News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको कप्तानगञ्ज घटनाको असर अन्य जिल्लामा फैलिन नदिन सुरक्षा निकायले सामाजिक, धार्मिक र राजनीतिक समाधानका लागि सरकारलाई सुझाव दिएका छन्।
- गृहमन्त्री सुधन गुरुङसँगको छलफलमा सुरक्षा प्रमुखहरूले बल प्रयोग मात्र समस्याको समाधान नहुने भन्दै राजनीतिक पहलकदमी लिन आवश्यक रहेको निष्कर्ष सुनाएका छन्।
- घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा गठित पाँच सदस्यीय टोलीले बुधबार घटनास्थलमा पुगेर काम शुरू गरेको छ।
१३ साउन, काठमाडौं । १० साउन मध्यरातिदेखि अशान्त बनेको सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्ज घटनाको विषयलाई लिएर सुरक्षा निकायहरूले साझा धारणा बनाएका छन् । कप्तानगञ्ज घटनाको बाछिटा नजिकैका छिमेकी जिल्लाहरू हुँदै पश्चिम तराईसम्म पुग्ने जोखिम देखिएपछि यसबारे सुरक्षा निकायले विश्लेषण गर्दै साझा धारणा बनाएका हुन् । सुरक्षा निकायले निकालेको आफ्नो विश्लेषण, हुनसक्ने सम्भावित घटना र त्यसलाई न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने रणनीतिबारे गृहमन्त्रीलाई ब्रिफिङ गराएका छन् ।
कप्तानगञ्ज घटनाको असर नजिकैको मोरङ, सप्तरी, सिरहा, धनुषा लगायतका जिल्लाहरूमा फाट्टफुट्ट देखा पर्न थालेपछि मंगलबार साँझ गृहमन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरू, गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठलगायतबीच छलफल भएको थियो ।
छलफलमा सहभागी एक अधिकारीका अनुसार अघिल्लो दिन अर्थात सोमबारको बैठकमा अलि आक्रामक देखिएका देखिएका गृहमन्त्री गुरुङ भने मंगलबार अलि नम्र देखिन्थे । उक्त छलफलमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, नेपाली सेनाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
जहाँ सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूले सुनसरी घटनालाई अब सुरक्षा चुकको विषयमा मात्रै केन्द्रीत गरेर सुरक्षाकर्मी मात्रै बढाएर समाधान हुननसक्ने निष्कर्ष गृहमन्त्री गुरुङलाई सुनाएका थिए ।
‘सुनसरीको घटना गणितको हल खोजेजस्तो अब सुरक्षाकर्मी मात्रै खटाएर किन समाधान भएन भन्न सक्ने अवस्था छैन । यसलाई सुरक्षाका हिसाबले मात्रै हेर्न मिल्दैन’ गृहमन्त्रीलाई एक सुरक्षा प्रमुखले घटनाबारे विश्लेषण सुनाए ।
ती सुरक्षा प्रमुखका अनुसार सुनसरीको घटना अब सुरक्षामात्रै नभएर राजनीतिक, सामाजिक र धार्मिक कोणबाट पनि हल खोजिनुपर्ने निष्कर्ष थियो । ‘हामीले प्रष्ट रुपमा भन्यौं । सुरक्षाकर्मी मात्रै थपेर समाधान हुन गाह्रो छ । यसलाई सामाजिक, धार्मिक, राजनीतिक माध्यमबाट सद्भाव कायम राख्ने प्रयास गरिनुपर्छ’ छलफलमा सहभागी एक अधिकारीले अनलाइनखबरसँग भने ।

छलफलमा यसअघि पनि सिंहदरबार त बन्छ तर मान्छेको ज्यान फेरि कहाँ आउछ भन्नेसम्मका भाष्य निर्माण भएकाले तोडफोड र आगजनी हुनसक्ने तर्फ समेत संकेत गरिएको थियो । सुरक्षा निकायले यी सबै विषयहरू ब्रिफिङ गर्दा गृहमन्त्री गुरुङले चुपचाप सुनिरहे ।
सुरक्षाकर्मी मात्रै फिजाएर नहुने र यसलाई ‘सेफ साइड’मा लैजाने राजनीतक दलहरू नै अग्रसर हुनुपर्ने प्रष्ट सन्देश सुुरक्षा निकायले सुनाएका थिए । जति ढिलो हुन्छ अन्य जिल्लाहरूमा पनि यस्तो किसिमका हिंसा भड्किने जोखिम हुनसक्नेतर्फ पनि संकेत गर्दै राजनीतिक पहलकदमी लिन सरकारलाई सुरक्षा संयन्त्रले सुझाव दिएका थिए ।
अघिपछिको कुनै आन्दोलन तथा भीड नियन्त्रण गरेजस्तो सुनसरी घटनामा सुरक्षा सक्रियतामात्रै देखाउँदा अझै थुप्रै नोक्सानी हुने भन्दै सुझाव दिएको विषयलाई गृहमन्त्री गुरुङले पनि मनन गरेको बताएका थिए ।
सुरक्षा निकायले मंगलबार साँझमा गरेको ब्रिफिङले राष्ट्रिय स्तवन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विज्ञप्ति जारी गर्दै सर्वदलीय बैठक आह्वान गरेका थिए । संसदमा प्रतिनिधित्व गर्ने दलहरु बाहेक, उपेन्द्र यादव, सीके राउत, महन्थ ठाकुरलगायतलाई बैठकमा डाकिएको थियो ।
बुधबार बिहान सर्वदलीय बैठक समेत बसिसकेको छ । सबैको साझा अपिल आउने रास्वपा सभापति लामिछानेले बताएका छन् । केन्द्रमा सर्वदलीय बैठक बसेपछि कोशी प्रदेशमा पनि प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सर्वदलीय बैठक डाकेका छन् ।
असन्तुष्ट विषयहरू पनि रहेकाले तिनीहरूको राजनीतिक सम्बोधन गरिनुपर्नेबारे सुरक्षा निकायले सुझाव दिएका थिए । ‘अहिले पनि थुप्रै असन्तुष्टिका स्वरहरू सुनिन्छ । तिनीहरूलाई सुरक्षा संयन्त्रबाट भन्दा पनि राजनीतिक हल खोज्नु उपयुक्त हुनेबारे पनि हामीले भनेका छौं,’ एक सुरक्षा अधिकारी भन्छन् ।
गृहमन्त्री सुरक्षामै केन्द्रित
मंगलबार साँझ गृहमा छलफल गर्नुअघि सोमबार साँझ पनि मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । सुरक्षा समितिमा भने गृहमन्त्री गुरुङले किन गोली चलाएको भन्ने विषयमा बढी केन्द्रित भएका थिए ।
‘उहाँहरूले सुरक्षा भनेको गणित हल गरेजस्तो, अलि टेक्निकल कुरा राख्नुभएको थियो । हामीले विभिन्न घटनाक्रमहरू र उत्पन्न परिस्थिति र थप जटिलताबारे ब्रिफिङ गर्यौं,’ एक अधिकारी भन्छन्, ‘हेलिकप्टर पठाउनुपर्ने हो कि, स्थिति बुझ्न ड्रोन उडाउनु पर्ने हो कि, के गरेर हुन्छ तत्कालै समाधान हुनु पर्यो भन्ने गृहमन्त्रीको भनाइ छ ।’

यता सशस्त्र र नेपाल प्रहरीले भने आफूलाई हवाई फायर भएको रिपोर्टिङ आएको सुनाएका थिए । हवाई फायर भनिए पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए । ८ साउनमा आईजीपी दानबहादुर कार्कीले सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै अवैध रुपमा नेपाल प्रवेश गर्ने क्रम बढेको बताएका थिए । यो विषय उठाउँदै सोमबार सुरक्षा समितिको बैठकमा गृहमन्त्री गुरुङले ‘किन बोलेको’ भनेका थिए । यसमा गृहमन्त्री केही असन्तुष्ट देखिएका थिए ।
तर आईजीपी कार्कीले भनेजस्तै पछिल्लो पटक दुई रोहिंग्या भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको पाइएको छ । एक जनालाई २० हजार रुपैयाँ लिएर बिचौलियाले नेपाल प्रवेश गराएको पाइएको थियो । अहिले नेपालमा ४ सयको हाराहारीमा रोहिंग्या रहेका छन् ।
पहाडबाट तराई झारियो सुरक्षाकर्मी
छलफलमा सुरक्षा व्यवस्था कसरी मजबुत पार्ने बारे पनि कुराकानी भएको थियो । थप क्षति हुन नदिने आवश्यक के–के गर्नुपर्ने हो गर्नु भन्ने निर्देशन गृहमन्त्री गुरुङको थियो । सुनसरी घटनापछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अहिले तराई केन्द्रीत सुरक्षा बढाइएको छ । पहाडी जिल्लामा रहेका सुरक्षाकर्मीेलाई अहिले तराइएका जिल्लाहरूमा पठाइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी दुबैले अहिले तराई केन्द्रीत सुरक्षा निगरानी बढाएका छन् । पहाडी जिल्ला तथा गणहरूमा रहेका सुरक्षाकर्मीलाई सुरक्षा संवेदनशीलताका आधारमा सुनसरी, मोरङ, सिरहा, सप्तरीलगायतका जिल्लाहरुमा केन्द्रीत गरिएको छ ।

आफूले सकेको रचनात्मक काम गरेर सद्भाव कायम राख्ने प्रयास गरे, बल प्रयोग गर्दा सिलसिलेवार बल प्रयोगको नीति अवलम्बन गर भन्ने निर्देशन नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख्यालयको छ । केन्द्रस्तरबाट चाहिने आवश्यक सहयोगबारे बेलैमा जानकारी गराउने पनि जिल्लाका कमाण्डहरूलाई भनिएको छ ।
अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू संयुक्त रुपमा परिचालन भएका छन् । सुरक्षा संवेदनशीलताका आधारमा विभिन्न व्यक्ति तथा समूहमाथि पनि विशेष निगरानी बढाइएको सुरक्षा स्रोतले बताएको छ ।
बुधबार मध्यान्हसम्म शान्त कप्तानगञ्ज
देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको विवादपछि स्थिति नियन्त्रणमा दिन भन्दै सुरक्षाकर्मीले चलाएको गोलीबाट कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति मृत्यु भयो ।
एउटा पक्षले झण्डा नहटाएको र अर्को पक्षले चर्को आवाजमा डीजे बजाएको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको र स्थिति नियन्त्रणमा लिने क्रममा हवाई फायर गर्दा एक जनाको मृत्यु भएको दाबी सुरक्षा निकायको छ । यसरी घातक हतियारबाट गोली चलाउनु नै गलत भएको सशस्त्र प्रहरीका पूर्वएआईजी नारायणबाबु थापा बताउँछन् ।
‘बल प्रयोगको एउटा सिद्धान्त हुन्छ, त्यसको पालना भएको देखिँदैन । त्यसमाथि यसरी घातक हतियारबाट एकै पटक गोली चल्नुपर्ने ठिक होइन’ उनी भन्छन् । एक जनाको मृत्यु र ९ सर्वसाधारण घाइते भएपछि तनाव बनेको सुनसरी मंगलबार साँझ फेरि झडपमा परिणत भएको थियो । मंगलबार तोडफोड, आगजनी, झडप भएको सुनसरी अहिले भने शान्त बन्दै गएको बताइएको छ । बुधबार दिउँसो २ बजेसम्म कुनै ठूलो तोडफोड र आगजनीको रिपोर्टिङ नभएको सशस्त्र र प्रहरी हेडक्वाटरले बताएका छन् ।
कप्तानगञ्जमा आइतबार राति भएको घटनाको छानबिन गर्न गठित समितिका टोली बुधबार घटनास्थल पुगेका छन् । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापा नेतृत्वको ५ सदस्यीय टोलीले सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन एक हप्ताको समय पाएको छ ।
प्रतिक्रिया 4