Comments Add Comment

सराङकोटमा खुल्दैछ केबलकारसहित बिलासी होटल

होटल र केबलकारमा जापानी मूलका नेपालीको लगानी

Annapurna-View-Point-Hotel (2)

१० वैशाख, पोखरा । नेपालमा पहिलोपटक केबलकारसहितको लक्जरी होटल सञ्चालनमा आउने भएको छ । जापानी मूलका नेपाली नागरिक ताकाशी मियाहाराले पोखराको सराङकोट डाँडामा दुई अर्ब रुपैयाँ लगानी गरेर होटल र केबलकार बनाइरहेका छन् ।

यही अक्टुबरबाट सञ्चालन गर्ने गरी मियाहाराको कम्पनीले ‘होटल हिमालयन भ्यू’ को निर्माण कार्य धमाधम गरिरहेको छ ।

होटल संचालन भएपछि पर्यटकहरु फेवाताल छेउँको सेतीडाडाँबाट केवलकार चढेर सराङकोटको बिलासी होटलमा जान पाउनेछन् । ६ महिनाभित्र होटल संचालन भए पनि केवलकार संचालका लागि अझै एक बर्ष लाग्ने परियोजना प्रमुख देवेन्द्रप्रसाद भारतीले अनलाइनखबरलाई बताए ।

होटलमा करीव एक अर्ब ३० करोड रुपैयाँ लगानी हुँदैछ । केवलकारका लागि छुट्टै ८० करोड रुपैयाँ लगानी गरिने भारतीले बताए । ९ तले भवनको स्ट्रक्चर तयार भइसकेको छ । बाँकी काम पनि रफ्तारमा भइरहेको उनको भनाइ छ ।

फेवाताल किनार पामेको सेती डाँडादेखि होटलसम्म केवलकार सञ्चालन गरिने बताइएको छ । ‘केवलकारले ओगट्ने जग्गा हामीले किनिसकेका छौं’ भारतीले अनलाइनखबरसँग भने- ‘जापानको मिप्पल कम्पनीले केवलकारका सामाग्री तयार गरिरहेको छ ।’

एक महिनाभित्र केवलकारका सामानहरु नेपाल आउने र निर्माण कार्य सुरु हुने भारतीले जानकारी गराए । केवलकार सहित सञ्चालनमा आएपछि होटल हिमालय भ्यू नेपालकै आकर्षक र विलासी होटल बन्ने उनको दावी छ ।

Annapurna-View-Point-Hotel (1)

सराङकोटको डाँडोमा ४७ रोपनी क्षेत्रफलमा होटल फैलिने छ । यो होटल बाटोबाट हेर्दा ९ तला र डाँडोबाट हेर्दा २ तलाको देखिन्छ । होटलमा पहिलो चरणमा ४२ रुमहरु बनाइने छ । जसमध्ये २४ वटा डिलक्स रुम, १२ वटा स्वीट रुम र ६ वटा स्टान्डर्ड रुम हुनेछन् ।

मियाहाराले यो होटलमा ११० रुम पुर्‍याउने लक्ष्य राखेका छन् । दोस्रो चरणको निर्माणमा भिल्लाहरु र स्वीमिङ पुल बनाइने छ । होटल पाँचतारे स्तरको हुनेछ । यसका लागि आवश्यक सबै सुविधाहरु होटलमा उपलब्ध गराउने भारतीले बताए ।

होटलमा दुईवटा रेष्टुरेन्ट, एउटा कफी सप र २५० जना क्षमताको कन्फ्रेन्स हल निर्माण गरिनेछ । खर्चालु पर्यटकलाई लक्षित गरिएको हुँदा होटलमा रुमको रेटहरु अलि उच्च नै हुनेछ । होटलमा न्यूनतम डिलक्स रुमको २ सय अमेरिकी डलर र स्वीट रुमका ४ सय अमेरिकी डलर पर्ने छ ।

होटलबाट सुन्दर पोखरा सहर र फेवाताल पूरै देख्न सकिन्छ । यसका साथै आँखै अगाडि सेता हिमालहरु पनि देख्न पाइन्छ । होटलबाट अनुपम प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न सकिने भारतीले बताए ।

यो होटलका मुख्य लक्षित ग्राहक विदेशी खर्चालु पर्यटक नै हुन् । ‘हाम्रो होटलमा जापानी र युरोपियन पर्यटक बढी आउनेछन्, भारतीले भने- ‘हाम्रो लक्ष्य हो, पोखरामा गुणस्तरीय पर्यटक भित्र्याउने ।’

के हुँदैछ केवलकार ?

होटलमा केवलकार सञ्चालन गर्नका लागि अन्नपूर्ण केबलकार प्रालि दर्ता गरिएको छ । केवलकार बनाउनका लागि आवश्यक जग्गा खरिद गरिसकेको भारतीले जानकारी गराए । केवलकारका टावरहरु पर्ने वन क्षेत्रको जग्गा प्राप्ति गर्ने प्रकृया चलिरहेको छ । अन्यत्र जग्गा खरिद गरेर वनलाई हस्तान्तरण गरी वन क्षेत्रमा पर्ने जग्गा आफूहरुले लिन लागेको उनले बताए ।

cablecar

भारतीका अनुसार केवलकारका १५ वटा टावर हुनेछन् । त्यस्तै, मानिस आवात-जावत गर्नका लागि १२/१३ वटा बक्सहरु राखिने छ । भारतीकाअनुसार ५/६ वटा पोलहरु वनमा पर्नेछन् भने बाँकी निजी जग्गामा पर्नेछन् । वनलाई जग्गा खोजिदिने र निजी व्यक्तिको जग्गा प्राप्ति गर्ने काम अन्तिम चरणमा पुगेको उनले सुनाए ।

फेवातालको किनारबाट केवलकार मार्फत् करिव ५ मिनेटमै होटल पुग्न सकिने छ । केवलकारले होटलमा आउने पाहुनाहरु, स्वदेशी विदेशी पर्यटक र स्थानीयलाई सेवा दिने भारतीले बताए । तर, रेट भने सबैको फरक-फरक हुनेछ । स्थानीयका लागि कम शुल्कमा केवलकार चढ्ने सुविधा दिन लागेको उनको भनाइ छ ।

वाषिर्क करिव ४ लाख जनालाई सेवा दिने बताइएको केवलकार २०१७ बाट सञ्चालनमा आउने उनले जनाकारी दिए । ‘अहिले जापानमा केवलकारका सामानहरु बनिरहेका छन्, एक महिनाभित्र उक्त सामानहरु नेपाल आउन थाल्नेछन्’ भारतीले भने- ‘त्यसलगत्तै केवलकार निर्माण कार्य पनि सुरु गरिहाल्छौं ।’

को हुन् मियाहारा ?

ताकाशी मियाहारा जापानी मूलका नेपाली नागरिक हुन् । सन् १९६२ सालमा २८ वर्षको उमेरमा नेपाल प्रवेश गरेका उनले सन् २००६ सालमा जापानी नागरिकता त्यागेर नेपाली नागरिकता लिएका छन् ।

Annapurna-View-Point-Hotel (1)

नेपालको प्राकृतिक सौन्दर्य र हिमालको मोहमा परेका मियाहाराले नेपाली युवतीसँग विवाह गरी नेपालमै पर्यटन व्यवसाय सुरु गरे । उनले ४६ वर्षअघि सोलुखुम्बुको स्याङबोचेमा होटल एभरेष्ट भ्यू सञ्चालनमा ल्याए । यो होटल ३८८० मिटर उचाइमा छ ।

त्यसपछि मियाहाराले ललितपुरको कुपण्डोलमा चारतारे हिमालय होटल सञ्चालन गरे । यो होटल उनले बेचिसकेका छन् । पर्यटन व्यवसायमा लागेका उनले पहिलो संविधानसभा अगाडि नेपाल राष्ट्रिय विकास पार्टी दर्ता गरे । यो पार्टीले पहिलो र दोस्रो संविधानसभामा भाग लिएको थियो ।

यो पार्टीका अध्यक्ष मियाहारा हुन् भने महासचिव देबेन्द्रप्रसाद भारती हुन् । ‘अहिले पनि हाम्रो पार्टी जिवित नै छ, भोलि होटलको काम सकिएपछि संगठन विस्तारमा लाग्ने हाम्रो योजना छ’ भारतीले भने- ‘मियाहारा राजनीति मार्फत समाजसेवा गर्न इच्छुक हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment