Comments Add Comment

अम्बर गुरुङ: मलाई भेट्न आउँदा नेपाली छाती लिएर आउनू

Ambar Gurung (5)दिल निसानि मगर

नौ लाख तारा उदाए धर्तीको आकाश हाँसेछ,
शरद लाग्यो, वनमा फूलले प्रीति गाँसेछ ।

नजली यहाँ झिलिमिली मनको तार निभेछ,
गुराँस फुल्यो पहाडमा मनको फूल झरेछ ।

भारतको मेदान्त अस्पतालमा २ महिना बसेर आन्द्राको ट्युमर एवं रेडियो किमोको एकसाथ उपचारपछि हालसालै नेपाल फर्केका वरिष्ठ संगीतकार अम्बर गुरुङसँग भेट हुनुपूर्व मैले राति अबेरसम्म रक्सी पिएँ ।

उहाँले स्वर भरेको एउटा कालजयी गीत छ-

‘जिन्दगीको के कुरा, यो सपना हो र के कुरा,
तिम्रो रुपको पनि के कुरा, मेरो गीतको पनि के कुरा… ।’

जब-जब यो गीत सुन्छु म, तब भावनात्मक अवस्थामा पुग्छु । मुटुलाई चोट पर्दा स्वास्थ्यका लागि हानिकारक पदार्थको कुनै प्रवाह हुन्न रहेछ ।

त्यसपछि राति घरको कौशीमा उक्लेर आकाशतर्फ एकनाशले हेरिरहेँ मैले, नौ लाख ताराहरूको खोजीमा । कुहिरोले राज गरिरहेजस्तो देखिन्थ्यो, अँध्यारो कालो आकाश । पि्रय जुनेली-उजेली ताराहरूलाई चम्किलो मुहार देखाउन नदिने त्यो कुहिरो-तुवाँलोसँग मेरा हजार प्रश्न थिए ।

तर, भावुकताका बादलहरू एकापसमा यसरी ठोक्किएछन् कि आँसुले गालाको बाटो हुँदै सुनकोसी बगाइसकेको रहेछ । मनमनै अम्बर गुरुङको अर्को आवाजलाई गुनगुनाएँ मैले-

‘नजली यहाँ झिलिमिली मनको तार निभेछ,
गुराँस फुल्यो पहाडमा मनको फूल झरेछ ।’

त्यसपछि म डसना ओढेर सुतेँछु ।

भित्ताको पनि देश हुँदोरहेछ

निन्याउरो अनुहार उचालेर भोलिपल्ट बिहानै म अम्बर गरुङलाई भेट्न बूढानीलकण्ठमा रहेको निजी निवासमा पुग्दा कुकुरको छाउराले प्यारो लवजमा हल्लाखल्ला गर्‍यो । चस्मा निकालेर हुलिया सामान्यीकरण गरेपछि त्यो छाउरो मेरो गोडामा लुटपुटियो । गेट खोल्न आइपुगिन्, अम्बर गुरुङकी छोरी अल्का गुरुङ । र, म पाहुना कोठामा अम्बर गुरुङको प्रतीक्षामा बसें । एक गिलास अनारको जुस मेरो हातमा आइपुगेको थियो ।

कोठाका भित्ताभरि प्रशंसा कोरिएका प्रमाणपत्र टाँसिएका थिए । नेपाली सेनाले सम्मानपूर्वक दिएको कर्नेल पदको प्रमाणपत्र पनि झुन्डिएको थियो, त्यही भित्तामा ।

कोठाको कुनामा गणेश भगवान, बुद्धका मूर्ति र रातो र चन्द्र-सूर्य जंगी निसान उभिएका थिए । यस्तो लाग्थ्यो कि यो अम्बर गुरुङको आवास होइन, सिंगै देशको मुहार हो यो ।

कतिपय मानिस भन्छन्, ‘भित्ताको पनि कान हुन्छ ।’ तर मलाई लाग्यो, भित्ताको पनि देश हुँदो रहेछ ।

‘अँ अल्काजी, बाबालाई अहिले कस्तो छ ?’ पाहुना सत्कारस्वरूप पाएको एक गिलास अनारको जुस रित्याएपछि मैले साबिकको भन्दा धेरै फूर्तिफार्ती देखाएँ ।

ambar g‘बाबाले भर्खरै औषधि सेवन गरेर आराम गर्दै हुनुहुन्छ, एक्कै छिन है दिलजी’ अल्काले अलिकति समय मागिन् । ‘निल्ने नलीमा साढे चार इन्च ट्युमर थियो । त्यसपछि किमो थेरापी, यसको रेडियसनले गर्दा उपचारपश्चात् बाबा करिब तीन हप्तासम्म एकदमै शिथिल हुनुभयो । सुगर घटेका बेला कहिलेकाहीँ त दाँत कस्नुहुन्छ, अनि हतार-हतार गाडीमा राखेर ग्रान्डी अस्पताल पुर्‍याउँछु ।’ अल्काले बाबाको स्वास्थ्य अवस्था बताउन थालिन् ।

फेरि संगीत भर्ने छोरीको आशा

अम्बर गुरुङ (बाबा) गम्भीर बिरामी परेदेखि राम्रोसँग निदाउन सकेकी छैनन् अल्का । बाबाको स्याहार-सुसार गर्ने उनी नै हुन् । समयमा औषधि खुवाउनेदेखि उपचारको सबै चाँजो-पाँचो मिलाउँदा अल्का कहिले दिल्ली, कहिले काठमाडौं गरिरहन्छिन् ।

मेदान्त अस्पतालमा रहँदा अल्काले बाबाको उपचारका लागि कुनै कसर बाँकी राखिनन् । बाबा कहिले पूर्ण रूपमा निको हुनुहोला र रेकर्ड हुन बाँकी गीतहरु गाउनु होला, संगीत भर्नुहोला भनेर अल्का हरदम पिरोलिरहन्छिन् ।

प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा रहँदा अम्बर गुरुङलाई भेट्न मेदान्त अस्पताल आउने जानकारी दिए पनि उनले गोविन्दा, मनिषा कोइराला लगायतलाई मात्रै भेटे

‘उपचारमा अहिलेसम्म २५ लाखभन्दा धेरै भारतीय रुपैयाँ खर्च भइसक्यो । त्यो सबै मेरो क्रेडिट कार्डबाट खर्च गरेकी छु । बाबाको उपचार गर्नु सन्तानको कर्तव्य पनि हो । तर, बाबाको स्वास्थ्यस्थितिबारे मिडियामार्फत बाहिर आएपछि लाजगाल स्वरुप सरकारले हामी अम्बर गुरुङको सबै उपचार खर्च व्यहोर्छौं भनेका छन् रे, यद्यपि यसका लागि सरकारका आधिकारिक प्रतिनिधिले परिवारसँग अहिलेसम्म कुनै सम्पर्क गरेका छैनन्,’ अल्काले सुनाइन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा रहँदा आफूलाई भेट्न मेदान्त अस्पताल आउने जानकारी मुख्यसचिव इन्द्रकुमार भण्डारीको मुखबाट सुनेपछि बाबा निकै उत्साहित हुनुभयो । हामी पनि खुसी भयौँ, तर आखिरमा उहाँ आउनुभएन । पछि अखबारमा पढ्यौँ, उहाँले त गोविन्दा, मनिषा कोइराला लगायतलाई भेटेर जानुभएछ,’ अल्काले मनमा गहिरो चोट परेको सुनाइन् ।

‘ठीक छ, भेटघाट उहाँहरूको इच्छाको कुरा हो, तर भेट्न आउँछु भनेर मान्छेलाई कुराउनुहुँदैन नि, कति दुःख लाग्छ । यस्तो हुँदा बाबाको मनोबल पनि त घट्छ नि हैन र ?’ बोल्दै गर्दा गहभरि छल्किएको अल्काको आँसुले रुमालको सहारा खोज्दैथ्यो ।

अल्काको अनुरोध थियो, ‘बाबाले मलाई सरकारले सहयोग गर्छ कि गर्दैन ? भनेर खोज्दै हिँड्ने होइन । बिरामी बाबालाई खोज्दै उनीहरू आउनुपर्ने हो ।’

‘मानार्थ कर्नेल भएका नाताले सैनिक संगठनको तर्फबाट बाबाको उपचारका लागि सबै व्यवस्था हामी गर्छौं, चिन्ता गर्नुपर्दैन मात्र भन्छन्, तर, अहिलेसम्म केही सहयोग गरेका छैनन्,’ आश्वासनबाहेक अरू राहत कतैबाट नपाएको बताउँदै अल्का भन्छिन्, ‘बाबालाई कुन औषधि कति मात्रामा, कतिखेर खुवाउने कुरा त सिकेको छु । तर म स्वास्थ्य क्षेत्रको मानिस होइन । उपचार सेवाका लागि एउटा नर्स उपलब्ध हुन सकेमा ‘इमर्जेन्सी केयर’का लागि समस्या हुने थिएन ।’

उकाली चढ्दा पसीना पुछ्ने तिमी नभए अरू को होला
मर्मलाई बुझ्ने तिमी एक मेरो तिमी नभए अरु को होला

अम्बर गुरुङले गाएको यो मर्मस्पर्शी गीतबारे छोरी अल्कासँग कुरा कोट्याउनै लाग्दा रतन चन्दको हात समातेर अम्बर गुरुङ हामी पर्खेर बसेको कोठमा आइपुगे ।

अब त रुन पनि बल चाहिन्छ, हाँस्न पनि….

रतन चन्द निस्वार्थ भावनाले अम्बर गुरुङको सेवा गरिरहेका छन् । उनको गुरुङ परिवारसँग कुनै नाता, साइनो छैन । छ त सांगीतिक मोह, उनी अम्बर गुरुङका अजम्बरी फ्यान हुन् ।

Ambar Gurung (3)उपचार सकेर अम्बर गुरुङ काठमाडौं र्फकंदा विमानस्थलबाट बाहिर निस्कनका लागि भीआईपी मार्ग दिन चाहेनन्, त्यहाँका कर्मचारीले । बरू को हो त्यो अम्बर गुरुङ ? भनेर कठीन प्रश्न गरे । तिनै प्रश्नलाई छिचोल्दै विमानस्थलमा राष्ट्रिय धुन बजेरै छाड्यो यिनै रतन चन्दको प्रयासमा ।

अम्बर गुरुङले सोफामा बसेर मतिर हेरे । दुवै हात जोडी नमस्कार गरेँ मैले ।

कुराकानीको सुरुवात उहाँको स्वास्थ्य अवस्थाबाटै गरौँजस्तो लागेको थियो । तर, सायद सम्भावित प्रश्नको आँकलन गरेरै होला मैले प्रश्न गर्नुभन्दा अगाडि अम्बर गुरुङले मुसुक्क मुस्कुराउँदै मुख खोलिहाले, ‘आई डन्ट वान्ट लुक लाइक अ सिक पिलुल्स है ।’

‘फाइन’ अम्बरजी, हुन्छ । तर, मलाई यो भनिदिनुहोस् कि तपाईंलाई जीवनमा सबैभन्दा बढी माया कसको लाग्छ ?’

‘मलाई सबैभन्दा बढी माया रेकर्ड हुन बाँकी मेरा गीतको लाग्छन्,’ गुरुङको यो भनाइ एकदमै अर्थपूर्ण थियो ।

मेदान्त अस्पतालको शैय्यामा पनि उनले अरुणा लामाको छोराले किनेर ल्याइदिएको पियानो बजाइरहन्थे । कापीका पानामा गीतहरू कोरिरहन्थे, गुनगुनाइरहन्थे ।

Ambar Gurung (1)अम्बर भन्छन्, ‘म बूढो भइसकेंछु । अब त रुनका लागि पनि बल चाहिन्छ, हाँस्नका लागि पनि बल चाहिन्छ । यो मन भन्छ, संगीतको क्षेत्रमा अझै केही नयाँ काम गरौँ तर आवाज निस्कन सकिरहेका छैनन्, औँलाहरूले साथ दिन छाडेका छन्, जसरी पहिले दिन्थे ।’

दार्जीलिङ-काठमाडौं घाम-छाँया जस्तै

नेपालसम्म अम्बर कहिलेकाहीँ आफ्नो युवा अवस्था सम्झेर निकै भावुक हुन्छन् रे । पक्कै पनि जो-कोहीलाई विगतका यादले सताउँछन् । उनी भन्छन्, ‘जीवनमा कैँयौ गल्ती कमजोरी गरियो होला, तर मैले जानेर, बुझेर कोही कसैको कुभलो चिताएको छैन । संगीतको आत्मा हुन्छ, मानिसको पनि आत्मा हुन्छ । त्यसैले मैले जे जति गरेँ, मभित्रको आत्माबाटै गरेँ । म बाँचेर आत्मालाई मर्न दिन्नँ ।’

अम्बर गुरुङलाई दार्जीलिङबाट नेपालसम्म आइपुग्दाका यी उतार-चढावका क्षणहरू केवल २ दिनको घाम-छायाजस्तो लाग्छ ।

तिमी भुलमा पर्यौ, म पनि झस्किएँ
यो भेटघाटलाई एक संगम भनी

नलागी कतै चोट अब छुटौँ हामी
तिर्दैन यहाँ दस्तुर भनी ।

दार्जीलिङमा रहँदा एकजना युवतीसँग गहिरो प्रेम बस्यो, अम्बरको । त्यही अवधिमा माथिको गीत गाएका थिए उनले । अहिले उनकी प्रेमिका कहाँ छिन् थाहा छैन ।

अम्बरले आफ्नो प्रेमबारे खुलस्त बोल्न नचाहे पनि आफूले पहाडका लालीगुराँस र हिमालका चुचुरासँग अटुट प्यार गरेको ठान्छन् । र, उनी भावुक हुँदै गीतका लयमा दार्जीलिङका नेपालीलाई सम्झन्छन्-

नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको
काँडाको माझ पहाड फूल छैन र हाँसेको

दार्जीलिङदेखि नेपालसम्मको यात्रामा अम्बर गुरुङले जति माया, स्नेह र प्यार बटुलेका छन्, त्यति नै मात्रामा आलोचना पनि सहेका छन् ।

‘मलाई भेट्न आउँदा नेपाली छाती बोकेर आउनू’

नेपाली स्वाभिमानको रक्षाका लागि उनले यस्ता गीतमा संगीत भरे, जुन गीतका धुनमा सैनिकहरू परेड खेल्छन्, युवाहरूले रगत उमाल्छन् । तर, अम्बर गुरुङलाई भने राजा महेन्द्रको विरासतको रुपमा जोडेर हेरियो ।

‘मलाई भेट्न आउँदा नेपाली छाती बोकेर आउनू,’ नेपालीले भोग्नुपरेको पछिल्लो नाकाबन्दीलाई स्मरण गर्दै अम्बर गुरुङ भन्छन्, ‘राजतन्त्र होस् वा गणतन्त्र जेसुकै होस्, त्योभन्दा अगाडि हामी नेपाली हौँ भन्ने कुरा बिर्सनु हुँदैन । नेपालीको स्वाभिमानमा आँच आउने गरी साम्प्रदायिक विषयलाई अगाडि बढ्न दिनुहुँदैन । पूर्खाले मिस्टेक नगरेका कारण नेपाल देश रह्यो, हामीले मिस्टेक गर्छौं कि भन्ने डर छ ।’

‘हाम्रा नेताहरू स्वार्थी, लोभीपापी भए, उनीहरूलाई देशको भविष्यभन्दा छोराबुहारी, नातिपनाति र नातागोताको भविष्यबारे चिन्ता छ’

उनी थप्छन्, ‘हाम्रा नेताहरू स्वार्थी, लोभीपापी भए । उनीहरूलाई देशको भविष्यभन्दा छोराबुहारी, नातिपनाति र नातागोताको भविष्यबारे चिन्ता छ । तर, मलाई राजनीतिमा कुनै चासो छैन । देशको पीडालाई नजिकबाट नियाल्दा त्यो स्वतः राजनीतिसँग गाँसिदोरहेछ ।’

‘सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली’ भन्ने राष्ट्रिय गीतमा संगीत भरेको कारण मात्रै अम्बर गुरुङको चर्चा राष्ट्रप्रेमीको रुपमा चुलिएको होइन । ‘रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो, ज्युँदो रगत सरी यो बढ्दो यो सान हाम्रो’ भन्ने बोलको गीत गाउँदा विश्वमा ठूला उथल-पुथल हुँदै थिए । र, दुई साम्राज्य नेपालसामु हारिसकेका थिए । ज्यान दार्जीलिङमा बसे पनि अम्बर गुरुङको मनचाहिँ नेपालमा थियो ।

छातीमा हिमाल र लालीगुराँस साँचेर अम्बर गुरुङ बाँचिरहेका छन् । किमोथेरापीले गर्दा शिथिल बनिरहेको शरीरमा आफ्ना पुराना गीतले ऊर्जा भरेका छन् । कुराकानीका क्रममा गुरुङले छोरी अल्काको नाम बारम्बार उच्चारण गरे ।

आफूलाई स्याहार-सुसार गर्ने, कुनै भोकतीर्खा नभनी मुटुको धड्कन छामेर बस्ने प्यारी छोरीको नाम लिँदा उनका आँखा ओभाना थिएनन् ।

म बिरामी र बूढो मानिस रोएको देख्न सक्दिनँ । त्यसैले तत्कालै कुरा बटारिदिएँ ।

‘अँ साँच्ची अम्बर बाबा तपाईं त अम्बर मात्र होइन, यो धर्ती र आकाश पनि हो नि है ?’

गुरुङको मुहार उज्यालो बन्यो, ओठमा मुस्कान छायो । त्यसपछि उनले आफ्नो पुरानो गीतका केही हरफ गहिरो भावमा डुबेर उच्चारण गर्ने प्रयास गरे-

सुगौली सन्धि हामीले बिर्सेका छैनौँ भन न ।
टिस्टा काँगडा हामीले बिर्सेका छैनौँ भन न ।

हिमालझैँ अटल यो झुकेन यो कहिल्यै ।
लत्रेन यो कहिल्यै जंगी निसाना हाम्रो ।

यो जन्मँदै जगतमा कैयौँ प्रहार आए ।
साम्राज्य दुई हारे हारेन सान हाम्रो ।
रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो ।

साँझ झमक्क पर्न थालेको थियो । काठमाडौंको आकाश अझैसम्म खुलेको थिएन । कुहिरोको सामाज्य थियो आकाशमा ।

अम्बर गुरुङ, उनकी छोरी अल्का र सहयोगी रतन चन्दसँग बिदा मागेर मूल गेटमा आइपुग्दा कुकुरको छाउराले हल्ला-खल्ला गर्दै मलाई विदाइ गर्न थालिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment