Comments Add Comment

विदेशबाट ल्याएका मोबाइल बोक्नु हुन्छ ? दर्ता गर्नुस्, नत्र ब्लक होला

Mobile-block

१ वैशाख, काठमाडौं । विदेशबाट ल्याएको मोबाइल सेट चलाउँदै हुनुहुन्छ ? अब त्यसलाई दर्ता गर्न तयार हुनुस् । नत्र तपाईंको फोनले काम गर्नेछैन ।

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध तथा गैह्रकानुनी रुपमा भित्रिएका मोबाइल फोनलाई व्यवस्थित गर्न नयाँ निर्देशिका लागु गरेको छ । निर्देशिकाअनुसार अब अनिवार्य रुपमा सबै मोबाइल सेटहरु सरकारी निकायमा दर्ता गर्नुपर्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणमा मोबाइल सेटको आइएमइआई नम्बर दर्ता नगरे कात्तिकदेखि तपाईंको मोबाइल ‘ब्लक’ हुन्छ ।

‘अब भन्सार नतिरी भित्रिएका र विदेशमा किनेर ल्याइएका मोबाइलको आइएमइआई नम्बर दर्ता नगरिएका मोबाइलले नेपालमा काम नै गर्ने छैनन्,’ नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले अनलाइनखबरलाई भने ।

कसरी थाहा पाउने आइएमइआई नम्बर ?

how-to-find-IMEI-Number-of-आइएमइआई नम्बर मोबाइलको पहिचान हो जुन *#06# थिच्यो भने देखिन्छ ।

सामान्य खालको मोबाइलमा ब्याट्रि निकालेपछि र आइफोनमा सेटिङ भित्र गएर पनि आइएमइआई नम्बर  हेर्न सकिन्छ ।

अब मोबाइल आयातकर्ताले आफूले वैध रुपमा बेच्न ल्याएका मोबाइलको आइएमइआई नम्बर समेत सरकारलाई बुझाउनुपर्ने छ । नेपालमा किनिएका मोबाइलको भने आइएमइआई दर्ता गर्नुपर्ने छैन ।

आजबाट दर्ता सुरु

दूरसञ्चार प्राधिकरणले आयातित मोबाइलको आइएमइआई नम्बर मोबाइल सेवा प्रदायकहरुलाई दिने सहप्रवक्ता मिश्रले बताए । गैरकानुनी रुपमा भित्रिएका मोबाइल फोनले विभिन्न समस्या भएपछि प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । अब अबैध तरिकाले भित्रिएका मोबाइल फोन दर्ता हुनेछैनन् र नेपालमा काम पनि गर्ने छैनन् ।

प्राधिकरणका अनुसार आजदेखि सबैखाले मोबाइलको युनिक आइडेन्टिटी रजिष्ट्रिको काम सुरु भएको छ । योसँगै अवैध आइएमइआई नम्बर भएका मोवाइलको ट्रयाकिङ पनि सुरु भएको छ ।

कत्तिकदेखि प्राधिकरणले मोबाइल ट्रयाकिङ सिस्टमलाई फूल अपरेसनमा लैजाने बताएको छ । कात्तिकदेखि आइएमइआई नम्बर फर्जी भएका मोबाइललाई ब्लक गरिनेछ ।

विदेशबाट ल्याएकालाई के गर्ने ?

अब विदेशबाट आएको मोबाइलको आइएमइआई नम्बर अनिवार्य रुपमा दर्ता गराउनुपर्नेछ । यस्ता विदेशबाट आएका मोबाइलमा अब सेवा प्रदायक मोबाइल कम्पनीले दर्ताका लागि एसएमएस पठाउनेछन् ।

त्यसपछि आफ्नो मोबाइलको आइएमइआई नेपाल दूरसञ्चार प्राधिकरणमा गएर दर्ता गराउनुपर्नेछ । मोबाइलको यस्तो नम्बर दर्ता नभए विदेशबाट आएका मोवाइल ब्लक हुनेछन् । नेपालमा किनिएका मोबाइलको भने आइएमइआई दर्ता गर्नुपर्दैन । अब आफ्ना मोबाइल हराएमा त्यसलाई नचल्ने बनाउन पनि सकिनेछ ।

मोवाइल हराएपछि त्यसका विवरण राखेर दूरसञ्चार प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । यसो गरेपछि हराएको मोबाइल चल्ने छैन । आइएइआई नम्बरका आधारमा ति मोबाइल ब्लक हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment