीमैत्री वातावरण तयार पारेर चिनीया लगानीकर्ता आकषिर्त गर्नुपर्छ ।’ प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणमा जाँदा चिनियाँ लगानी बढीभन्दा बढी भित्राउन पहल गर्नुपर्ने वैद्यले बताए ।

वैद्यका अनुसार चीनबाट अहिले नेपाल आइरहेको लगानी ठूलो होइन । चीनबाट खर्बौं रुपैयाँ लगानी भित्राउन सकिने उनी बताउछन् । चिनियाँ लगानीकर्ता आकषिर्त गर्न सबैभन्दा पहिला ऐन-कानुनमा सुधार गरी लगानीमैत्री वातावरण बनाउन उनले सुझाव दिए ।

रेस्टुरेन्टदेखि पूर्वाधारसम्म

अहिले चीनबाट नेपालमा साना रेष्टुरेन्टदेखि ठूला-ठूला पूर्वाधारसम्म लगानी आइरहेको छ । खासगरी कृषि, पूर्वाधार, उर्जा, खनिज, सेवा क्षेत्र, पर्यटन लगायतका क्षेत्रमा चिनियाँ लगानी बढेको पाइन्छ । चिनियाँ लगानीकर्ता सबैभन्दा बढी पूर्वाधार र जलविद्युतमा लगानी गर्न उत्साहित रहेको तथ्यांकले देखाउँछ ।

Suraj-Vaidya
सुरज बैद्य

उद्योग विभागका अनुसार अहिलेसम्म चीनबाट विभिन्न परियोजनामा ४८ अर्ब ६४ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । जबकि भारतबाट ८० अर्ब ६५ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । यसको अलवा चीन र भातरबाट लगानी बोर्डमार्फत पनि ठूलो लगानी नेपाल भित्रिरहेको छ ।

अहिले पाँच अर्बसम्मको लगानी उद्योग विभागमार्फत आउँछ भने त्यो भन्दा बढीको लगानी बोर्डमार्फत आउने व्यवस्था गरिएको छ । चीनबाट लगानी बोर्डमा तीनवटा कम्पनीले लगानी प्रस्ताव गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए । दुईवटा कम्पनीले सिमेन्टमा लगानी गर्ने प्रस्ताव गरेका छन भने एउटाले हाइड्रोपावरमा लगानी गर्ने प्रस्ताव गरेको छ ।

अहिलेसम्म उद्योग विभागमा आएको चिनियाँ लगानीको प्रस्तावमध्ये सबैभन्दा बढी उर्जा क्षेत्रमा २६ अर्ब, सेवा क्षेत्रमा झण्डै ८ अर्ब, पर्यटनमा साढे ४ अर्ब, उत्पादनमुलक क्षेत्रमा साढे ४ अर्ब, खानीजजन्य परियोजनामा एक अर्ब, कृषि तथा वन क्षेत्रमा दुई अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको देखिन्छ ।

सिमेन्टमा ठूलो लगानी

चिनियाँ सरकारी स्वामित्वको हुवाजिन सिमेन्ट कम्पनीले नेपालमा उद्योग स्थापना गर्न ५० अर्ब बढी (५० करोड अमेरिकी डलर) रुपैयाँ ल्याउने भएको छ । वैदेशिक लगानी ल्याउन उसले लगानी बोर्डमा प्रस्ताव गरिसकेको छ ।

हुवाजिन चीनको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक हो । उसले आगामी २ वर्षमा कच्चापदार्थ क्लिंकर उत्पादनसहितको कारखाना सञ्चालनमा ल्याउने प्रस्तावमा उल्लेख गरेको छ । कम्पनीले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

लगानी बोर्डले सिमेन्ट उद्योग खोल्न चीनकै हङकङ रेड लायन नम्बर ३ लिमिटेड (होङ्सी ग्रप)लाई ३६ अर्ब रुपैयाँ लगानी ल्याउन स्वीकृति दिइसकेको छ । होङ्सीले हेटौंडास्थित शिवम सिमेन्टमा लगानी गर्दैछ । यससँगै शिवममा होङ्सीको ७० प्रतिशत तथा नेपालीको ३० प्रतिशत लगानी हुनेछ ।

यसैगरी चीनको थि्र गर्जेज कम्पनीले लगानी बोर्डबाट पश्चिम सेती हाइड्रोपावरमा विदेशी लगानी गर्ने स्वीकृति पाएको छ । पश्चिम सेती ६५० मेगावाट क्षमताको परियोजना हो । पश्चिम सेतीको लगानी सम्झौता प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?