Comments Add Comment

५० अर्बको चाइना टाउन अन्यौलमा, विस्तृत परियोजना प्रस्ताव कुर्दै महानगरपालिका

chinatown
२२ वैशाख, काठमाडौं । चीनले काठमाडौंमा निर्माण गर्ने भनेको ‘चाइना टाउन’को विस्तृत परियोजना प्रस्ताव पेश गर्न ढिलाइ गरेको छ ।

सेनजेनको क्षेत्रीय आर्थिक कोअपरेसन एसोसिएसन (एरेक)ले काठमाडौं महानगरपालिकासँग औपचारिक तहमा छलफल अघि बढाउन ढिलाइ गरेको हो ।

झण्डै ५० अर्ब रुपैयाँको लगानीमा गर्ने भन्दै एरेकका एक प्रतिनिधिले चाइना टाउन निर्माणको प्रारम्भिक परियोजना प्रस्ताव महानगरपालिकामा पेश गरेका थिए ।

तर, औपचारिक तहमा भने यो विषयमा कुनै छलफल नभएको महानगरपालिकाले जनाएको छ । चीनले यसबारे औपचारिक छलफल र प्रस्ताव अघि नबढाउँदा यसको निर्माणको विषय अन्यौलमा परेको छ ।

ठूलो औद्योगिक तथा व्यपारिक पूर्वाधारका रुपमा चाइना टाउन निर्माण गर्न भन्दै पेश भएको प्रस्ताव प्रतिवेदनका अहिले अध्ययन भइरहेको काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले जानकारी दिए ।

एकसय हेक्टर क्षेत्रफलमा बनाउन प्रस्ताव गरिएको चाइना टाउनबारे दुईदेशबीच देशबीच आधिकारिक छलफल भएर सम्झौतापत्रमा हस्ताक्षर हुनुपर्छ ।

‘प्रारम्भिक प्रस्ताव बुझाएर चिनियाँ अधिकारी फर्केपछि दोस्रो चरण्मा छलफलमा लागि आएका छैनन्’ कार्यकारी प्रमुख तामाङले भने-‘चाइना टाउन बनाउन विस्तृत योजनासहितको प्रस्ताव नआएकाले योजनाका  विषयमा खासै प्रक्रिया पनि अघि बढेको छैन ।’

चाइना टाउनको लागि काठमाडौं उपत्यकाभित्रै एरेकले जग्गा माग गरेको थियो । त्यसैका आधारमा महानगरपालिकाले सम्भाव्य क्षेत्रहरुको पहिचानका लागि तयारी थालेको थियो ।

‘यसका लागि जग्गा दिन तयार भएर केही व्यक्ति हाम्रो सम्पर्कमा आएका छन्’ तामाङले भने-‘जग्गा मिल्न सक्छ । तर, ठोस तथा औपचारिक रुपमा छलफल अघि नबढेकाले हामी प्रतिक्षा गरिरहेका छौं ।’

उनले एरेकलाई लगानी बोर्डमार्फत विदेशी लगानी भित्र्याउने प्रक्रिया सुरु गर्न सुझाव दिएको उनले बताए । तर, प्रस्तावलाई समझौतामा बदल्ने गरी प्रक्रिया अघि बढाउन चिनियाँ पक्ष तयार भएर आएको छैन ।

के हो चाइना टाउन ?
महानगरपालिकाले केही समयपछि सेनजेनका अधिकारी काठमाडौं आउने र त्यपछि चाइना टाउनको प्रस्तावामा थप छलफल अघि बढ्ने बताएको छ ।

विश्वका विभिन्न शहरमा चीनले चाइना टाउन राखेर औद्योगिक तथा ब्यापारिक प्रवर्द्धनको काम गरिरहेको छ । उसले आफ्ना उत्पादनलाई विश्व बजारमा पुर्‍याउन यसको प्रयोगलाई नीतिमै समेटेर काम गरिरहेको छ ।

चीनले सिंगापुरमा निर्माण गरेको अत्याधुनिक र सुविधा सम्पन्न चाइना टाउन ।

चीनले सिंगापुरमा निर्माण गरेको अत्याधुनिक र सुविधा सम्पन्न चाइना टाउन ।

चीनले काठमाडौंमा यस्तै चाइना टाउन राखेर भारतसम्म आफ्ना वस्तु तथा सेवाको विक्री गर्ने योजना बनाएको बुझिएको छ । चाइना टाउनभित्र सामान्यदेखि विभिन्न औद्योगिक उत्पादनहरु गर्ने र त्यहीबाट विक्री गर्ने अवधारणा छ ।

यस्तो छ प्रस्ताव
नेपालमा बन्ने चाइना टाउनमा पनि व्यापारिक स्टलसहित आवासीय क्षेत्र, होटल, रेस्टुरेन्ट, अस्पताल, र फ्याट्रीसम्म रहनेछन् । यसले नेपालभित्र आद्योगिक वातावरण बन्नुका साथै रोजगारीको लागि युवालाई ठाउँ मिल्ने अपेक्षा गरिएको छ ।

चीनियाँ र नेपाली सामग्रीको बजारीकारणमा भौगोलिक तथा यातायातको समस्या भएकाले सम्भाव्य उत्पादन काठमाडौंमा नै गर्ने एरेकले गरेको प्रस्तावमा उल्लेख छ । यहाँ उत्पादन भएका वस्तु आवश्यक्ताअनुसार चीनमा पनि निर्यात गर्न सकिने अवधारणामा उल्लेख छ ।

चाइना टाउनमा थोकदेखि खुद्रा विक्री केन्द्रसम्म रहनेछन् । जसलाई छुट्टाछुट्टै रुपमा राखेर ब्यापारिक वातावरण तयार गर्ने उल्लेख छ ।

यसभित्र विभिन्न औद्योगिक तथा व्यापारिकसँगै सेवामूलक फर्महरू पनि राखिनेछन् । निर्यातयोग्य वस्तुहरु यसैमार्फत भारतीय बजारसम्म पुर्‍याउन सकिने र नेपालको निर्यात ब्यापार पनि सुधार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment