Comments Add Comment

नियुक्ति लिनै आएनन् पुनर्निर्माणलाई छानिएका ४ सय २८ इन्जिनियर

Engineer

१९ जेठ, काठमाडौं । भूकम्पछिको पुनर्निर्माणका लागि परीक्षामा पास भएकामध्ये ४ सय २८ इन्जिनियर अझै नियुक्ति लिन आएका छैनन् । इन्जिनियरहरु गाउँगाउँमा नगइदिँदा वर्षाअघि नै निजी आवासको पुनर्निर्माण हुने संभावना न्यून हुँदै गएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले लिएको परीक्षामा१ हजार ३ सय ४६ इन्जिनियर उत्तिर्ण भएका थिए । तर, १ हजार ३६ जनाले मात्रै नियुक्ति पत्र बुझेको केन्दि्रय आयोजना निर्देशनालयका निर्देशक शिवहरी अधिकारीले जानकारी दिए ।

विभागले नियुक्त गरेका इन्जिनियरहरुलाई निर्देशनालयले पोष्टिङ गर्ने गर्छ । निर्देशनालयका निर्देशक शर्माका अनुसार नियुक्ति लिएकामध्ये ८०/८५ जना इन्जिनियर पोस्टिङ भएको ठाउँमा जान अटेर गरेर बसिरहेका छन् ।

नियुक्ति नै लिन नआएका र खटाएको ठाउँमा जान अटेर गर्ने इन्जिनियरको ठाउँमा अब बैकल्पिकमा नाम निकालेका इन्जिनियरहरुलाई पठाइने शर्माले जानकारी दिए ।

विभागले दरबन्दी जति नै पहिलो लिस्टमा नाम निकालेको थियो । त्यसबाहेक बैकल्पिक गरी दोस्रो लिस्टमा साढे १५ सय जनाको नाम सार्वजनिक गरेको थियो । ४ सय २८ पदका लागि फेरि आवेदन दिन आहृवान गरिएको शर्माले बताए ।

‘अब नियुक्ति लिन नआउने र पोष्टिङ भएको ठाउँमा जान अटेर गर्ने इन्जिनिरको ठाउँमा बैकल्पिकमा रहेकाहरुलाई पठाउने प्रक्रिया सुरु भएको छ,’ उनले भने- ‘त्यसका लागि २१ गतेसम्ममा आवेदन दिन आहृवान गरिएको छ ।’

किन आएनन् जागिर खान इन्जिनियरहरु ?

मुलुक बेरोजगारीको समस्याले आक्रान्त छ । तर, पाँच वर्षका लागि जागिरमा छनोट भइसकेका इन्जिनियरहरु किन नियुक्ती लिन नआएका होलान् ?

पुनर्निर्माण प्राधिकरणका एक अधिकारी भन्छन्-‘इन्जिनियरको न्यूनतम तलब जम्मा २४ हजार रुपैयाँ हो, गाँउमा गएबापत थप इन्सेन्टिभ छैन । त्यसैले उनीहरु परीक्षामा पास भएर पनि आकषिर्त नभएका हुन सक्छन् ।’

त्यस्तै यस अवधिमा योभन्दा राम्रो अवसर पाएकाले इन्जियिरहरु हाजिर हुन नआएको हुनसक्ने उनले बताए । महिनादिन अघि विभागले इन्जिजियरहरुलाई शैक्षिक प्रमाणपत्रका आधारमा ७० प्रतिशत र अन्तर्वार्तामा ३० प्रतिशत नम्बर दिनेगरी परिक्षा लिएको थियो ।

२ हजार इन्जिनियर गाउँगाउँमा

पुनर्निर्माणका लागि २ हजार इन्जिनियर भने गाउँमा खटाइसकिएका छन् । एक हजारभन्दा बढी इन्जिनियर, ६ सय ५० सव इन्जिनियर र ५ सय ७५ सहायक इन्जिनियरमध्ये २ हजार जनालाई पठाईको निर्देशक शर्माले बताए ।

यसरी गाउँमा खटाइएका इन्जिनियरहरुले निजी आवास निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउन सल्लाह, सुझाव दिने, सचेतना फैलाउने तथा सरकारले तोकेको मापदण्डको बारेमा बुझाउने काम गर्दछन् ।

अहिलेसम्म नीति नियम तयार पार्दा र पुनर्निर्माणको पूर्वतयारी गर्दा समय वितेकाले प्राधिकरण सुस्त भएजस्तो देखिए पनि अलिेसम्म भएको तयारीले आगामी दिनमा पुनर्निर्माणको कामले तीब्रता पाउने प्राधिकरणका सचिव मदुसुदन अधिकारीले बताए ।

संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले प्राधिकरणको काम कागजमा मात्रै सीमित भएकाले जनताले महसुस गर्नेगरी पुनर्निर्माण थाल्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment