Comments Add Comment

डडेल्धुरा सदरमुकाममा लागेको आगो नियन्त्रणमा

आगो निभाउँदा ३ सुरक्षाकर्मी घाइते

Fire,-File-Photo
फाइल तस्वीर

१७ वैशाख, डडेल्धुरा। डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारमा आज बिहान लागेको आगोले दुई पसल पूर्णतया नष्ट भएको छ । सदरमुकाम बागबजारमा बिहान करिब ७ बजेदेखि लागेको आगो अहिले पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

बागबजारस्थित मदन प्रकाश किराना पसल र बैजनाथ कपास उद्योग आगलागीबाट पूर्ण क्षति भएका छन् भने अन्य डेढ दर्जन पसलमा समेत क्षति भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आगलागी नियन्त्रणका औजार नहुँदा समस्या

आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली आगलागी भएको केही समयभित्रै घटनास्थल पुगेपनि आवश्यक आगलागी नियन्त्रणका औजार नहुँदा आगो नियन्त्रणमा समस्या आएको हो । जिल्लामा रहेको एक मात्र नगरपालिकाको बारुणयन्त्र मर्मतका लागि जिल्ला बाहिर रहेकाले आगो नियन्त्रणमा समस्या भएको सर्वसाधारणको भनाइ छ ।

नगरपालिकाको दमकल आएन, तीन सुरक्षाकर्मी घाइते

आगलागी नियन्त्रणका क्रममा तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । सदरमुकाममै आगलागी भएपनि अमरगढी नगरपालिकाको दमकल आगलागी नियन्त्रणका लागि नआएको स्थानीय व्यापारी बताउँछन् ।

समयमै नगरपालिकाको दमकल नआउँदा आगलागीबाट वढी क्षति भएको स्थानीय व्यापारीको गुनासो छ । आगो नियन्त्रणमा लिन डोजरको प्रयोग गरिएको थियो भने स्थानीय सर्वसाधारणले सहयोग गरेका थिए । आगलागी दुई घन्टापछि मात्रै नियन्त्रणमा आएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment