Comments Add Comment

घरभित्रको धुँवा, यसका असर र समाधानका उपाय

१. परिचय

काठमाडौं विश्वको अति प्रदुषित शहरमा परेको, काठमाडौंका अधिकांश मानिसहरुमा श्वास प्रश्वासको समस्या देखा परेको, क्यान्सरका विरामीको संख्यामा अधिक बृद्धि भैरहेको जस्ता समाचारहरु अचेल प्रशस्त सुन्न, पढ्न र देख्न पाइन्छ । हामी बस्ने घर, सवारी साधन वा अन्य भित्री वातावरणको प्रदुषणको अवस्था पनि त्यस्तै खराब छ । फलफूल, तरकारी र अन्य खाद्य प्रदार्थमा अखाद्य पदार्थको मिसावटको अबस्थाले मानव स्वास्थ्य दिनानुदिन संकटमा परेको छ ।

Buddhi-p-sapkotaविद्यालयमा बालबालिका बस्ने कोठाको भूईं धुलाम्मे भएको र बालबालिकाको चालका आधारमा धुलाका कणहरु कोठाभरि फैलिरहेको अवस्था छ । भान्सामा बस्ने महिलाहरुमा कैयौं खिल्ली चुरोट सेवन गरे बराबर धुँवा र वायु प्रदुषण भित्रिरहेको छ । हामी, हाम्रो समाज र सन्ततीहरु यी यावत समस्याहरुबाट पिरोलिन परेको सन्दर्भमा यस लेखमा घरभित्रको धुँवा, यसका असर र समाधानका उपायहरुका बारेमा प्रकाश पार्ने प्रयास गरिएको छ ।

मानव जीवनका लागि अत्यावश्यक ५ तत्वहरु वायु, जल, ताप, प्रकाश र खानामध्ये वायु एक हो । खाना, पानी, वायु र प्रकाश विना मानिस केही समय बाँच्न सक्छ तर हावाविना केही मिनेट पनि बाँच्न सक्दैन । वायु पृथ्वीको सतहमा निःशुल्क उपलब्ध हुन्छ र प्राकृतिक रुपमा यो शुद्ध हुन्छ । हामीलाई अत्यावश्यक अक्सिजन लगायत विभिन्न किसिमका ग्यासहरू यसमा रहेका हुन्छन् । जब हाम्रो वरपर रहेको हावामा एक वा एकभन्दा बढी वाहृय तत्वहरु जस्तै हानिकारक ग्यासहरु, रासायनिक तत्वहरु र सुक्ष्म कणहरु मानव, जनावर र रुखबिरुवाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गरी (निश्चित मात्राभन्दा बढी) प्रवेश गर्छन् तब त्यसलाई हामी वायु प्रदुषण भन्दछौं । शुद्ध वायुमा वाहृय बस्तु तत्वहरुको प्रवेश नै वायु प्रदुषणको मुख्य कारण हो, जुन मानव स्वास्थ्यका लागि हानिकारक छ ।

मानिसले आफ्नो जीवनको अधिकांश (करीब ९० प्रतिशत) समय घरभित्र (घर कार्यालय आदि) बिताउँछ । विकासशील देशका करिव ३ अरब मानिसहरुले खाना पकाउन तथा तापका लागि जौविक ऊर्जा अर्थात काठ दाउरा प्रयोग हुने चुलो प्रयोग हुने भएकाले र यसको प्रत्यक्ष प्रभावमा विशेषगरी महिला बालबालिका र बुढाबुढी पर्ने भएकाले यसको बारेमा जानकारी लिनुपर्ने जरुरी हुन्छ । विभिन्न्ा श्रोतबाट हामी रहने घर, विद्यालय, कारखाना वा कायर्यस्थल भित्रको हावा प्रदुषित हुनुलाई घरभित्रको वायु प्रदुषण भनिन्छ । घरभित्रको धुवाँका कारण विश्वमा करिब बीस लाख मानिसहरुले प्रतिवर्ष ज्यान गुमाउने गरेका छन् । विश्वमा मानव मृत्युका प्रमुख कारणहरुमध्ये घरभित्रको धुवाँ चौथो स्थानमा पर्दछ । पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुपोषण, असुरक्षित यौन सम्पर्क र असुरक्षित खानेपानी तथा सरसफाईको कमी रहेका छन् । घरभित्रको धुवाँको अध्ययन भन्नाले यसको उत्पति, संग्रह र लेखाजोखा को अध्ययनलाई बुझाउँछ । विश्वमा प्रतिवर्ष २० लाख भन्दा बढी मानिसहरु घरभित्रको धुँवाका कारण मर्दछन् भने ५ बर्ष मुनीका बच्चाहरुलाई स्वासप्रश्वासको समस्याका कारण मृत्यु हुन्छ ।

२. घरभित्रको वायु प्रदुषणका श्रोतहरु

chulhoक) जलनबाट प्राप्त हुने श्रोत

तेल, ग्यास, मट्टीतेल, कोइला, दाउरा आदि जसलाई ताप, प्रकाश र खाना पकाउने काममा प्रयोग गरिन्छ ।

ख) घरका प्रयोग हुने र उपभोग्य सामाग्रीः कार्पेट, रंगरोगन, नयां फर्निचर, घर सफाइका सामाग्रीहरु ब्यक्तिगत कस्मेटिक सामाग्रीहरु आदि ।

ग) जैविक प्रदुषणः ब्याक्टेरिया, ढुसी, भाइरस, जनावर र घरायसी कीटाणुहरु आदि ।

घ) अन्य श्रोतहरुः धुम्रपान, अगरबत्ती र बाहिरको प्रदुषित वायु आदि ।

३. घरभित्रको वायु प्रदुषणका कारणहरुः

नेपाल लगायत विकासोन्मुख देशमा खाना पकाउन बालिने इन्धन खासगरी दाउरा, गुइँठा आदिबाट निस्कने धुँवा घरेलु वायु प्रदुषणको एक मुख्य कारण रहेको छ । हावा राम्रोसँग नखेल्ने (भेन्टिलेसन विनाको) भान्छाकोठामा परम्परागत चुलोमा दाउरा, कोइला, गुइँठा, कृषिजन्य अवशेष आदि जस्ता ठोस इन्धन प्रयोग गरी खाना पकाउँदा घरभित्र अत्यधिक मात्रामा वायु प्रदुषण हुन्छ । घरभित्रको वायु प्रदुषणका लागि ढुसी, भाइरस, ब्याक्टेरिया, फर्निचरहरु, सफाइ र मर्मतका सामाग्री, कस्मेटिक्सका सामाग्री र विषादीहरु र बाहृय वायुप्रदुषणहरु जिम्मेवार रहेपनि यसको मुख्य श्रोतहरुमा कोइला, तम्बाकु तथा इन्धनको प्रज्वलन र कमजोर भेन्टिलेसन रहेका छन् ।

dhuwaग्यास तथा ठोसका अति न्यून कणको जटिल मिश्रणको रुपमा रहेकोमा नाइट्रेट तथा सल्फेटहरु, जैविक रसायनहरु, धातु तथा ठोस कण र धुलोका कणहरु रहेका हुन्छन् । यसका कणका विशेषताहरुलाई यिनको ब्यासका आधारमा वर्गीकरण गरिन्छ । २० देखि ५० माइक्रोमिटर (१ मिटरको १००००००औं अंश) ब्यास भएका कणहरुलाई भनिन्छ । यस्ता कणहरु नाक र मुखबाट छानिन्ो भएकाले स्वास्थ्यमा यिनीहरुको प्रभाव न्यून हुन्छ । २.५ देखि १० माइक्रोमिटरसम्म ब्यास भएका कणहरुलाई पीएम १० भनिन्छ । यस्ता कणहरु श्वासनली र फोक्सोको माथिल्लो भागसम्म पुग्दछन् । २.५ माइक्रोमिटर भन्दा कम ब्यास भएका कणहरु धेरै हानिकारक मानिन्छन् । किनकी यिनीहरु फोक्सोको भित्री भागसम्म पुग्दछन् र रगतसँग मिसिएर विभिन्न्ा रोगहरु निम्त्याउँछन् ।

हाम्रो एउटा रौंको ब्यासलाई १०० माइक्रोमिटर लिँदा ब्याक्टेरियाको ब्यास १० पीएम, सडक धुलोको ५, कोईलाको धुवाँको २ पीएम भाईरसको ब्यास ०.४ माइक्रोमिटर र सवारी साधनबाट निस्कने प्रदुषणको आकार ०.२ माइक्रोमिटर हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले वायु गुणस्तर निर्देशिका मार्फत केही स्तरहरु निर्धारण गरेको छ । यसले सन् २००५ मा प्रकाशन गरेको परिमार्जित निर्देशिकामा वायु प्रदुषणमा लागि जिम्मेवार पीएम-१० र पीएम-२.५ को २४ घण्टामा र वार्षिक रुपमा हुने औसत मात्रालाई निम्न तालिकामा देखाइएको छ ।

तह/स्तर

 

२४ घन्टा २४ घन्टा वार्षिक वार्षिक
PM10 (µg/m3) PM2.5 (µg/m3) PM10 (µg/m3) PM2.5  (µg/m3)
अन्तरिम लक्ष – १ १५० ७५ ७० ३५
अन्तरिम लक्ष -२ १०० ५० ५० २५
अन्तरिम लक्ष -३ ७५ ३७.५ ३० १५
WHO स्तर ५० २५ २० १०

श्रोतः Clean Air Initiative 2011

माथिको तालिकाबाट सामान्यतः २४ घण्टाको औसतमा पीएम-१० को मात्रा १ घनमिटर हावामा ५० माइकोग्राम वा सो भन्दा कम हुनुपर्छ भने पीएम-२.५ को मात्रा २० माइक्रोग्राम वा सो भन्दा कम मात्रामा हुनुपर्छ । विश्व स्वास्थ्य संगठनको यो निर्देशिका बमोजिम वायुको गुणस्तर कायम राख्न नसक्ने देशका लािग अन्तरिम लक्ष तह १, २ र ३ निर्धारण गरेको छ, जसमा केही गुणस्तरमा सहुलियत प्रदान गरिएको छ । अर्थात डब्ल्युएचओको निर्देशिका बमोजिम यदि वायुमा पीएम-१० को मात्रा ५० µg/m3 राख्न नसकिएको अवस्थामा अन्तरिम लक्षकोे तह ३, २ र १ मा क्रमशः प्रति घनमिटर १५, १०० र १५० माइक्रोग्रामसम्म PM10 को मात्रालाई सहन गर्न सक्ने सीमामा राखेको छ । हाम्रो देशमा प्रतिघनमिटर १२० माइक्रोग्रामसम्म PM10 भएको खण्डमा त्यसलाई स्वच्छ हावाको रुपमा लिएको छ ।

४. जैविक उर्जा र वायु प्रदुषणः

जैविक इन्धन भन्नाले ऊर्जाको रुपमा प्रयोग गर्न सकिने विरुवा र जनावरका अवयवहरुलाई जनाउँछ । विश्वको जनसंख्याको आधा भन्दा बढी जनसंख्या विषेश गरी एशिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका अधिकांश मानिसहरु अहिले पनि काठ, दाउरा, कोइला, गुइंठा, कृषिजन्य (पराल, जुट, धानको भुस, बाँस आदि) पशुजन्य बस्तुका अवशेष जस्ता अप्रशोधित जैविक ऊर्जाका श्रोतहरुमा भर पर्दछन् । वर्तमान तथ्यांकले के देखाउँछ भने कूल ऊर्जाको करीव ८९ प्रतिशत खाना पकाउने र तताउने प्रयोजनका लागि घरायसी रुपमा प्रयोग हुन्छ । यसमध्ये अधिकांश भाग दाउराको प्रयोगबाट प्राप्त हुन्छ ।

खाना पकाउने १० वटा स्थानमा नेपालमा गरिएको एक सर्वेक्षणले एः को घनत्व करिब ८००० µg/m3 (हाम्रो राष्ट्रिय स्तर १२० µg/m3), टीएसपी करीव ८,८०० µg/m3   (राष्ट्रिय स्तर २३० µg/m3) र  कार्वन मोनेाअक्साइड २१ पीपीएम् (राष्ट्रिय स्तर ८ घन्टाको औसतमा ९ पि.पि.एम.) पाइएको छ ।

जैविक उर्जा प्रयोग गरिएको स्थानहरुमा पाइएको यस खालको आंकडाले हामी सबैलाई गम्भीर चिन्तन गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ । राम्ररी नजलेको जैविक उर्जाका श्रोतहरुले करिब ४ हजार थरी जटिल मिश्रणहरु निस्कासन गर्छ ।

गोरखा, बेनी मुस्ताङ, र बर्दिवासमा परम्परागत चुलो र सुधारिएको चुलो (चिम्नी सहितको धुँवारहित चुलो)मा गरिएको एउटा अध्ययनमा परम्परागत चुलोको तुलनामा सुधारिएको चुलोमा अत्यधिक कम कार्वन मोनोअक्साइड र TSP पाइएको थियो । तुलनात्मक अध्ययनका लागि तलको तालिका हेर्न सकिन्छ ।

स्थान प्रदुषक परम्परागत चुलो सुधारिएको चुलो घटेको प्रतिशत
गोरखा

 

CO २८० PPM* ७० PPM ७५
TSP ३१७० µg/m3 ८७० µg/m3 ७३
बेनि

 

CO ३१० PPM ६४ PPM ७९
TSP ३११० µg/m3 १३७० µg/m3 ५६
मुस्ताङ

 

CO ६४ PPM ४१ PPM ३६
TSP १७५० µg/m3 ९२०µg/m3 ४७
बर्दिवास CO ८२.५PPM ११.६ PPM ८६
TSP ८२०० µg/m3 ३००० µg/m3 ६३

श्रोतः Reid 1989, 1990

उपयुक्त तरिकाले सुधारिएको चुलो जडान गरिएको खण्डमा घरभित्रको धुवाको मात्रामा उल्लेख रुपमा कमी आउने कुरालाई माथिको तालिकाले औल्याएको छ । घरभित्रको धुँवालाई ३० देखि ९० प्रतिशतसम्म कम गर्ने, एउटा चुलोले प्रति वर्ष करीब २.५ टन कार्बनडाइ अक्साइड उत्पादनमा कमी भई हरित गृह ग्यास उत्सर्जनका कमी ल्याउने, भान्सामा हुने आगलागीका घटनामा कमी आउने, महिलाहरुलाई दाउरा संकलन गर्न, खाना पकाउन, भाँडा माज्न लाग्ने समयमा बचत हुने जस्ता गुणहरु समेतले गर्दा यो प्रविधि लोकपि्रय छ । नेपालका अधिकांश बस्तीहरुमा झ्याल विनाका साना भान्साभित्र परम्परागत चुलोमा खाना पकाउने चलन भएकाले घरभित्रको धुँवाबाट हुने असरले स्वास्थ्यमा प्रतिकुल असर पार्ने दर उच्च रहेको बिभिन्न अध्ययनले देखाएको छ ।

५. घर भित्रको धुंवाका असरहरु

घरभित्रको धुँवाबाट विभिन्न किसिमले मानव स्वास्थ्यमा हानी गर्दछ । यो श्वासप्रश्वास र फोक्सोको रोगको प्रमुख कारण हो । खास गरेर महिला तथा उनीहरुका साना बालबच्चाहरू बढी समय भान्छाकोठामा बस्ने भएकाले उनीहरूलाई धुँवाले बढी खराब असर गर्दछ । यसका कारण घाँटी खसखसाउने, खोकी लाग्ने, कफ आउने नाकबाट पानी बग्नेे, आँखा बिझाउने, चिलाउने, हेर्न कठिनाई हुने, आँसु आउने, घाँटी दुख्ने, बच्चालाई निमोनिया हुने, मानसिक तनाव हुने आदि अल्पकालीन असरहरु हुन् । अत्यधिक धुँवामा बसेको खण्डमा श्वास फेर्न गार्‍हो हुने र निस्सासिएर मृत्यु समेत हुनसक्छ ।

धेरै समयसम्म दुषित वायु भएको वातावरणमा बस्नेहरूमा दम, दीर्घखोकी, फोक्सोको क्यान्सर, मोतियाबिन्दु आदि लाग्ने संभावना बढी हुन्छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार धेरै समय धुँवामा बस्ने गर्भवती महिलाका बच्चा समयभन्दा अगाडि जन्मने, कम तौलको बच्चा जन्मने र अत्याधिक प्रदुषणका कारण मृत बच्चाको जन्म हुनसक्ने सम्भावना रहन्छ । चुरोट सेवन गर्ने महिलाको अनुहारको चम्किलोपना हराउने, छाला पातलो तथा तन्किने हुन्छ ।

चुरोट सेवन क्यान्सरको प्रमुख कारक हो । नेपालका ८० प्रतिशत भन्दा बढी नेपालीहरु विशेष गरी ग्रामिण क्षेत्रका विपन्न परिवारहरु अत्यन्त जोखिमकोे अवस्थामा रहेका र विभिन्न रोगबाट पीडित भैरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा रोगका राष्ट्रिय भारको २.७ प्रतिशत भार घरभित्रको धुँवाको कारणले रहेको छ । यसको कारण वार्षिक ६५०० मानिसहरुको मृत्यु हुने गरेका छ ।

६. घर भित्रको धुँवा न्यूनिकरका उपायहरुः

घरभित्रको धुँवाको कारण मानव स्वास्थ्यमा पर्ने भयावह असर न्यूनिकरण गर्नका लागि विशेष गरी निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

dhuwa1(१) धुम्रपान निषेधः घरभित्रको वायुप्रदुषणको एउटा मुख्य कारण धुम्रपान पनि एक हो । घर, होटल, स्कूल, रेस्टुरेन्ट र अन्य सार्वजनिक स्थानमा धुम्रपान गर्नेर्हरु त प्रत्यक्ष रुपमा प्रभावित हुने नै भए यसबाट धुम्रपान नगर्ने ब्यक्तिहरुमा पनि क्यान्सर लगायतका रोगहरु लाग्ने गरेको कुरा अनुसन्धानबाट खुल्न आएको छ ।  सार्वजनिक स्थानमा धुम्रपान नगर्ने र जथाभावी बिक्री गर्न नपाइने प्रावधान कानूनमा भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकिरहेको अवस्था छ ।

(२) सार्वजानिक जनचेतनाः कतिपय मानिसहरुलाई यसको नकारात्मक असरका कारेमा जानकारी नभएको कारण पनि मानिसहरु यसबाट प्रभावित भएका छन् । उनीहरुलाई विभिन्न माध्ययमबाट घरभित्रको धुँवा र यसका असरका बारेमा जानकारी दिनुपर्छ । यसका लागि सरकारी, गैरसरकारी र नीजि क्षेत्रका संयन्त्रहरु तथा संचार माध्यमहरुको अत्यधिक प्रयोग गर्नुपर्दछ ।

(१) इन्धन प्रयोगको तरिकामा परिवर्तनः अप्रशोधित/कांचो जैविक इन्धनको सट्टा प्रशोधित/सुकेको इन्धन प्रयोग गर्ने । जैविक इन्धनको सट्टा ग्यास, बिजुली जस्ता उच्चस्तरीय ऊर्जाका श्रोतहरुको प्रयोग गर्ने । दाउराको सट्टा ब्रिकेट प्रयोग गर्ने ।

(२) चुलाको डिजाइनमा परिवर्तनः घरभित्रको धुँवा राम्ररी बाहिर जाने खालका, किफायती र समाजको आवश्यकता बमोजिमका सुधारिएको चुलोहरुको प्रयोग गर्ने । सुधारिएका चुलोहरुमा समेत समय अनुकूल परिमार्जन भै गुणस्तरमा सुधार आएको पनि पाइएको छ । माथिको तालिकाबाट पनि यसको पुष्टि हुन्छ ।

(३) भोन्टिलेसनको सुधारः भान्छा कोठामा प्रशस्त मात्रामा हावा ओहोर-दोहोर गर्ने गरी झ्यालहरुको ब्यवस्था गर्ने र यसलाई खुल्ला राखी स्वच्छ हावा प्रवेशको ब्यवस्था गर्ने ।

(४) बहु-पक्षीय संलग्नताः हेर्दा सामान्य लाग्ने तर जटिल असरकारी यस अभियानका लागि कुनै एक ब्यक्ति वा संस्था भन्दा पनि सवै क्षेत्र र तहबाट हातेमालेा गरी अघि बढ्नुपर्ने हुन्छ । स्थानीय रुपमा उपलब्ध हुने सामाग्रीबाट, स्थानीय चुलो प्रवर्द्धकले निर्माण गर्ने सुधारिएको चुलो वास्तवमा घर भित्रको धुवाँ न्यनीकरणको प्रमुख उपाय हो । यस क्षेत्रमा विभिन्न संघसंस्थाहरु कार्यरत छन् । मुख्यरुपमा ऊर्जा प्रवर्द्धन केन्द्रले अन्य वैकल्पिक ऊर्जाका अतिरिक्त घरभित्रको धुंवा नियन्त्रणका लागि कार्य गरिरहेको छ । राष्ट्रिय सुधारिएको चुलो कार्यक्रम र जैविक ऊर्जा सहयोग कार्यक्रम अन्तर्गत गतवर्षसम्म ५ लाखभन्दा बढी सुधारिएको चुलोहरु निर्माण गरिसकेको यस संस्थाले वायोग्यास/गोबरग्यास प्लान्टको निर्माणबाट अत्यधिक मात्रामा घरभित्रको धुँवाको प्रदुषण कम गर्न टेवा पुर्‍याएको छ । साझेदार संस्थाहरु र चुलो प्रवर्द्धकहरुमार्फत सुधारिएको चुलो निर्माणको अभियान चलिरहेको छ । मध्यपहाडी क्षेत्रका जिल्लाहरुमा माटोको चुलो, उच्चपहाडी क्षेत्रमा फलामे सुधारिएको चुलो र तराईका जिल्लाहरुमा रकेट चुलो लगायत तराई मोडेलका चुलो, संस्थागत प्रयोगकर्ताहरुका लागि संस्थागत सुधारिएको चुलो जडान गर्न सकिन्छ । सरकारले पनि सन २०१७ सम्म खाना पकाउनका लागि स्वच्छ उर्जालाई समाधानका रुपमा लैजान Clean Cooking Solution by 2017 अभियान, धुम्रपान विरुद्ध सचेतना अभियान आदि प्ानि संचालन भैहरेका छन् ।

७. प्रविधिको प्रयोग

यातायात, कलकारखाना, मानव कि्रयाकलापका विविध कार्यले हावामा बायु प्रदुषण कम गरी ब्यापक रुपमा फैलिरहेकेा क्यान्सर, दम र अन्य रोगहरुबाट बच्नका लागि बजारमा आधुनिक प्रविधिहरु पनि आएका छन् ।

पंखा, किचन हुड, एयर कन्डिशन, हावा शुद्घ पार्ने मेशिन (Air Purifier) आदि प्रविधिको प्रयोग गर्नाले प्रविधि अनुसार यसको प्रभाव कम गर्न वा बँच्न सकिन्छ ।
विशेष गरी हावा शुद्ध गर्ने मेशिनले विभिन्न अवस्था पार गरी शुद्ध हावा प्रवाह गर्छ । यसको गुणस्तरका आधारमा ९९.९७ प्रतिशत सम्म सफा गर्न सक्ने दावी गरिएको पाइन्छ । यसमा जडित पि्रफिल्टरले ठूला कणहरु हटाउँछ भने HEPA / ULPA Filter (High Efficiency Particulate Air) (Ultra Low Penetration Air) ले साना धुलोका कणहरु, एलर्जी गराउने तत्वहरु र भाइरसहरु प्रसार हुनबाट रोक्छ । एक्टीभेटेड कार्वन फिल्टरले हाइड्रोजन सल्फाइड, कार्वनडाइअक्साइड, सल्फरडाइअक्साइड र अमोनिया जस्ता हानिकारक ग्यासहरुलाई विच्छेदित गरिदिन्छ । अल्ट्राभायोलेट फिल्टरले हावामा रहेका ब्याक्टेरिया, ढुसी र भाइरसहरुलाई निस्तेज पार्छ भने आयोनाइजरले स्वच्छ हावामा रहेका कणहरुलाइ विच्छेदन गर्छ र शुद्ध हावा दिन्छ ।

मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको धुँवा चाहे घरभित्रको होस् चाहे बाहिरको नै किन नहोस्, यदि समयमै ध्यान दिइएन भने यसको असर अभिशाप बन्ने गर्छ र कैयौं जनजीवनमा यो अभिशाप बनिरहेको पनि छ । यसबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन पहिले समस्यालाई अन्तस्करणमा लिनुपर्ने र विवेकशील भै यसको असरबाट बच्नका लागि सबैले आ-आफ्नो क्षेत्रबाट हातेमालो गरेर अघि बढ्नुपर्ने समयको माग हो । सरकारले पनि आफ्ना नागरिकको कल्याणका लागि प्रदुषण नियन्त्रणका उपायहरुलाई उपयुक्त नीति बनाएर कार्यान्वयनमा ल्याउन ढिला गर्नु हुँदैन ।

(लेखक त्रि.वि.का उपप्राध्यापक तथा घरभित्रको धुँवा सम्वन्धी शोधकर्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment