+
+
Shares

बाबुरामको प्रश्न- मैले स्वदेशी जुत्ता र अल्लोको कोट रोजेँ, तपाईं स्वदेशी स्याउ रोज्न सक्नुहुन्न ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते ९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जुम्लाको अर्गानिक स्याउको स्वादपछि स्वदेशी उत्पादन प्रयोग गर्न र अर्थनीतिमा आमूल परिवर्तन गर्न आग्रह गरेका छन्।
  • उनले गत वर्ष नेपालले करिब चार खर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरेको र फलफूल आयात २१ अर्ब रुपैयाँ पुगेको तथ्यांक प्रस्तुत गरेका छन्।
  • भट्टराईले आफू प्रधानमन्त्री हुँदा स्वदेशी जुत्ता र अल्लोको कोट–पाइन्ट प्रयोग गर्ने अठोट निरन्तर पालना गर्दै आएको उल्लेख गरेका छन्।

२६ भदौ, काठमाडौं । कर्णालीको चिसो हावापानीमा फलेको जुम्लाको अर्गानिक स्याउको स्वाद चाख्दै गर्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन भने नेपालको तीतो आर्थिक यथार्थले बिथोलिएको छ।

हातमा जुम्लाको रसिलो स्याउ, तर दिमागमा खाडीको ५० डिग्रीको रापमा पसिना बगाइरहेका लाखौँ नेपाली युवा र तिनै युवाले पठाएको रेमिट्यान्सबाट भित्रिने विदेशी स्याउको तथ्यांक घुमेपछि उनले सामाजिक सञ्जालमार्फत एउटा गम्भीर र भावुक अपिल गरेका छन्।

जुम्लास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ऋषिराम पाण्डेले पठाएको अर्गानिक स्याउको स्वाद लिएपछि डा. भट्टराईले शुक्रबार देशको परनिर्भर अर्थतन्त्रको तथ्यांकसहित आम नागरिकलाई स्वदेशी उत्पादन प्रयोगको संकल्प गर्न आग्रह गरेका हुन्।

‘खाडीको पसिनाले विदेशी स्याउ किन्ने विडम्बना’

डा. भट्टराईले प्रस्तुत गरेको तथ्यांकले जो–कसैको मन चसक्क बनाउँछ। गत वर्ष मात्रै नेपालले करिब चार खर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरेको थियो। उनका अनुसार, त्यसमध्ये फलफूल मात्रै २१ अर्ब रुपैयाँको भित्रियो भने फलफूलमा सबैभन्दा ठूलो हिस्सा स्याउको रह्यो- १० अर्ब ५५ करोड रुपैयाँ।

एकातिर जुम्ला, हुम्ला, मुस्ताङ र मनाङका किसानले उत्पादन गरेको अर्गानिक स्याउले बजार, ढुवानी र मूल्य नपाएर बारीमै कुहिने अवस्था छ भने अर्कोतिर नेपालीकै पसिनाको कमाइबाट अर्बौँको विदेशी स्याउ भित्रिइरहेको छ।

‘हाम्रै छोराछोरीले खाडीको गर्मीमा पसिना बेचेर पठाएको रेमिट्यान्स खर्चेर हामी विदेशी स्याउ भित्र्याइरहेका छौँ,’ डा. भट्टराई लेख्छन्, ‘अब साँच्चै हाम्रा युवाहरूले देशलाई समृद्ध बनाउने हो भने राजनीतिसँगसँगै अर्थनीतिमा पनि आमूल परिवर्तन गर्नैपर्छ।’

आफ्नो भनाइलाई उपदेशमा मात्र सीमित नराखी डा. भट्टराईले व्यक्तिगत जीवनशैलीको रोचक सन्दर्भसमेत जोडेका छन्। आफू प्रधानमन्त्री भएकै बेलादेखि स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यक्तिगत अभियान सुरु गरेको उनले स्मरण गराए।

‘मैले त प्रम रहेकै बेलादेखि कमसेकम जुत्ता चाहिँ स्वदेशमै उत्पादित मात्रै प्रयोग गर्ने अठोट गरेर निरन्तर पालना गर्दै आएको छु,’ उनले आफ्नो प्रयास बारे उल्लेख गरेका छन्, ‘पछि स्वदेशमै बनेको अल्लोको कोट–पाइन्ट मात्रै औपचारिक कार्यक्रममा लगाउने अठोटसहित पालना गरिरहेको छु। अरू पनि थप्दै जानेछु।’

नेताहरूले नीति बनाउने तर आफैँ विदेशी विलासितामा रमाउने प्रवृत्तिको विपरीत डा. भट्टराईले नेतृत्व तहबाटै व्यवहार परिवर्तन हुनुपर्ने सन्देश दिएका छन्।

‘कमसेकम नेपाली स्याउ मात्रै किने कसो होला ?’

अब देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन राज्यले खाद्यवस्तु र ऊर्जामा विशेष नीति लिनुपर्ने र नागरिकले पनि स्वेच्छिक रूपमा स्वदेशी उत्पादन मात्र उपभोग गर्ने वृहत् राष्ट्रिय अभियान चलाउनुपर्ने उनको प्रस्ताव छ।

‘हामी सबैले कमसेकम किनेर खाँदा स्वदेशी स्याउ मात्रै किन्ने गरे कसो होला ?’ डा. भट्टराईले नागरिकलाई प्रश्न गरेका छन्। उनले राजधानीवासीका लागि जानकारी दिँदै काठमाडौंको भद्रकालीमा जुम्लाको स्याउको आधिकारिक वितरण केन्द्र रहेको उल्लेख गर्दै आफ्नै देशका किसानको पसिनाको कदर गर्न सबैलाई प्रेरित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?