Comments Add Comment

मरिसकेका भनेका मान्छे घर फर्केपछि …..

८ वैशाख, जाजरकोट । कार्कीगाउँ–२ साल्मका मन्दिर रोकायको परिवारलाई उनी जीवितै छन् होला भन्ने लागेको थिएन । १५ वर्षअघि घरबाट बेपत्ता भएका रोकायको मरेको र जिउँदो केही खबर थिएन ।

कतिले मरिसकेको हल्ला गरे, कतिले अर्को बिहे गरेर कतै बसेको हुनसक्ने आशङ्का गरे, कतिले माओवादीमा लागेको अनुमान पनि गरे । तर उनका विषयमा कतैबाट आधिकारिक खबर भने आएन । १५ वर्षसम्म पनि घर नफर्किएपछि परिवारलाई समेत मन्दिर जीवितै होलान् भन्ने कुरामा शङ्का थियो ।

उनको परिवार परम्पराअनुसार काजक्रिया गर्ने तयारीमा थियो । तर, यही बेला रोकाय घर फर्किएका छन् । मरिसकेको भनेर हल्ला गरिएका व्यक्ति घर आएपछि रोकायको परिवार मात्र होइन गाउँलेसमेत अचम्ममा परेका छन् ।

अहिले रोकायको घरमा उनलाई भेट्नेको भीड लागेको स्थानीय पूर्ण महताराले जानकारी दिए । रोकायलाई गाउँलेले फूलमाला, अबिर लगाएर स्वागत गरेको महताराले बताए ।

२०५८ साल जेठ २६ गते श्रीमतीसँग सामान्य घरायसी विवाद भएपछि रोकाय घर छोडेर हिडेका थिए । त्यतिबेला श्रीमती भद्री रोकायले उनी माओवादीमा लागेको अनुमान गरेकी थिइन् । तर, माओवादीमा लागेका अन्य छिमेकी बेलाबेला घर आउने जाने गरिरहँदा रोकाय नआएपछि श्रीमती भद्रीको मनमा पनि चिसो पसेको थियो । “सोचेँ, पुलिसले मार्यो होला, अब जीवितै भेट्ने आशा छैन” उनले भनिन् ।

रोकायले घर छोड्दा चार वर्षीय नाबालक छोरा दीपक श्रीमती भद्रीको साथमा थिए । अहिले उनी १९ वर्षका भए र बिहेसमेत गरेका छन् । दुई छोरा र तीन छोरीका बाउ रोकायका सबै सन्तानले बिहे गरिसकेका छन् । उनीहरुबाट पाँच नातीनातिना छन् । “बा कस्तो हुनुहुन्थ्यो भन्ने मलाई केही यादै थिएन,जब घर आउनुभयो मैले चिन्दै चिनिन”, छोरा दीपकले भने ।

मन्दिरलाई भारतमा भेटेको कमाई गर्न गएका छिमेकीले उनको घरमा खबर पुर्याउने गर्थे । तर, उनी नफर्किंदासम्म परिवारलाई विश्वास लागेको थिएन ।

घर छोडेर आफूले गल्ती गरेको रोकायको भनाइ छ । अब बाँचुन्जेल घरपरिवारसँगै बस्ने उनको चाहना छ । “सानो कुराले घर नछोड्नुपर्नेथ्यो, बहुत गल्ती गरियो”, रोकायले भने, “जवानी पनि त्यसै खेर गयो, अब मरुन्जेल कतै जान्न ।” घर छोड्दा रोकायको उमेर ३८ वर्ष थियो । १५ वर्षको अवधिमा भारतका विभिन्न सहरमा मजदुरी गरेको रोकायले बताए ।

गढवाल, दिल्ली, चन्डिगढ, किन्नौर, सिम्ला लगायतका सहरमा मजदुरी गरेको उनले बताए । “कमाउन केही सकिएन, अलिअलि कमाएको पैसा डुल्दैमा सकियो”, रोकाय भन्छन् । श्रीमती भद्रीका अनुसार गाउँमा हुँदा पनि रोकाय जाँड खाने र जुवातास खेल्ने गर्थे । त्यही विषयमा सामान्य ठाकठुक परेपछि रोकायले घर छोडेर हिँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment