News Summary
Generated by OK AI. Editorially reviewed.- नेदरल्यान्ड्ससँगको हारपछि क्रिकेट विश्वकप लिग २ मा नेपालको शीर्ष चारमा पर्ने सम्भावना लगभग सकिएको छ।
- कप्तान रोहित पौडेलले अबको मुख्य लक्ष्य शीर्ष ६ मा रहेर ओडिआई मान्यता जोगाउनु रहेको बताएका छन्।
- रोहित पौडेलले भने, ‘अन्तिम ४ खेल हाम्रा लागि धेरै महत्त्वपूर्ण छन्, मलाई यो टोलीमाथि पूर्ण विश्वास छ र हामी अझ बलियो रूपमा पुनरागमन गर्नेछौँ ।’
१३ साउन, काठमाडौं । क्रिकेट विश्वकप लिग २ मा लगातार चार खेलमा पराजित भएपछि शीर्ष चारमा रहँदै ओडिआई विश्वकपको ग्लोबल क्वालिफायर पुग्ने नेपालको सम्भावना निकै कठिन बनेको छ ।
शीर्ष चारको लागि एकदमै झिनो सम्भावना बाँकी रहेपनि एक खेलको नतिजाले नै नेपालको त्यो सम्भावना सकिन सक्नेछ ।
अब नेपालको लक्ष्य शीर्ष चार भन्दा पनि शीर्ष ६ मा रहँदै ओडिआई मान्यता जोगाउनेतर्फ हुनेछ । बुधबार नेदरल्यान्ड्ससँग पराजित भएपछि कप्तान रोहित पौडेलले पनि अब नेपालको ध्यान ओडिआई मान्यतामै केन्द्रित हुने बताएका छन् ।
होस्ट ब्रोडकास्टरसँग कुरा गर्दै कप्तान पौडेलले अब अन्तिम सिरिज बाँकी रहेको र शीर्ष ६ मा आफूहरुको नजर रहेको बताएका छन् । ‘ओडिआई मान्यता बचाउनका लागि अब हामीसँग अन्तिम सिरिज बाँकी छ । शीर्ष ६ मा पर्नु नै हाम्रो मुख्य लक्ष्य हो, कसरी पुनरागन गर्ने भन्ने प्रश्नमा रोहितले भने, ‘अन्तिम ४ खेल हाम्रा लागि धेरै महत्त्वपूर्ण छन् । त्यसका लागि तयारी पनि निकै महत्वपूर्ण हुनेछ । मलाई यो टोलीमाथि पूर्ण विश्वास छ र हामी अझ बलियो रूपमा पुनरागमन गर्नेछौँ ।’
२०२४-२६ को लिग २ साइकलमा उत्कृष्ट ८ एसोसिएट टिमले प्रतिस्पर्धा गरिरहेका छन् र यसमा शीर्ष चारमा रहने टिमले सिधै ओडिआई विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् । पूछारका चार राष्ट्रले भने ग्लोबल क्वालिफायरमा लागि क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ । यस पटक लिग २ को शीर्ष ६ मा रहने टिमको ओडिआई मान्यता कायम रहने चर्चा रहेपनि आधिकारिक रुपमा भने आईसीसीले सार्वजनिक गरेको छैन ।
नेदरल्यान्ड्समा भएको लिग २ सिरिजमा नेपालले खेलेको सबै चार खेलमा हार बेहोर्दै जितविहिन बनेपछि नेपालको शीर्ष चारको सम्भावना लगभग सकिएको हो । सम्भावित ८ अंक मध्ये नेपालले कुनै अंक जोड्न नसक्दा अंकतालिकामा समेत असर गर्यो ।
शीर्ष चारमा रहन नेपालले अब बाँकी चार खेल जितेर मात्र पुग्दै अन्य चार टोलीको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ । ओमानले बाँकी ८ मध्ये एक खेल मात्र जितेपनि वा नेपाल आफ्नो एक खेलमा मात्र पराजित भएपनि नेपालको शीर्ष चारको समिकरण सकिनेछ ।
त्यसैले पनि कप्तान रोहित पौडेलले भने अब शीर्ष चार भन्दा ओडिआई बचाउनेमा केन्द्रित हुने बताएका हुन् ।
नामिबियासँग दुई खेल हारेपछि नेपाललाई नामिबियाले पनि उछिनेको छ । ३२ खेलबाट २४ अंक रहेको नेपाल छैटौं स्थानमा झरेको छ । नामिबिया ३१ खेलबाट २६ अंकसहित पाँचौ स्थानमा उक्लेको छ ।
नेपाल भन्दा पछि रहेका मध्ये क्यानडाको पनि समान २४ अंक नै छ तर रनरेटमा नेपाल भन्दा पछि छ । यस्तै युएई २४ खेलबाट १४ अंकसहित पूछारमा छ ।
शीर्ष स्थानमा रहेको अमेरिकाले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरिसकेको छ । अमेरिकाको ३२ खेलबाट ४३ अंक छ । नेपाललाई हराएपछि ३१ खेलबाट ३८ अंक जोडेको नेदरल्यान्ड्स पनि दोस्रो स्थानमा उक्लँदै ग्लोबल क्वालिफायर नजिक पुगेको छ । स्कटल्यान्डको पनि ३२ खेलबाट समान ३८ अंक छ । ओमान २८ खेलबाट ३१ अंकसहित चौथो स्थानमा छ ।
PHOTO: FB/CAN
प्रतिक्रिया 4