Comments Add Comment

प्रधानमन्त्री ओलीसँग चीनका सञ्चारमन्त्रीको भेटवार्ता

chinese-minister-n-primeminister

३१ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका सञ्चारमन्त्री काई फुचाओले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धबारे छलफल भएका प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भेटका अवसरमा चीनका सञ्चारमन्त्रीले चीन र नेपाल दुई असल छिमेकी भएको र दुई देशको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गरेका थिए । चीनको सिसिटिभीले सात श्रृंखला लामो नेपाल जाऔं भन्ने वृत्तचित्र निर्माण र प्रसारण गरेर नेपालप्रति चिनियाहरुको आकर्षण बढाएको उनले जानकारी दिए ।

उनले गत वर्ष चैत्रमा प्रधानमन्त्रीले गरेको चीन भ्रमणका बेला दुई देशबीच भएका सम्झौता र समझदारीको व्यबहारमा कार्यान्वयन गर्नका लागि पनि आफ्नो भ्रमण केन्द्रित रहेको बताए । प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला चीनका राष्ट्रपतिसँग भएको भेटवार्ताले भविष्यमा दुई देशको सम्बन्धलाई थप विस्तार र विकास गर्न मद्दत पुगेको उनको भनाई थियो ।

चीनका सञ्चारमन्त्रीले दुई देशका सञ्चार क्षेत्रको विकास, नेपालको सञ्चार क्षेत्रको पूर्वाधार विकासमा सहयोग, तालिम र भ्रमण आदान प्रदान गर्न चीन सरकार नेपाल सरकारसँग सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले चीनका सञ्चारमन्त्रीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध विकासमा थप सहयोग पुगेको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा चीनले गरेको प्रगतिको अनुभव र सहयोगबाट नेपालको आधुनिकिकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेकोले चिनियाँ सञ्चार माध्यमहरुमार्फत चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणमा प्रेरित गर्न आग्रह गरे । उनले, भने- ‘हामी चीनको विकास र अनुभवबाट लाभ लिन चाहन्छौ । हामी चीनसँग सहकार्य र सहयोगको थप अपेक्षा गर्दछौ ।’

प्रधानमन्त्रीले निकट भविष्यमा चीनका राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न नेपाल सरकार र नेपाली जनता प्रतीक्षारत रहेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment