+
+
Shares

प्रधानमन्त्रीलाई सभामुखको सुझाव– संसद्‌मा सम्बोधन गर्दा राम्रै हुन्छ

सभामुख अर्यालका अनुसार जवाफमा प्रधानमन्त्री शाहले ‘विचार गर्छु’ भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले समसामयिक विषयमा सदनलाई सम्बोधन गर्न प्रधानमन्त्री बालेन शाहलाई सुझाव दिनुभएको छ ।
  • मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीको सुविधासम्बन्धी लगायतका ९ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
  • प्रतिनिधिसभाको बैठक दुई साताको स्थगनपछि बिहीबार पुनः सुरु हुँदैछ जसमा संसद्को प्रभावकारिता र कार्यसूचीका विषयमा छलफल हुनेछ ।

१३ साउन, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित भएर समसामयिक विषयलाई सम्बोधन गर्दा राम्रो हुने सुझाव दिएका छन् ।

सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री बालेनलाई सभामुख अर्यालले यस्तो सुझाव दिएका हुन् । सभामुख अर्यालले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गरेका हुन् ।

भेटबारे जानकारी दिँदै सभामुख अर्यालले भने, ‘मैले प्रधानमन्त्रीलाई समसामयिक विषयमा सदनमा सम्बोधन गर्दा राम्रो हुन्छ भनेँ ।’ सभामुख अर्यालका अनुसार जवाफमा प्रधानमन्त्री शाहले ‘विचार गर्छु’ भनेका छन् ।

यसअघि सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका थिए ।

प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

मंगलबार नै सभामुख अर्यालले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए ।

भेटका क्रममा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो ।

साथै, संसद्को बिजनेसको विषयमा समेत छलफल भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न ९ वटा विधेयकलाई संघीय संसद्समक्ष पेश गर्नका लागि स्वीकृत दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृत दिने निर्णय भएको हो ।

जसमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक रहेको छ ।

खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संसद्मा पेश गर्ने गरी मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।

राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक पनि संसद्मा पेश हुनेछन् ।

आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेश गर्ने गरी मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।

संसद्मा आएका विधेयक अगाडि बढाउने विषयका साथै प्रतिनिधिसभाको क्यालेन्डर बनाउने लगायतका विषयमा सभामुख अर्यालले बिभिन्न राजनीतिका दलका मुख्य सचेतक, प्रमुख सचेतक, सचेतक र नेताहरूसँग भेटवार्ता गरेका हुन् ।

यसक्रममा प्रधानमन्त्री शाहसँग समेत छलफल भएको हो ।

संसद्मा प्रधामन्त्रीसँग सांसदहरूले कतिवपय विषयमा जवाफ माग गरिरहेका छन् । प्रतिनिधिसभा नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समेत सञ्चालन हुन सकेको छैन ।

यो पृष्ठभूमिमा प्रधानमन्त्री शाहसँग सभामुख अर्यालको भेट भएको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’

‘सभामुखले गर्नेछ’ भनेर राखिएको यो बाध्यकारी व्यवस्था हो । केहीगरी तय भएको दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसके लगत्तै बस्ने बैठकमा गर्नुपर्ने भनिएको छ ।

नियम ५६ को उपनियम १ मा अगाडि भनिएको छ, ‘तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ ।’

तर, यस्तो प्रावधान कार्यान्वयन भएको छैन ।

१७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूको प्रश्न लिएर जवाफ दिएका थिए । तर उक्त कार्यक्रमको प्रक्रियामा त्यसैदिन सदनमा सांसदहरूले प्रश्न उठाएका थिए ।

त्यसयता फेरि प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन सकेको छैन ।

साथै, संसद्मा आकस्म्कि समय, शून्य समय र विशेष समयमा उठेका प्रश्नहरूको जवावफ सम्बन्धित मन्त्रीले सात दिनभित्र दिनुपर्ने व्यवस्था छ । यो पनि कार्यान्वयन हुन सकेको छैन ।

यस पृष्ठभूमिका सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेट भएको हो ।

दुई साता स्थागित भएको प्रतिनिधिसभाको बैठक बिहीबारबाट सुरु हुँदैछ ।

यो पृष्ठभूमिमा संसद्को बिजनेस, प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने लगायतका विषयमा सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?