Comments Add Comment

सहमति नजुटे ओली सरकार कायमै रहन्छः प्रचण्ड

'जसको नाममा सहमति जुट्छ, उसैको नेतृत्वमा सरकार'

prachanda

२४ जेठ, पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको सरकार गठनको प्रयास भइरहेका बताएका छन् । तर, सहमतीय सरकार बनाउने प्रयास सफल नभएसम्म केपी ओली नेतृत्वको वर्तमान सरकार कायम रहने उनले बताए ।

नेपाल प्रेस सेन्टर कास्की शाखाले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले सहमतीय सरकार बनेमात्रै आफूले नेतृत्व गर्ने स्पष्ट पारे ।

प्रचण्ड नेतृत्वमा बहुमतीय सरकार बन्ने हल्ला गलत भएको भन्दै उनले भने,-‘संविधान बन्ने बेलामा सहमति हुँदापनि प्रचण्ड राष्ट्रपति हुने शर्तमा सहमति भएको हो भन्ने हल्ला चलाइयो, अहिले प्रधानमन्त्री पाउनको लागि सहमति भएको भन्ने हल्ला चलाइएको छ, तर त्यस्तो केही होइन ।’ उनले अघि भने, ‘म सहमतीय सरकारबाहेक बहुमतीय खेलमा छैन र त्यस्तो सरकारको नेतृत्व पनि गर्दिन ।’

प्रचण्डले जसको नाममा सहमति जुट्छ उसैको नेतृत्वमा सहमतीय सरकार बन्ने पनि उल्लेख गरे । उनले भने,-‘मेरै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने छैन, जसको नाममा सहमति जुट्छ उसैको नेतृत्वमा सरकार बन्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रबीच भएको भद्र सहमतिमा दुबै दल प्रतिबद्ध रहेको दाबी गरे । जेन्टलमेन, जेन्टलमेनबीच जेन्टलमेन एगि्रमेन्ट हुन्छ, र त्यो जेन्टलमेन रहँदासम्म मात्रै सहमति कायम रहन्छ’ उनले भने, ‘जेन्टलमेन नै नरहे जेन्टलमेन एग्रिमेन्ट सकिन्छ, तर अहिले त्यो हामीबीच भएको जेन्टलमेन एग्रिमेन्ट कायम छ र कार्यान्वयन हुने विश्वास छ ।’

उनले पहिलो चरणको बजेट पाए भएपछि एमाले र माओवादीको भद्र सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयन, मधेसी-जनजातिको मागलाई वार्ताबाटै पुरा गर्नु र भूकम्पबाट प्रभावित क्षेत्रमा पुनःस्थापना गर्नु अहिलेको मुख्य चुनौती रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment