२२ जेठ, काठमाडौं । निर्वाचन आयोगले पार्टी नै खारेज गरिदिएपछि खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह अहिले के गर्दै होलान् ?
आयोगले दल दर्ता खारेज गर्दा त्यस्ता दलहरुले एक वर्षसम्म उक्त दलको नाममा कुनै पनि गतिविधि गर्न नपाइने भनेको थियो ।
ती दलले प्रयोग गर्दै आएको झण्डा र चुनाव चिन्हसमेत प्रयोग गर्न प्रतिवन्ध लगाएको थियो । तर, मन्त्री सिंहले भने त्यही पार्टी, झण्डा र चुनाव चिन्ह राखेर आगामी जेठ २२ र २३ गते गते महाधिवेशन आयोजना गरेका छन् ।
महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी भएर उपस्थित बन्ने समाजवादी जनता पार्टीका नाममा पठाइएको निमन्त्रणापत्रमा उल्लेख छ ।
खारेज भएको दलले महाधिवेशन गर्न पाउँछ कि पाउँदैन ? यो प्रश्नमा निर्वाचन आयोगकी आयुक्त इला शर्माले आयोगमा छलफल गरेर जवाफ दिने प्रतिक्रिया दिइन् ।
यसबारे आयोगलाई जानकारी नभएको र यस्तो अवस्थामा के गर्ने भन्नेबारे निर्णय लिनुपर्ने आयुक्त शर्माको भनाइ छ ।
आयोगले तीन महिनाअघि समाजवादी जनता दलसहित १५ वटा दलहरु खारेजीको घोषणा गरेको थियो ।
खानेपानी तथा सरसफाइ मन्त्री सिंहले भने निर्वाचन आयोगको दल दर्ता खारेजको निर्णय नै कानुन विपरीत रहेको बताए । आयोगको निर्णयविरुद्ध आफुले सर्वोच्चमा मुद्दा दायर गरेको र त्यसको फैसला मात्रै आफूलाई मान्य हुने मन्त्री सिंहले अनलाइनखबरलाई बताए ।
आयोगले पूर्वाग्रही भएर कानुन विपरीत निर्णय गरेकाले त्यस्तो निर्णय नमान्ने मन्त्री सिंहले बताएका छन् ।
प्रतिक्रिया 4