
१७ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य पार्टी एकतामा नआउने निष्कर्ष निकालेको छ । अब महासचिव रामबहादुर थापा ‘बादल’को टिमलाई एकता प्रक्रियामा ल्याउने उसले बताएको छ ।
प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकमा पार्टी एकता प्रयासबारे समिक्षा भएको थियो । बैठकले वैद्य एकतामा नआउने निष्कर्ष निकालेको छ । अब बादलको टीमसँग एकता अघि बढाउने एक नेताले बताए । उनले भने, ‘वैद्य एकतामा नआउने भए । अब बादलको टिम आउँछन् ।’
वैद्य माओवादीमा पार्टी एकताबारे सहमति जुट्न सकेको छैन । बादलसहितको बहुमत केन्द्रीय सदस्य एकताको पक्षमा उभिएपछि नेतृत्वले केन्द्रीय समिति बैठक नै स्थगित गरेको छ ।
अझै वैद्यलाई मनाउन सकिन्छ कि भनेर बादल समूहले प्रयास गरिरहेको छ । तर, वैद्य तयार नभए बादल समूहले बहुमतले निर्णय गरेर पार्टी एकतामा जाने सम्भावना छ ।
स्रोतका अनुसार एमाओवादी बैठकमा पार्टी एकतापछि बादलको जिम्मेवारीबारे पनि छलफल भएको छ । बादललाई पार्टीमा तेस्रो बरियता दिने समझदारी भएको छ । प्रचण्डपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहनेछन् । त्यसपछि बादल रहने बताइपनि पद भने खुलेको छैन ।
पार्टी फुटअघि बादल एमाओवादीमा महासचिव थिए । मोहन वैद्य किरणको नेतृत्वमा पार्टी फुटाएपछि पनि उनी वैद्य माओवादीमा पनि महासचिव नै रहे ।
स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव कृष्णबहादुर महराले भने, हिजो विभाजित माओवादी शक्तिहरुसँग छलफललाई तीव्रता दिने निर्णय भएको छ ।’
माओवादी पार्टी एक हुन्छः श्रेष्ठ
यसैबीच एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वैद्य समूहसँग पार्टी एकीकरण छिट्टै हुने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ ललितपुरको दोस्रो सम्मेलनमा उनले दुई पार्टी एकीकरणका लागि पार्टीभित्र अन्तिम तयारी भइरहेको बताउनुभएको हो ।
यसबाहेक माओवादीबाट फुटेर गएका नेत्रविक्रम चन्द तथा मातृका यादवले नेतृत्व गरिरहेको माओवादी पार्टीसँगसमेत पार्टी एकीकरणमा ल्याउने पहल भइरहेको उनले बताए ।
प्रतिक्रिया 4