Comments Add Comment

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

फुटबल प्रशिक्षक कृष्ण थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

Pokhara-Sports-award

२६ वैशाख, पोखरा । खेलकुद पत्रकार मञ्च कास्कीले पोखरा स्पोर्टस् अवार्ड-२०७२ को विभिन्न विधाको मनोनयन सार्वजनिक गरेको छ । आगामी जेठ १ गते पोखरा सभागृहमा हुने अवार्ड वितरणअघि मञ्चले आइतबार मनोनयन सार्वजनिक गरेको हो ।

पहिलो पटक अवार्ड गर्न लागेको मञ्चले लाइफ टाइम अचिभमेन्ट अवार्ड पूर्व राष्ट्रिय फुटवल खेलाडी तथा प्रशिक्षक कृष्ण थापालाई प्रदान गर्ने भएको छ । जुरी कमिटीको निर्णयलाई मञ्चको पूर्ण बैठकले पारित गरेपछि सार्वजनिक गरिएको हो ।

अन्य ४ विधामा भने ३/३ जनाको मनोनयन सार्वजनिक गरिएको छ । उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ हेमन्त गुरुङ (फुटबल), सुरेश गुरुङ (शारीरिक सुगठन) र अशिम शेरचन (आर्चरी) परेका छन् । त्यस्तै, उत्कृष्ट वर्ष खेलाडी महिलातर्फ उसुकी झरना गुरुङ, भलिवलकी मञ्जु गुरुङ र भलिवलकै अरुणा शाही मनोनयनमा परेका छन् ।

यसैगरी, वर्ष उत्कृष्ट प्रशिक्षकमा फुटवलका शम्भु केसी, भलिवलकी कौशिला खत्री र कराँतेका सुरेन्द्र गुरुङ मनोनयनमा परेका छन् । यस्तै, उदीयमान खेलाडीतर्फ टेनिसका अभिषेक बास्तोला, एथ्लेटिक्स तथा भलिवल खेलाडी शशी चौधरी र एथ्लेटिक्स तथा भलिवलकै ममता डगौरा मनोनयनमा परेका छन् ।

मञ्चले वर्ष खेलाडी पुरुष/महिला दुवैमा नगद २५/२५ हजार रुपैयाँ तथा उत्कृष्ट प्रशिक्षक एवम् उत्कृष्ट नवप्रतिभालाई जनही १० हजारसहित ट्रफी प्रदान गर्नेछ । पत्रकार सम्मेलनमा मञ्जमा कार्यबाहक अध्यक्ष तथा कार्यक्रम संयोजक सन्देश श्रेष्ठले सिंगो पोखराको इज्जतको रुपमा जोडिएको स्पोर्टस् अवार्ड सफल पार्ने दायित्व सबैको भएकोले सहयोग गरिदिन आग्रह गरे ।

कार्यक्रम सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रीय समितिको तत्वावधानमा हुने कार्यक्रमको सहयोगी संस्था जिल्ला खेलकुद विकास समिति, पोखरा उपमहानगरपालिका रहेका छन् । सहप्रायोजकमा क्षेत्रीय खेलकुद विकास समिति, रेवान पोखरा, कास्की जिल्ला फुटबल संघ, जिल्ला विकास समिति, नेपाल पर्यटन बोर्ड पोखरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment