+
+
Shares
सुनसरी घटना ब्रिफिङ :

तुलनात्मक शान्त, कर्फ्यू कायमै

मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहेपनि बुधबार सुरक्षाकर्मीको बाक्लो उपस्थिति भयो । हिजो र अस्तीको जस्ता अप्रिय घटना भएनन् ।

हरि अधिकारी हरि अधिकारी
२०८३ साउन १३ गते २१:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको दक्षिणी क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावका कारण लगाइएको कर्फ्यू आदेश कायमै रहे पनि बुधबार अवस्था सामान्य हुँदै गएको छ ।
  • गृहमन्त्रालयद्वारा गठित छानबिन समिति घटनास्थल पुगेर प्रमाण संकलन गरेको छ भने स्थानीय प्रशासन र पालिकाले सर्वदलीय बैठक राखी सामाजिक सद्भावको आह्वान गरेका छन् ।
  • कोशी प्रदेश सरकारले झडपमा ज्यान गुमाउनेका परिवारलाई दुई लाख र घाइते तथा आगजनीबाट पीडित परिवारलाई जनही पचास हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

१३ साउन, विराटनगर । दुई समूदायको असमझदारीका कारण आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिणी क्षेत्र बुधबार भने केही शान्त बनेको छ ।

मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहेपनि बुधबार सुरक्षाकर्मीको बाक्लो उपस्थिति भयो । हिजो र अस्ती जस्ता कुनै अप्रिय घटना भएनन् । केही स्थानमा भेला भएका दुई समूहलाई प्रहरीले हटाएको थियो ।

स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश कायमै रहेकाले भेला र जुलुस गर्न रोक लगाइएको छ । जिल्लाको समग्र अवस्था सुधारोन्मुख रहे पनि पूर्ण रूपमा सामान्य भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले अवस्था सामान्य हुँदैगएको बताए ।

घटनास्थलमा छानबिन समिति

एक जनाको मृत्यु र ९ जना घाइते हुनेगरी भएको आइतबारको घटनाको छानबिनका लागि गृहमन्त्रालयले गठन गरेको छानबिन समिति बुधबार घटनास्थल पुगेको छ ।

सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित समिति सोमबारदेखि खटिएको थियो । बुधबार घटनास्थल पुगेर स्थानीयसँग सोधपुछ गरेको छ ।

घटनास्थलका प्रमाण र गोलीका खोकाहरू संकलन गरेको छ । समिति समक्ष स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । मंगलबार दुई पक्षबीचको विवादले गर्दा समिति फिल्डमा जान सकेको थिएन ।

तर छानबिन समितिका एक सदस्यको विषयमा भने कप्तानगञ्जका केही स्थानीयले असहमति जनाउँदै नाराबाजी गरे । छानबिन समिति सदस्य प्रहरी उपरीक्षक विपिन रेग्मीले यसअघिको घटनामा पनि प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै स्थानीयको एउटा समूहले विरोध गरेको हो । यो समूहको दाबी अनुसार दुई वर्षअघि हरिनगर क्षेत्रमा दुई समुदायबीचको विवाद मिलाउँदा पक्षपातपूर्ण व्यवहार गरेको आरोप छ ।

सर्वदलीय बैठक र सद्‌भावको आह्वान

शान्ति सुरक्षा कायम गर्न र साम्प्रदायिक सद्भाव बचाउन बुधबार जिल्ला र स्थानीय तहमा सर्वदलीय बैठक भएका छन् । हरिनगर र देवानगञ्ज गाउँपालिकाले छुट्टाछुट्टै बैठक राखेर सामाजिक सद्भाव कायम गर्न आह्वान गरेका छन् ।

बुधबार अपराह्न जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले पनि आ-आफ्नो ठाउँबाट पहल गर्ने सहमति गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी खड्काले पालिकाहरूको समन्वय र सुरक्षा निकायको सतर्कताका कारण अवस्था सामान्य हुँदै गएको बताए ।

‘पालिकाहरूमा सर्वदलीय बैठक बस्यो, छलफल र समन्वय भयो जसले गर्दा बुधबारको अवस्था हिजोको तुलनामा सामान्य रह्यो,’ उनले भने,‘ सुरक्षा निकायको सतर्कता भने उच्च छ, कर्फ्यू पनि जारी नै छ ।’ जिल्लाको समग्र सुरक्षा अवस्थालाई सामान्य बनाउन सुरक्षा तैनाथि भने बढाइएको उनले बताए । नेपाली सेनाले हेलिकप्टर र ड्रोनबाट सुरक्षा निगरानी गरेको थियो ।

प्रहरीको गाडी तोडफोड

जिल्लाका अधिकांश क्षेत्र शान्त देखिए पनि हरिनगरामा बुधबार दिउँसो केहीबेर तनाव भयो । घुस्की, दुहबी, लौकहीलगायतका स्थानमा पनि प्रदर्शन भयो । प्रदर्शनकारीको एक समूहले इलाका प्रहरी कार्यालय हरिनगरको ना १ झ ८७४ नम्बरको गाडी तोडफोड गरेका छन् । ढुङ्गा प्रहारबाट गाडीको सिसा फुटेको छ ।

सुनसरीको संवेदनशीलतालाई ध्यान दिँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको टोली संयुक्त टोली परिचालन गरिएको छ ।

छिमेकी जिल्ला र मधेश प्रदेशबाट समेत थप सुरक्षा जनशक्ति झिकाइएको प्रशासनले जनाएको छ ।

सीमामा कडाइ

साम्प्रदायिक तनावको असर सीमावर्ती क्षेत्रमा पर्न नदिन प्रशासनले भारतीय सीमा नाकामा कडाइ गरेको छ । बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बोलाएको बैठकमा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी गराएका थिए ।

बैठकमा सहभागी मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मोरङका सीमा नाकामा सुरक्षा निगरानी कडा बनाउँदै नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य गरिएको बताए ।

यसैबीच, दक्षिणी क्षेत्रमा उब्जिएको तनाव कम गर्न इटहरीमा सामाजिक सद्भाव र्‍याली निकालिएको छ । नागरिक समाजको अगुवाइमा निकालिएको र्‍यालीले बजार परिक्रमा गर्दै अफवाहको पछि नलाग्न र संयमता अपनाउन आग्रह गरेको थियो ।

संघले केही बोलेन, प्रदेशले सहयोग घोषणा

कप्तानगञ्ज घटनाको विषयमा छानबिन समिति गठन गरेको संघीय सरकारले कुनै राहत तथा क्षतिपूर्तिको घोषणा गरेको छैन । कोशी प्रदेश सरकारले भने घटनामा ज्यान गुमाउने र घाइते परिवारलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

बुधबार प्रदेश सरकारले बोलाएको सर्वपक्षीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मृतक परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरे ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की

उनले घाइते परिवारलाई जनही ५० हजारका दरले राहत दिने घोषणा गरे । प्रदेश सरकारले सरकारले घर, पसल र अन्य आगजानी भएका परिवारलाई पनि ५० हजारका दरले राहत दिने मुख्यमन्त्री कार्कीले बताए । यो सामग्री जिल्ला प्रशासन कार्यालयले सिफारिसका आधारमा प्रदेश सरकारले दिनेछ ।

प्रदेश सरकारले बोलाएको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्न आठबुँदे निर्णय गरेको हो । सरकारले सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नेलगायत निर्णय गरेको छ ।

२१ जनाको उपचार जारी, एक जनाको शव अस्पतालमै

कप्तानगञ्जमा आइतबार रातिदेखि सुरु भएको विवाद र झडपमा परी घाइते भइ अस्पताल भर्ना हुनेको संख्या २१ पुगेको छ । आइतबार राति दुई समुदायबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको थियो भने ९ जना प्रदर्शनकारी घाइते भएका थिए ।

सोमबार र मंगलबार पनि दुवै पक्षबाट प्रदर्शन, तोडफोड र आगजनीका घटना भए । सोमबार ३ जनालाई उपचारका लागि भर्ना गरिएको थियो । मंगलबार प्रहरीले ५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरेको थियो । अन्य घाइते आफै उपचारका लागि अस्पताल पुगेका थिए ।

घाइते भएका २१ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जना उपचारपछि घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार न्यूरो अस्पतालमा ९, विराट नर्सिङ होममा ४, नोबेलमा २, विराट मेडिकलमा २, गोल्डेनमा २ र अन्य अस्पतालमा ३ जनाको उपचार भइरहेको छ । सबै घाइतेको अवस्था खतरामुक्त रहेको अस्पताललाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।

झडपमा परी ज्यान गुमाएका देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको शव भने विगत तीन दिनदेखि न्यूरो अस्पतालमै छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?