Comments Add Comment

डढेलो बस्ती पसेपछि भूकम्पपीडितका टहरा जले

१८ वैशाख, गोरखा । जङ्गलबाट फैलिएको डढेलो बस्ती पसेपछि गोरखाको सौरपानी गाविस–२ भैलाम गाउँका पाँचवटा घर जलेर नष्ट भएका छन् ।

सोलिघोप्टेको खर्क सामुदायिक वनमा दिनभर लागेको आगो शनिबार अपराह्न बस्ती पुगेपछि भूकम्पपीडितका पाँचवटा टहरा जलेको छ । अरु पाँचवटा टहरोमा पनि आगोले सामान्य क्षति पुगेको छ । स्थानीयवासी र प्रहरी मिलेर आगो निभाउने काम भएको भइरहेको बताउँदै स्थानीय लक्ष्मण न्यौपानेले टेलिफोनमा भने– “आगोले घर खरानी बनायो ।”

हरिया स्याउला र माटोले आगो निभाउने प्रयास गरे पनि नसकिएको उनको भनाइ छ । गाउँमा पानी अभाव भएकाले पनि तत्कालै आगो नियन्त्रणमा लिन नसकिएको हो ।

घर, गोठ जल्न सुरु भएपछि मानिस र घरपालुवा पशुपक्षीलाई सुरक्षित ठाउँमा सारिएको उनले बताए । भूकम्पले भत्किएको घरलाई टालटुल गरेर टहरो बनाएका थियौँ” उनले भने –“गाउँलेको बिल्लीबाठ भयो । के खाने, के लगाउने ?”

जङ्गलमा फैलिएको डढेलो बस्ती पसेको गाउँलेले ढिला गरी थाह पाएका थिए । आगलागीले जस्तापाताले छाएको टहरो खरानी बनाएको छ । भूकम्पले चर्केका घर मर्मत गरेर भूकम्पपीडित बस्दै आएका थिए । स्थानीयवासी मकै गोड्न बारीमा गएका बेला डढेलो बस्तीमा पसेकाले धेरै क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले आगो निभाउन प्रहरी टोली परिचालन गरिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment