+
+
Shares

एम्फेटामाइनका कारोवारीको टोखामा आलिसान महल

कारोबार गर्न थाइल्याण्डमा अर्की श्रीमती

रमेश धमला  रमेश धमला
२०७३ वैशाख २१ गते १९:२३

ghar

२१ वैशाख, काठमाडौं । महंगो लागू औषध एम्फेटामाइनको अन्तर्राष्ट्रिय कारोवारमा संलग्न धादिङका पूर्ण पाख्रिनको काठमाडाैंमा आलिसान घर भएको पाइएको छ । एक वर्षअघि २ करोड १० लाखमा सो घर किनेको पूर्णकी श्रीमतीले प्रहरीलाई बयान दिएकी छिन् ।

गत वैशाख २ गते एम्फेटामाइनसहित सतेदेवीका नेत्र गुरुङ र चित्र तामाङ पक्राउ परेका थिए । उनीहरुबाट यो धन्दा नेपालमा पूर्ण पाख्रिन र थाइल्यान्डमा उनका दाजु धर्म पाख्रिनले चलाइरहेको खुलेको थियो । पूर्णलाई पक्राउ गरेपछि प्रहरीले श्रीमतीलाई पनि लागुऔषध ब्युरोमा बोलाएर बयान लिएको छ ।

१५ वर्षअगाडि विवाह गरेका पूर्ण श्रीमतीलाई गाउँमै छोडेर स्पेन जाने भन्दै थाइल्याण्ड पुगेका थिए । श्रीमतीका अनुसार पूर्ण त्यसभन्दा अघि रोजगारीको लागि सिंगापुर, मलेसिया लगाएतका देशहरुमा समेत पुगिसकेका थिए । २००९ मा उनी थाइल्याण्डबाट फर्किए ।

उनी भन्छिन्- ‘थाइल्याण्डबाट फर्किएपछि पनि के काम गर्नुहुन्छ मैले राम्रोसँग बुझेको थिइनँ ।’ श्रीमानले यत्रो पैसा ल्याउँदा ? कहाँबाट ल्यायो होला भन्ने लाग्दैनथ्यो ? भन्ने अनुसन्धान अधिकृृतको प्रश्नमा भने उनी केहि बोलिनन् ।

करिब १ वर्षअगाडि पूर्णले काठमाडौंको टोखामा एक आलिसान महल खरिद गरेका थिए २ करोड १० लाखमा । करिब ८ आना जग्गामा बनेको उक्त घर सुरुमा जेठी सासुको नाममा पास गरेका उनले पछिल्लो समय कान्छी सालीको नाममा नामसारी गरेका छन् ।

एम्फेटामाइनको अनुसन्धान गर्ने मध्यका एक डिएसपी प्रेम शाही भन्छन्, ‘अहिले पुर्ण पाखि्रनको लगानी रहेको एउटा घर मात्रै भेटिएको छ, अरु सम्पति खोज्दै छौं ।’

‘थाइल्याण्डबाट दाइ धर्म पाखि्रनले हुण्डीमार्फत पैसा पठाउने गरेकोले कति सम्पत्ति छ भन्ने भेटिएको छैन, हामी खोज्छौं’- डिएसपी शाहीले भने ।

50 lakh
थाइल्याण्डमा अर्की श्रीमती

सन् २००३ मा स्पेन जाने भन्दै थाइल्याण्ड पुगेका पूर्ण पाख्रिनको थाइल्याण्डकै नुसारा नाम गरेकी एक युवतीसँग भेट भएको थियो । दुई महिनाको भिसा सकिएपछि नेपाल फर्किएका उनी तिनै केटीले बोलाएपछि फेरी थाइल्याण्ड पुगेर पसल चलाएर बसे । थाइ केटीबाट एउटी छोरीसमेत जन्मिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ब्युरोका अनुसार सन् १९९९ मा थाइल्याण्ड पुगिसकेका दाजु धर्मले बोलाएपछि पूर्ण थाइल्याण्ड पुगेका थिए । त्यहि धन्दाका लागि थाइ केटीसँग विवाह गरेर बसेका उनलाई २००९ मै एम्फेटामाइन सेवन गरेको आरोपमा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । दुई महिना जेल र २० हजार थाइ भाट जरिवाना तिराएर नेपाल फिर्ता पठाएको थाइ प्रहरीले उनलाई फेरी थाइल्याण्ड आउन चेतावनी दिएको थियो ।

त्यसो त लागुऔषधको धन्दा चलाउनकै लागि दाजु धर्म पाख्रिनले पनि थाइल्याण्डमा थाइ केटी नै विवाह गरेर बसेको ब्युरोको दावी छ ।
 
५० लाखमा मिलाउने प्रयास

पक्राउ परेका चित्र र नेत्रले एम्फेटामाइनको र्‍याकेट चलाउनेमध्येका एक पूर्ण पाखि्रन नेपालमै भएको बयान दिएपछि ब्युरो पूर्णलाई पक्राउ गर्न जाल विच्छयाएर बसेको थियो । एम्फेटामाइन ओसार्न थाइल्याण्डमा नेपालीहरु पठाउनेदेखि दाईको आर्थिक कारोवारसमेत सम्हालिरहेका पुर्ण प्रहरीको खोजीबाट अत्तालिएका थिए ।

उनले प्रहरीसँग कुरा मिलाउन ५० लाख रुपैयाँ खर्च गर्ने तयारी गरेको समेत खुलेको छ । उनले एक आफन्तसँग संयुक्त लगानीमा बुढानिलकण्ठमा अर्गानिक खेति सुरु गर्न लागेका थिए । त्यसका लागि आफ्नो तर्फबाट ५० लाख रुपैयाँ ती आफन्तलाई बुझाएका थिए । पछि त्यही पैसाबाट आफ्नो मुद्दा मिलाउन उनले आफन्तलाई आग्रह गरे । तर उनका आफन्त प्रहरीकहाँ पुगेको डिआइजी जय बहादुर चन्दले बताए । उनले दिएको सुचना नै  पूर्ण पाख्रनलाई पक्राउ गर्ने मुख्य आधार बनेको डिआइजी चन्दले बताए ।

पूर्ण पाखि्रन प्रहरीको पक्राउ सुचिमा परेपछि कहिले कलंकी, कहिले कपन त कहिले बालाजुको झोरतिर लुकिछिपि बस्दै आएका थिए ।

धर्म पाख्रिन बेपत्ता

नेपालमा आफना केहि सहयोगीसहित भाइ पुर्ण पाख्रिन पनि पक्राउ परेपछि थाइल्याण्डमा बसेर एम्फेटामाइनको अन्तर्राष्ट्रिय र्‍याकेट चलाउने धर्म पाख्रिन वेपत्ता छन् । ब्यूरोका डिएसपी पे्रम शाहीका अनुसार अहिले थाई प्रहरी, नेपाल प्रहरी र अष्ट्रेलियाको प्रहरीले समेत धर्मलाई खोजी गरिरहेको छ ।

तर पछिल्लो समय नेपालमा उसका मान्छेहरु पक्राउ पर्न थालेपछि धर्मले आफ्ना सम्पर्क सुत्रहरुसमेत बन्द गरेर राखेका छन् । धर्मले परिचालन गर्ने अन्य व्यक्तिहरुको पनि पहिचान भैसकेको ब्युरोका डिआइजी चन्दले बताए ।

काइँली तामाङले रुट परिर्वतन गरिन्

थाइल्याण्डमा बसेर एम्फेटामाइनको धन्दा चलाउने धर्म पाख्रिन र अफगानिस्तानमा बसेर सेतो हेरोइनको डिलर चलाउने काइँली तामाङ एउटै गाउँका हुन । आफुले नेपालबाट परिचालन गरेका अधिकांश व्यक्तिहरु पक्राउ पर्न थालेपछि काइँलीले पनि रुट परिर्वतन गरेको सुचना ब्युरोले पाएको छ ।

ब्युरोका एक अधिकृतका अनुसार काइँलीले पनि थाइल्याण्डकै रुट प्रयोग गरेर सेतो हेरोइनको कारोवार गरिरहेकी छन् । त्यसको लागि उनले नेपाली भन्दा अफ्रिकनलाई भरियाको रुपमा प्रयोग गरिहेको सुचना ब्युरोले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?