Comments Add Comment

वर्षापछिको बाढीले सल्यानको बाँफुखोलामा ठूलो क्षति

फाइल तस्वीर
फाइल तस्वीर

३१ वैशाख, सल्यान । बिहीबारको वर्षाले सल्यानको बाँफुखोलामा त्रास फैलिएको छ । वर्षापछिको बाढीले बाँफुखोला ३ दोभान बजारमा रहेका १२ पसलमा क्षति गरेको  छ भने  ३ वटा मोटरसाइकल समेत बगाएको  छ ।

लगातार ४५ मिनेटसम्म भीषण रुपमा परेको वर्षाका कारण चिनाली खोलाका ५० घट्ट बगाएको स्थानीय मोहन खड्काले जानकारी दिए ।

वर्षापछि आएको बाढीले दोभान बजारका पसलहरुमा क्षति गरेको हो । त्यस्तै बाँफुखोलाको २ सय रोपनीभन्दा बढीमा लगाएको आलुबालीमा पनि क्षति गरेको छ ।

२०२७ सालमा यस्तो वर्षाको अनुभव गरेका स्थानीयले पहिलोपटक यति ठुलो वर्षाको अनुभव गरेका छन । २७ सालको बषर्ाले यति ठुलो क्षति नगरेको भन्दै स्थानीयले त्यो भन्दा पनि बिहीबार ठुलो वर्षा भएको बताएका छन ।

सिँचाइका लागि विभिन्न ठाउमा राखिएका पाइप, विभिन्न भौतिक संरचना, घरहरुमा कति क्षति भएका छन भन्ने पूर्ण विवरण आउन बाँकी छ ।

वर्षाले रोल्पाको सुखाओढारसम्म क्षति गरेको वाइसीएल सल्यानका अध्यक्ष शोभाराम भण्डारीले जानकारी दिएका छन । वर्षापछि बाँफुखोलाबासी हतोत्साहित भएको र उनीहरुले उद्धारको लागि पहल गर्न सबैमा अनुरोध गरेका छन ।

रुकुमको झुल्नेटाबाट नेपाली सेना र सल्यानको थारमारेबाट नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारको लागि खटेको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले जानकारी दिए ।

तत्काल उद्धारको काम गरिने र त्यसपछि राहत र पुनर्निर्माणका लागि पहल गरिने उनले जनाए । बिहीबारको वर्षाका कारण सल्यानका अधिकांश ठाउमा आँप, अनार, सुन्तला लगायतका नगदे बालिमा क्षति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment