Comments Add Comment

भरतपुर क्यान्सर अस्पतालमा १४० बेडको कोभिड वार्ड शुरु

फाइल तस्वीर

२ जेठ, चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० बेडको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । चितवनमा सङ्क्रमितको संख्या बढेसँगै अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याएको हो ।

क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० बेडको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी बेड थप गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ । वार्डमा अहिले २४ संक्रमितको उपचार भइरहेको छ ।

कोभिड वार्डमा दुई भेन्टिलेटर आठ मनिटरसहितको सघन उपचार कक्ष सरहको सुविधा रहेको डा. गौतमले जानकारी दिए । उनका अनुसार भेन्टिलेटर र सघन उपचार कक्षको संख्या बढाउँदै लगिनेछ । कोभिड वार्डमा अक्सिजनको पाइपलाइन रहेका छन् । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएकाले ठूलो समस्या नपर्ने अनुमान गरिएको छ ।

बिरामीको संख्या बढ्दै जाँदा र धेरै अक्सिजन चाहिने सङ्क्रमित आएमा भने अस्पतालको प्लान्टले नधान्ने उनको भनाइ छ । प्रदेश, संघीय सरकार र दातासँग भेन्टिलेटरलगायतका उपकरण माग गरेको डा. गौतमले बताए ।

‘वार्डलाई सकेसम्म सुविधा सम्पन्न बनाइने छ,’ उनले भने । जिल्लामा संक्रमित बढ्दै गएपछि क्यान्सर अस्पतालले कोभिडको उपचार सुरु गरेको हो । चितवनमा जिल्लाका भन्दा धेरै बिरामी बाहिरबाट आएका छन् । ४५० बेडको क्यान्सर अस्पतालमा हाल १७० जना क्यान्सरका बिरामी उपचाररत छन् । कोभिड वार्ड सञ्चालनमा आएपनि क्यान्सरका बिरामीको उपचार भने नरोकिने उनको भनाइ छ ।

यस अस्पतालमा क्यान्सर रोगको उपचारका लागि देशभरबाट बिरामी आउने गर्दछन् । अन्य समयमा भारतका सीमा क्षेत्रबाट समेत यहाँ बिरामी आउने गरेका थिए । चीन सरकारको सहयोगमा सो अस्पताल निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment