News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र बाहिरिने र हुबहु दोहोरिने समस्या हालको अत्यधिक केन्द्रीकृत र पुरानो परीक्षा प्रणालीका कारण सिर्जना भएको हो।
- प्राध्यापक डा. पेशल खनालले परीक्षा प्रणाली सुधार गर्न प्रश्नपत्रलाई अनुसन्धानमुखी, सिर्जनात्मक र आलोचनात्मक बनाउनुपर्नेमा जोड दिएका छन्।
त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र बाहिरिने र अघिल्लो वर्षको प्रश्नपत्र हुबहु आउने समस्या सामान्य झैं भएको छ । त्रिविको परीक्षा प्रणालीमा नै प्रश्न उठेको छ । परीक्षा प्रणालीमा कहाँ कहाँ समस्या छ ? समाधानका उपाय को हो त ? त्रिविको पाठ्यक्रम मूल्याङ्कन विषयका प्राध्यापक डा. पेशल खनालसँग अनलाइनखबरकर्मी दिनेश गौतमले गरेको कुराकानीको अंश :
तपाईंले त्रिभुवन विश्वविद्यालयमा निरन्तर २५ वर्ष सेवा गर्नुभएको छ । हालै दीर्घ सेवा पदक पनि प्राप्त गर्नुभयो। २५ वर्षको यो यात्रा कस्तो रह्यो?
२०५२ सालदेखि शिक्षण क्षेत्रमा छु । २०५२ देखि २०५७ सालसम्म माध्यमिक विद्यालयमा अध्यापन गराएँ । त्यसपछि २०५७ सालदेखि अहिलेसम्म त्रिभुवन विश्वविद्यालयमा निरन्तर अध्यापन गरिरहेको छु । शिक्षण–सिकाइ, जिम्मेवारी र भूमिकाका हिसाबले हेर्दा यो निकै लामो यात्रा हो ।
यस अवधिमा आफ्नै पहिचान, क्षमता र भूमिकामा पनि उल्लेखनीय परिवर्तन आएको महसुस गरेको छु ।
आफूले रोजेको पेसामार्फत केही राम्रो काम गर्न सकियो, धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकियो भन्ने अनुभूतिले सन्तुष्टि मिल्छ ।
तपाईं पाठ्यक्रमसँग सम्बन्धित विषय अध्यापन गराउनुहुन्छ । मुलतः आज हामी त्रिविमा प्रश्नपत्र बाहिरिने र हुबहु प्रश्न दोहोरिने समस्यामा केन्द्रीत हुन्छौं । तपाईं विदेशमा अध्ययन गरेर आउनुभयो । उताका विश्वविद्यालयमा परीक्षा प्रणाली कस्तो हुन्छ ?
अहिले शिक्षा क्षेत्रमा गम्भीर बहस हुनुपर्ने विषय यही हो। अहिलेको परीक्षा प्रणाली रहुन्जेल यस्ता समस्या निरन्तर देखिइरहन्छन् । हामीले विद्यालय र विश्वविद्यालयमा अपनाइरहेको परीक्षा प्रणाली अत्यन्तै केन्द्रीकृत छ ।
सबै विद्यार्थीलाई एउटै प्रश्नपत्र र एउटै विधिबाट मूल्यांकन गर्ने प्रणाली विश्वका विश्वविद्यालयहरूको विकासक्रम हेर्दा निकै पुरानो मोडल हो।

विदेशका विश्वविद्यालयमा हामीकहाँ जस्तो डिन कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयबाट सम्पूर्ण विद्यार्थीका लागि एउटै केन्द्रीकृत परीक्षा सञ्चालन गर्ने अभ्यास हुँदैन।
पहिले विद्यालय शिक्षा र उच्च शिक्षाबीचको भिन्नता बुझ्नुपर्छ। विश्वविद्यालय भनेको उच्च तहको बौद्धिक, संज्ञानात्मक र व्यवहारगत क्षमता विकास गर्ने ठाउँ हो ।
यस्तो क्षमताको मूल्यांकन तीन घण्टाको लिखित परीक्षाबाट मात्र गर्न कठिन हुन्छ। विद्यार्थीको समग्र सिकाइ, क्षमता र प्रदर्शनलाई हेर्नुपर्छ।
यदि मैले ३० जना विद्यार्थी पढाउँछु भने पाठ्यक्रमले तोकेका उच्च तहका क्षमताहरू उनीहरूमा विकास गराउने जिम्मेवारी मेरो हो। जब त्यो जिम्मेवारी पूर्ण रूपमा शिक्षकमै रहन्छ । धेरै समस्या स्वतः समाधान हुन्छन् । तर हाम्रो प्रणालीमा पढाउने व्यक्ति एउटा, प्रश्नपत्र बनाउने अर्को, मोडरेसन गर्ने अर्को, परीक्षा सञ्चालन गर्ने अर्को र उत्तरपुस्तिका जाँच्ने अर्को हुन्छ। यसरी हामीले अत्यधिक केन्द्रीकृत प्रणाली बनाएका छौँ।
एउटा लिखित प्रश्न सोधेर लाखौँ विद्यार्थीबाट लगभग एउटै प्रकारको उत्तर अपेक्षा गर्ने प्रणाली अहिलेका विश्वविद्यालयका लागि पुरानो अभ्यास हो । विकसित विश्वविद्यालयहरूमा मूल्यांकन शिक्षककै जिम्मेवारीमा हुन्छ। तीन घण्टाको परीक्षा लिन सकिन्छ, तर त्यसको सम्पूर्ण जिम्मेवारी शिक्षककै हुन्छ ।
अहिलेसम्म हामीले सोध्ने धेरैजसो प्रश्न यस्ता छन्, जसको उत्तर सबै विद्यार्थीबाट लगभग एउटै आउने अपेक्षा गरिन्छ। उदाहरणका लागि, हाम्रो परीक्षा प्रणालीले सोध्ने प्रश्न हुन्छ, ‘बसाइँसराइ भनेको के हो? बसाइँसराइका तीनवटा फाइदा र तीनवटा बेफाइदा लेख।’ यस्तो प्रश्न सोधियो भने एक लाख विद्यार्थीले लगभग एउटै उत्तर लेख्छन्। किनभने उनीहरूले किताबमा पढेको कुरा दोहोर्याउँछन्।

तर उच्च शिक्षामा प्रश्नको स्वरूप फरक हुनुपर्छ। उदाहरणका लागि, ‘तपाईंको पाँच पुस्तासम्मको परिवारको बसाइँसराइको इतिहास खोज्नुहोस्। किन बसाइँसराइ भयो? त्यसले तपाईंको परिवार र जीवनमा कस्तो परिवर्तन ल्यायो? त्यसलाई विश्लेषण गर्नुहोस्’ भन्ने प्रश्न सोध्न सकिन्छ।
यस्तो प्रश्नमा दुई जना विद्यार्थीले एउटै उत्तर लेख्न सक्दैनन्। विद्यार्थीले आफैं खोजी गर्नुपर्छ। अर्काको उत्तर सारेर हुँदैन। चिटबाट पनि हुँदैन। पाठ बसाइँसराइकै हुन्छ, तर उत्तर आफ्नै जीवनसँग जोडिएर आउँछ।
त्यसैले शिक्षकले यसरी सोच्ने र मूल्यांकन गर्ने हो भने अहिलेको केन्द्रीकृत परीक्षा प्रणाली आवश्यक पर्दैन।
हाम्रो परीक्षा प्रणाली यति पुरानो छ कि प्रश्नपत्र लैजाँदा प्रहरीको सुरक्षा चाहिन्छ। प्रश्नपत्रको पोका प्रहरी कार्यालयमा राखिन्छ। परीक्षा सुरु हुनुअघि मुचुल्का उठाएर मात्र परीक्षा केन्द्रमा लैजानुपर्छ। यो सबै अविश्वासमा आधारित प्रणाली हो। प्रश्न बनाउने र मूल्यांकन गर्ने शिक्षक नै हो भने प्रश्नपत्र बोक्ने जिम्मेवारी पनि शिक्षककै हुनुपर्ने हो। तर अहिले प्रश्नपत्र प्रहरीले बोक्छ। त्यसैले सोच परिवर्तन गर्नुपर्छ। यसमा शिक्षकको व्यावसायिकता र नैतिकता दुवै महत्त्वपूर्ण हुन्छ।
प्रश्नपत्र चुहावटको समस्या अहिलेको पुरानो परीक्षा प्रणालीको एउटा परिणाम हो। जबसम्म परीक्षा नियन्त्रण कार्यालय वा डिन कार्यालयले एउटै प्रश्नपत्र बनाएर सयौँ परीक्षा केन्द्रमा पठाउने र विद्यार्थीलाई एउटै प्रश्नपत्रमा बाँधेर परीक्षा लिने प्रणाली कायम रहन्छ, तबसम्म प्रश्नपत्र चुहिने, उत्तरपुस्तिका र मूल्यांकनसम्बन्धी समस्या दोहोरिइरहन्छन्।
यसको दीर्घकालीन समाधान भनेको उच्च शिक्षामा शिक्षकको स्वायत्तता, व्यावसायिकता र नैतिकतालाई केन्द्रमा राखेर शिक्षकलाई नै पूर्ण जिम्मेवार बनाउनु हो।
यो प्रणालीमा पनि प्रश्नपत्र चुहिने र हुबहु दोहोरिने समस्या देखिन्छ। यो संस्थागत कमजोरी हो वा कुनै गिरोह सक्रिय देख्नु हुन्छ ?
यो निकै जटिल प्रश्न हो। अहिलेको परीक्षा प्रणालीमा धेरै चरण हुन्छन् र समस्या जुनसुकै चरणबाट पनि उत्पन्न हुन सक्छ। कुनै शिक्षकले आफ्नो ल्यापटपमा प्रश्नपत्र तयार गरेर सम्बन्धित निकायमा बुझाउनुभयो। उहाँ पूर्ण रूपमा इमानदार हुनुहुन्थ्यो।
तर त्यो ल्यापटप परिवारका अन्य सदस्यले पनि प्रयोग गर्ने रहेछन् भने जानाजान वा अनजानमा प्रश्नपत्र बाहिरिन सक्छ।
त्यसपछि मोडरेसन, टाइपसेटिङ, छपाइ, प्याकेजिङ, सिलबन्दी र ढुवानीसम्मका धेरै चरण हुन्छन्। यी सबै चरणमा अन्ततः मानिसमाथि नै विश्वास गर्नुपर्ने हुन्छ।
नेपालजस्तो भौगोलिक अवस्थाको देशमा प्रश्नपत्र विभिन्न ठाउँमा पुर्याउनुपर्छ। बाढी, पहिरो वा अन्य कारणले पनि जोखिम हुन सक्छ। त्यसैले हरेक चरणमा व्यावसायिकता र नैतिकता आवश्यक हुन्छ ।
अहिले प्रश्नपत्र ह्वाट्सएपबाट बाहिरिएको कुरा आइरहेको छ। तर प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै अझ नयाँ चुनौती थपिएका छन्। विद्यार्थीले प्रश्नको फोटो खिचेर एआईबाट तुरुन्त उत्तर तयार गर्न सक्छन्।
उत्तरपुस्तिका परीक्षण गर्दा पनि यस्तो समस्या देखिन थालेको छ। कुनै विद्यार्थीलाई सामान्य अंग्रेजीमा एउटा वाक्य लेख्न कठिन हुन्छ, तर उत्तरपुस्तिकामा भने अंग्रेजी लेखकले लेखेजस्तो उत्तर भेटिन्छ। यसले विद्यार्थीको वास्तविक क्षमताभन्दा फरक अवस्था देखाउँछ।
त्यसैले परीक्षा प्रणाली परिवर्तन नगर्ने हो भने अहिले देखिएका समस्या अझ गम्भीर बन्दै जान्छन्।
प्रश्नपत्र निर्माणदेखि परीक्षा केन्द्रसम्म विभिन्न चरणमा चुहिने सम्भावना रहयो ?
केन्द्रसम्म मात्र होइन, सबैभन्दा ठूलो जोखिम प्रश्नपत्र विद्यार्थीको हातमा पुगेपछि सुरु हुन्छ। विद्यार्थीले प्रश्नपत्र हातमा परेको एक मिनेटभित्रै फोटो खिच्न सक्छ। सामाजिक सञ्जालका समूहबाट केही मिनेटमै हजारौँ मानिससम्म पुग्न सक्छ।
त्यसपछि साथी वा सहयोगीहरूले सम्भावित उत्तर पठाउन सक्छन्। मोबाइल हेरेर उत्तर लेख्न सक्ने अवस्था आउँछ। यस्तो अवस्थालाई पूर्ण रूपमा रोक्नु निकै कठिन छ।
एआईबाट लेखेजस्तो देखिने उत्तरको मूल्यांकन कसरी गर्नुहुन्छ ?
यो निकै जटिल विषय हो। अहिले पनि हामी उत्तरपुस्तिकालाई स्वतन्त्र रूपमा मूल्यांकन गर्छौँ। एउटा विद्यार्थीको उत्तर अर्को विद्यार्थीसँग तुलना गरेर होइन, उसले लेखेको आधारमा मूल्यांकन गरिन्छ।
विद्यार्थीलाई फेल गराउने उद्देश्य शैक्षिक संस्थाको होइन। संस्थाको उद्देश्य विद्यार्थीमा आवश्यक योग्यता विकास गर्नु हो।
विश्वका धेरै विश्वविद्यालयमा ओपन बुक परीक्षा सञ्चालन भइरहेका छन्। त्यहाँ विद्यार्थीलाई लामो समय दिइन्छ। पुस्तक, अनलाइन स्रोत वा एआईको प्रयोग गर्न सकिन्छ। तर प्रश्न अनुसन्धानमुखी, आलोचनात्मक र सिर्जनात्मक हुन्छ। त्यसैले समस्या कम हुन्छ।
त्रिभुवन विश्वविद्यालयले यस्तो अभ्यास किन गर्न सकेको छैन?
अगाडि बढ्न खोज्ने तर गियर परिवर्तन नगर्ने अवस्था जस्तै भएको छ। गाडी अगाडि बढाउन गियर परिवर्तन गर्नुपर्छ। तर हामी दशकौँदेखि एउटै परीक्षा प्रणालीमा चलिरहेका छौँ।
परीक्षा सुधारका लागि आवश्यक नेतृत्व, योजना, दृष्टि र साहस पर्याप्त रूपमा देखिएको छैन। विश्वविद्यालयलाई विश्वविद्यालयकै गरिमा र परिभाषाअनुसार रूपान्तरण गर्न हामी अझै सफल भएका छैनौँ।
प्रणाली सुधार गर्न तत्काल के गर्न सकिन्छ ?
सबैभन्दा पहिले प्रश्नपत्र निर्माणको शैली परिवर्तन गर्नुपर्छ। प्रश्न यस्तो हुनुपर्छ कि एउटै प्रश्न भए पनि उत्तर फरक–फरक आउन्। प्रश्न अनुसन्धानमुखी, सिर्जनात्मक र आलोचनात्मक हुनुपर्छ।

अल्पकालीन रूपमा अहिलेको परीक्षाभित्रै सुधार गर्न सकिने पक्षहरू तत्काल सुधार गर्नुपर्छ। प्रश्न निर्माणदेखि उत्तरपुस्तिका परीक्षण, पुनर्योग, नतिजा प्रकाशन र प्राविधिक त्रुटिसम्मका सबै चरणको समीक्षा गर्नुपर्छ।
तर सुधार प्रशासनिक वा ब्युरोक्रेटिक ढंगले होइन, शैक्षिक र विद्वतापूर्ण आधारमा हुनुपर्छ।
दीर्घकालीन रूपमा उच्च शिक्षामा शिक्षकलाई पूर्ण जिम्मेवारी दिने दिशामा जानुपर्छ। अहिलेको केन्द्रीकृत परीक्षा प्रणालीलाई विस्तारै विकेन्द्रीकरण गर्दै शिक्षकको स्वायत्तता र उत्तरदायित्वमा आधारित प्रणाली विकास गर्नुपर्छ। त्यसका लागि नेतृत्वमा स्पष्ट दृष्टि, प्रतिबद्धता र गियर परिवर्तन गर्ने साहस आवश्यक छ।
प्रतिक्रिया 4