+
+

यी हुन् सर्वाधिक कमाउने वर्षका चलचित्र

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ३० गते १२:३६

यो वर्षको आज अन्तिम दिन । भोलिबाट नयाँ उमंग र नयाँ सोचका साथ नेपालीहरू नयाँ वर्षको स्वागत गर्दै छन् । यो वर्षलाई केलाउँदै गर्दा हामीले नेपाली चलचित्रलाई पनि विभिन्न कोणबाट मूल्यांकन गरिरहेका छौँ ।

यो वर्ष नेपालमा करिब ६७ वटा नेपाली चलचित्र रिलिज भएको आँकडा छ । भूकम्पका कारण करिब ३० वटा चलचित्र कम चलेका छन् । तर, पनि भदौदेखि सुरु भएको यात्रा चैत्रसम्म आइपुग्दा भाले भिडन्तमा परिणत भए । जसकारण यो वर्ष केही अपेक्षित चलचित्र चलेनन् भने केही चलचित्रले निर्माताको गोजी भरिदिएका छन् ।

यो वर्ष प्रदर्शनमा आएर निर्मातालाई सुरक्षित गरेका र कमाई गरेका चलचित्र यस्ता छन्:
anmol and samragyeee copy
१) ड्रिम्स
यो वर्ष सर्वाधिक कमाउने चलचित्रको सूचीमा पर्छ, नायक भुवन केसी निर्देशित- ड्रिम्स । यो चलचित्रले करिब २ करोड रुपैयाँ निर्माता भुवन केसीको गोजीमा हालिदिने पक्का छ । देश बाहिरको कमाईलाई पनि जोड्ने हो भने, यसको आँकडा अझ वृद्धि हुने पक्का छ । अनमोल केसी र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको यो चलचित्रले पाँच करोड रुपैयाँभन्दा माथिको ग्रस कलेक्सन गरेको थियो ।
prashant-narayan-and-rajani
२) परदेशी
यो वर्ष सर्वाधिक कमाउने अर्को चलचित्र हो- परदेशी । यो चलचित्रको व्यापार हेर्ने हो भने पनि निर्माताको हातमा दुई करोड रुपैयाँभन्दा बढी रकम परेको देखिन्छ । हुन त, नेपालमा बक्स अफिस नहुँदा निर्माता र वितरककै भर पर्नुपर्ने हुन्छ । तर, नारायण रायमाझी निर्देशित तथा राजेश वंशल निर्मित यो चलचित्रले वर्षको सर्वाधिक कमाउने चलचित्र बनेको छ ।
kabaddi-kabaddi
३) कबड्डी कबड्डी
रामबाबु गुरुङको निर्देशनमा बनेको सफल चलचित्र ‘कबड्डी’को सिक्वेल ‘कबड्डी कबड्डी’ पनि सफल रह्यो । ११ मंसिरबाट रिलिज भएको यो चलचित्रले मल्टिप्लेक्सबाट राम्रो कमाई गर्‍यो । यो चलचित्रबाट पनि निर्माताले दुई करोड रुपैयाँभन्दा बढी रकम गोजीमा पारेको बताइन्छ । साथमा चलचित्रले ओभरसिज मार्केटबाट पनि लोभलाग्दो कमाई गर्‍यो ।
Hostel-returns-poster
४) होस्टेल रिटन्र्स
सुरज भुसाल निर्देशित तथा सुनिल रावलले निर्माण गरेको चलचित्र होस्टेल रिटन्र्सले पनि नेपालबाट राम्रै कमाई गरेको छ । ४ भदौबाट रिलिज भएको यो चलचित्रबाट निर्मातालाई नाफा भएको छ । २ करोडमाथिको ग्रस कलेक्सन गरेको यो चलचित्र ‘होस्टेल’को सिरिजको रुपमा आएको थियो ।
binay and menuka
५) रेशम फिलिली
यो वर्ष प्रदर्शनमा आएर सफल भएको अर्को चलचित्र हो- रेशम फिलिली । विशेषगरी, ‘जालमा’ बोलको गीतकै कारण ११ वैशाखमा प्रदर्शनकै दिन यसले ७१ लाखको ग्रस कलेक्सन गरेको थियो । तर, १२ वैशाखमा भूकम्प आएपछि यसको प्रदर्शन रोकियो । तर, ११ भदौमा पुनः प्रदर्शन गरिएको चलचित्रले अपेक्षित व्यापार त गरेन, तर निर्मातालाई घाटा हुनबाट भने बचायो ।
deepa-dipak-and-nirmal
६) वडा नम्बर ६
यो वर्ष कमाई गरेर निर्माताको झोली भरिदिने अर्को चलचित्र बन्यो- वडा नम्बर ६ । दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले बनाएको यो चलचित्रले पनि २ करोडमाथिको ग्रस कलेक्सन गर्‍यो । माओवादी जनयुद्धको कथालाई फरक शैलीमा प्रस्तुत गरिएको यो चलचित्रको व्यापारबाट दंग दीपा र दीपकको टिम अहिले नयाँ चलचित्र निर्माणमा व्यस्त छन् ।
barsha-khagendra-and-dipendra
७) पशुपति प्रसाद
यो वर्ष कमाईमा अर्को फड्को मारेको चलचित्र हो- पशुपति प्रसाद । विशेषगरी, कथावस्तुका कारण दोस्रो हप्ताबाट चम्किएको यो चलचित्र पाँचौँ हप्तासम्म मल्टिप्लेक्समा चम्कियो । चलचित्रको विषयवस्तुलाई दर्शकले सर्वाधिक रुचाएको पाइयो । चलचित्रको ग्रस कलेक्सन २ करोड रुपैयाँभन्दा माथि छ ।
pal aachal and barsha
८) नाइँ नभन्नु ल ४
हाल प्रदर्शन भइरहेको चलचित्र ‘नाइँ नभन्नु ल ४’ को व्यापार पनि यो वर्ष राम्रो कोटीमा दर्जिएको छ । प्रदर्शन भएको ४ दिनमै करोड क्लबमा प्रवेश गरिसकेको यो चलचित्रले भोलि नयाँ वर्षको बिदाको दिन अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । विकास आचार्य निर्देशित चलचित्रले मल्टिप्लेक्समा राम्रो व्यापार गरिरहेको बुझिएको छ ।
rekha & aawas (1)
९) रामप्यारी
यो वर्ष प्रदर्शनमा आएर कमाई गरिरहेको चलचित्र हो, नायिका रेखा थापाको- रामप्यारी । शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रको यकिन हिसाब आउन अझै केही दिन लाग्नेछ । तर, दर्शकको फ्लो उच्च रहेकाले पनि रामप्यारी यो वर्ष चलेको अर्को सफल चलचित्रमा गनिएको छ ।

यीबाहेक नायक निखिल उप्रेतीले अभिनय गरेका २ चलचित्र ‘भैरव र लुटेरा’ पनि यो वर्ष सफल रहे । चलचित्रले लगानी उठाएको दाबी निर्माता र वितरकको छ । यस्तै, यसै वर्ष रिलिज भएका ‘क्लासिक र प्रेमगीत’ले राम्रो कमाई त गरे तर दोहोरो भिडन्तका कारण यी दुईका निर्माताले पैसा कमाउन भने सकेनन् । ६७ वटा चलचित्र रिलिज हुँदा करिब ९ वटा चलचित्रको लगानी स्पष्ट रुपमा उठेर निर्माताले कमाई गरेको देखिएको छ भने केही चलचित्रले निर्मातालाई जोगाएका पनि छन् । बाँकी चलचित्र भने लगानी उठाउन असफल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?