Comments Add Comment

बाबुरामको नयाँ प्रस्तावः सरकार प्रमुख आलोपालो हुनुपर्छ

संविधानका बाँकी मुद्दा संशोधन मार्फत समाधान हुनुपर्ने

Baburam-bhattrai

११ वैशाख, काठमाडौं । नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनमार्फत संविधानका बाँकी मुद्दाहरु समाधान गरिनुपर्ने बताएका छन् । कार्यकारी निर्वाचित सरकार प्रमुख रहने संवैधानिक व्यवस्था गरेर त्यसमा आलोपालो प्रणाली अपनाइनुपर्ने डा. भट्टराईको प्रस्ताव छ ।

तराई मधेसका विभिन्न जिल्लाको भ्रमण गर्ने क्रममा डा. भट्टराईले जनस्तरबाटै यस्तो प्रस्ताव अघि सारेका हुन् । नेपालमा जनजाति, मधेसी र खस-आर्य तीनवटा क्लष्टरहरु मिलेर अघि बढ्नुपर्ने बताउँदै आएका भट्टराईले सरकार सञ्चालनमा आलोपालो प्रणाली अपनाइनुपर्ने बताए ।

मधेसमा भाषण गर्ने क्रममा डा. भट्टराईले सरकार प्रमुृख प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने बताउँदै एक कार्यकाल एउटा जातीय समुदायको मानिस सरकार प्रमुख बनेमा अर्को कार्यकाल अर्कै समदायबाट बनाइनुपर्ने बताए । यसो गर्दा नयाँ ढंगको राष्ट्रिय एकीकरण हुने उनको तर्क छ । डा. भट्टराईले मधेसका विभिन्न सभाहरुमा यस्तो बताएका छन् ।

भट्टराई नेतृत्वको नयाँशक्तिले तीनवटा जातीय क्लष्टरलाई मिलाएर राष्ट्रिय पार्टी निर्माण गरिने यसअघि नै बताइसकेको छ ।

यसैवीच डा. भट्टराईले संविधान संशोधन हुँदा संसदको चुनाव पूर्ण समानुपातिक निर्वाचन प्रणाली अनुसार गर्ने र सरकार प्रमुखको चुनाव प्रत्यक्ष प्रणालीबाट गर्दा राम्रो हुने तर्क अघि सारेका छन् । संसदको चुनाव पूर्ण समानुपातिक बनाउँदा आर्थिक चलखेल नहुने र विकृति कम हुने भट्टराईको तर्क छ ।

संविधानका बाँकी मुद्दा समाधान हुनुपर्ने

डा. भट्टराईले मधेसका विभिन्न जिल्लामा आयोजित कार्यक्रमहरुमा संविधानलाई संशोधन गरेर हल हुन बाँकी रहेका मुद्दाहरु समाधान गरिनुपर्ने र मुलुकलाई सम्वृद्धितर्फ अघि बढाउनुपर्ने बताएका छन् ।

मधेसमा सिके राउत लगायतले विखण्डनको कुरा गरिरहेका बेला नयाँ शक्तिको बेग्लै अभियान लिएर पुगेका डा. भट्टराईले नेपाल निर्माणमा मधेसीहरुको ऐतिहासिक योगदान रहेको तर्क गरे । अब नयाँ नेपाल बनाउन मधेसी, जनजाति र खस-आर्यहरु मिल्नुपर्ने डा. भट्टराईले तर्क गरे ।

पहिचानले मात्रै पेट भरिन्न, सम्वृद्धि पनि चाहिन्छ

मधेसका सभाहरुलाई सम्बोधन गर्नेक्रममा डा. भट्टराईले पहिचान र सामथ्र्यको मात्रै कुरा गरेर पेट नभरिने भन्दै पहिचानका साथै आर्थिक सम्वृद्धिमा पनि जोड दिनुपर्ने बताएका थिए । पिछडिएको समुदायलाई पहिचान आवश्यक रहेको बताउँदै डा. भट्टराईले उनीहरुलाई आर्थिक रुपमा सम्वृद्ध बनाउनुपर्ने तर्क गरे ।

डा. भट्टराईले सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सर्लाही, पर्सा र चितवन लगायतका जिल्लामा नयाँ शक्तिको अभियान चलाएका थिए । उनी शुक्रबार राजधानी फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment