Comments Add Comment

संघीय गठवन्धनको आन्दोलनः प्रहरी र प्रदर्शनकारी दुवै संयम

काठमाडौंकेन्द्रित आन्दोलन तेस्रो दिन पनि लगभग शान्तिपूर्ण

Police (2)

४ जेठ, काठमाडौं । संघीय गठनबन्धनको काठमाडौं केन्द्रित आन्दोलन तेस्रो दिनसम्म आइपुग्दा अपेक्षाकृत शान्तिपूर्ण रहेको छ । प्रहरी र आन्दोलनकारी दुवैतर्फ अनावश्यक उत्तेजना देखाउने हर्कतहरु भएका छैनन् ।

आन्दोलनलाई लक्षित गरी गृह मन्त्रालय र मातहतका सुरक्षा निकायहरुले विशेष पूर्वतयारी गरेका थिए । गृह मन्त्रालय मातहतका तीनवटा सुरक्षा निकायहरु राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भीड नियन्त्रणको लागि संयुक्त अभ्यास समेत गरे ।

बालुवाटारमा मंगलबार आन्दोलनकारी र सुरक्षाकर्मीहरु फाट्टफुट्ट घम्साघम्सी भयो । राष्ट्र बैंकमा अड्डा जमाएर बसेका आन्दोलन नियालिरहेका थिए काठमाडौं जिल्ला सुरक्षा समितिका अधिकारीहरु । काठमाडौंका सिडियो रामकृष्ण सुवेदीको नेतृत्वमा रहेका सुरक्षा निकायका  सम्पुर्ण अधिकृतहरु राष्ट्र बैंकमा बेस बनाएर बसेका छन् ।

बालुवाटार घेराउका क्रममा  करिब १५ सय भन्दा बढी सुरक्षाकर्मीहरु परिचालन भएका थिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी सुवेदीले आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको बताए । आन्दोलनरुको अवस्था हेरेर आवश्यक परे थप जनशक्ति परिचालनको लागि पनि तयारी अवस्थामा राखिएको उनको भनाइ थियो ।

‘हामी निकै संयमित भयौं,’ सुवेदी भन्छन्, ‘कमभन्दा कम बल प्रयोग गरेर क्षति न्युनिकरण गर्ने हाम्रो रणनीति हो ।’ आन्दोलनकारीबाट बेला-बेला प्रहरीमाथि लाठी हान्ने, पानीका बोतल फाल्ने गरिएको भए पनि सुरक्षा निकायले कुनै प्रतिकार नगरेको उनको दावी छ ।

संघिय गठबन्धनले गरिरहेको आन्दोलनलाई लक्षित गरेर प्रहरीले आफ्ना जनशक्ति तयारी अवस्थामा राखेको काठमाडौंका एसएसपी बिक्रम सिंह थापाले बताए । सकेसम्म कम बल प्रयोग गरेर क्षति कम गराउने रणनीति रहेको उनको पनि भनाइ छ ।

‘हामी अत्यधिक संयमित भएकाले कुनै अप्रिय घटनाहरु भएका छैनन्,’ एसएसपी थापाले भने । आन्दोलनकारीको आक्रमणमा एक जना असईको औँला नै भांचिएको उल्लेख गर्दै उनले प्रहरीबाट भने कुनै बल प्रयोग नगरेको जिकिर गरे ।

थापा भन्छन्, ‘भीड नियन्त्रणको लागि मनोबैज्ञानिक रुपमा सिपाहीहरुलाई तयार पारिएको थियो त्यसैको परिणाम अहिले देखिएको हो ।’

सिंहदरवार घेराउका क्रममा आइतबार र सोमबार माइतिघर मण्डलामा आन्दोलनकारी र प्रहरीबीच पटक-पटक झडप भएको थियो । आन्दोलनकारीले सुरक्षा घेरा तोड्ने प्रयास गरेपछि भएका झडपहरुमा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । आन्दोलनमा रहेका केही समुहले प्रहरीलाई लाठिले घोच्ने, ढुंगा हान्ने प्रयास गरेर उत्तेजित बनाउने प्रयास गरेका थिए ।

Police (1)

वालुवाटारमा दुवै पक्ष संयम

दुई दिन सिंहदरवार घेराउ गरेर मंगलबार वालुवाटार पुगेका आन्दोलनकारीको सुरुमै प्रहरीसँग घम्साघम्सी पर्‍यो । करिब सांढे १० बजेतिर जुलससहित भाटभटेनी तिरबाट वालुवाटार लागेका आन्दोलनकारीले प्रहरीले राखेको निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि झडप भएको हो ।

आन्दोलनमा सहभागी केहीले प्रहरीको काँडेतरको बारलाई फालिदिएका थिए भने प्रहरीमाथि लाठी प्रहार गरेका थिए । प्रदर्शनकारीको प्रहारबाट असर्इ रविन्द्र दुलालको औँला भाच्चिएको छ ।

एकातिर प्रदर्शनकारी थिए भने अर्कोतिर नेपाल प्रहरीका तीन घेरा र चौथो घेरामा सशस्त्र प्रहरी बल । बीचमा नेपाल प्रहरीको पानीको फोहरा हान्ने गाडीसमेत तयारी अवस्थामा राखिएको थियो । डिएसपी सोमन्द्र सिंह राठौर, हेम थापा सहितको टोलिले प्रहरीको कमाण्ड सम्हालेका थिए । आन्दोलनकारीले लाठी हानेपछि आक्रोशित बनेका प्रहरीलाई उनीहरुले प्रत्याक्रमण गर्नबाट रोके । आन्दोलनकारीका तर्फबाट केही नेताहरुले माइकबाटै ढुंगा नहान्न आह्वान गरेको पनि सुनिन्थ्यो ।

police

खाजापानीको चासो

दिउँसो करिब १ बज्दै थियो । डिएसपी सोमन्द्र सिंह राठौर हातमा लाठी सहित उभिरहेका जवानहरुलाई सोध्दै थिए, ‘खाजा भयो ?’

संघीय गठवन्धनले बालुवाटारमा धर्ना दिइरहँदा प्रहरीलाई चाउचाउ र जुसको व्यवस्था गरिएको थिए । एक जवानले भने, ‘यस्तो घाममा खटिँदा यति भने पनि खान पाउनु ठूलो कुरा हो । कम्तिमा भोक त टर्छ नि ।’

त्यसो त यसपटक आन्दोलनमा खटिएका प्रहरीलाई चाँडो-चाँडो ‘रोटेट’ गरिएको थियो । आन्दोलनमा महिला प्रहरी पनि ठूलो संख्यामा परिचालित भएका छन् । करिब डेढ सयको संख्यामा महिला प्रहरी परिचालन भएको एसएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment