Comments Add Comment

भैरहवामा २० वर्षे पुराना गाडी विस्थापित हुने

२७ बैशाख, भैरहवा । शान्तिका अग्रदुतका गौतम बुद्धको जन्मस्थल लुम्बिनी र त्यसको प्रवेशद्वार भैरहवामा २० वर्षे पुराना जिपहरु विस्थापित हुने भएका छन् । सिद्धार्थ यातायात व्यवसायी समिति र पुराना जिप व्यवसायी समितिबीच ४ बुँदे सहमतिमा २० वर्षे पुराना गाडीहरु विस्थापित गर्ने उल्लेख छ ।

फाइल तस्वीर
फाइल तस्वीर

नेपालमा २० वर्षभन्दा पुराना गाडीहरु सञ्चालन गर्नु गैरकानुनी मानिन्छ । तर, रुपन्देहीको भैरहवा-बेलहिया र लुम्बिनीको पडरिया-कर्करहवा सडकखण्डमा २० वर्ष पुराना १५ वटा जिपहरु सञ्चालन भइरहेका छन् । ति पुराना गाडीहरुमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

२० वर्षभन्दा विस्थापित हुन गाडीहरुमा लु १ ज ७१०, लु १ ज ७२०, लु १ ज ४७१, लु १ ज ४४०, लु १ ज ४४३, लु १ ज ७९९, लु १ ज ६२५, लु १ ज ६८२, लु १ ज ६८७ रहेका छन् ।

त्यस्तै लु १ ज ७२५, लु १ ज ४२४, लु १ ज ६१४, लु १ ज ७४७, लु १ ज १००, लु १ ज ७३५ नम्बरका गाडी पनि विस्थापित गर्ने दुवै पक्षबीच सहमति भएको छ ।

भैरहवा लुम्बिनी क्षेत्रमा सञ्चालित यी पुराना जिपहरु भन्सारबाट लिलाम भएका हुन् । भन्सारबाट लिलाम भएका गाडीहरु लुम्बिनी अञ्चल, पोखरा र काठमाडौं उपत्यकामा चल्न पाउँदैनन् । साथै २० वर्ष भन्दा माथिका गाडीहरु पनि चल्न नपाउने सरकारी प्रावधान छ । तर, जिप व्यवसायीहरुले सरकारी नियम लत्याउँदै अहिलेसम्म लिलाम भएका र २० वर्षभन्दा माथिका पुराना थोत्रा जिप चलाउँदै आएका थिए ।

भैरहवामा केन्द्रीय कर्यालय रहेको सिद्धार्थ यातायात व्यवसायी समितिले ०६३ सालमा साधारण सभा मार्फत् २० वर्षे पुराना गाडीहरु विस्थापित गर्ने निर्णय गरेको थियो । तर यातायातमै आबद्ध जिप व्यवसायीले समितिको निर्णयलाई बेवास्ता गर्दै गाडी सञ्चालन गरेपछि समितिले ०७१ साल मंसिरमा समितिमा आवद्ध पुराना गाडीहरुको दर्ता खारेज गरेको थियो ।

समितिले सिद्धार्थ यातायातमा आवद्ध पुराना गाडीहरुको दर्ता खारेज गरेपनि उनीहरुले पुराना गाडीहरु सञ्चालन गर्दै आएका थिए । त्यसपछि जिल्ला अदालत रुपन्देही, पुनरावेदन अदालत बुटवलले पनि पुराना थोत्रा गाडीहरु विस्थापित हुनुपर्ने भन्दै सिद्धार्थ यातयातको पक्षमा फैसला गरेपछि पुराना जिप व्यवसायी समिति सर्वोच्च अदालतमा पुगेका थिए । तर, सर्वोच्च अदालतले लुम्बिनी गुरुयोजना क्षेत्र भित्र पुराना गाडीहरु सञ्चालन गर्न नपाइने गरी अन्तरिम आदेश जारी गरेको थियो ।

सोही आदेश कार्यान्वयन गर्न यातायात व्यवस्था विभागले यातायात व्यवस्था कार्यालय लुम्बिनी अञ्चललाई पत्र पठाएको थियो । तर, त्यसलाई बेवास्ता गर्दै जिप व्यवसायीले गत बैशाख २४ गते गाडी संचालन ल्याएका थिए । जिप व्यवसायीले पुराना थोत्रो गाडी संचालनमा ल्याए लगत्तै सिद्धार्थ यातायात र जिप व्यवसायीबीच विवाद भएको थियो । विवाद भएपछि गत बैशाख २५ गते निमित्त प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माको अध्यक्षतामा जिल्ला प्रशसान कार्यालय रुपन्देहीमा दुवै पक्षबीच ४ बुँदे सहमति भएको थियो ।

छलफलमा दुवै पक्षबीच पुराना थोत्रा गाडीहरु कवाडीको रुपमा सिद्धार्थ यातायातले यातायात व्यवस्था कार्यालयबाट लगत कट्टा गरी विस्थापित गरेको लगतकट्टा पत्रको आधारमा प्रति गाडी ५ लाख रुपैयाँको दरले खरिद गर्ने सहमति भएको सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सुर्यकुमार सारु मगरले बताए ।

सरकारी प्रावधानको पालना गर्न, पर्यटकीय क्षेत्रको संरक्षण गर्न तथा प्रदुषण र दुर्घटना न्युनिकरण गर्न पुराना थोत्रा गाडीहरु विस्थापित गरी विस्थापित गरिएका गाडीहरुकै नम्बरमा सुविधायुक्त नयाँ गाडीहरु सञ्चालनमा ल्याउने यातायात व्यवसायीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment