+
+

कनकमणिबारे अख्तियारको अर्को निर्णयः जगदम्बा र मदनको अचल सम्पत्ती रोक्का

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २७ गते २०:१६

Kanakmani-Dixit

२७ जेठ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जगदम्बा दातब्य औषधालय र मदन धारा समितिको नाममा रहेका अलच सम्पत्ती रोक्का गर्न सरकारलार्इ निर्देशन दिएको छ ।

‘जगदम्बा दातब्य औषधालय’ स्वर्गीय रानी जगदम्बाको नाममा र ‘मदन धारा समिति’ स्वर्गीय मदन शम्शेर राणाको नाममा स्थापित संस्था हो । र, औषधालय र समिति वरिष्ठ पत्रकार एवं साझा यातायात प्रालीका अध्यक्ष कणकमणि दीक्षितको परिवारले चलाउँदै आएका छन् ।

साझाका अध्यक्ष दीक्षितका विरुद्ध परेका विभिन्न उजुरीहरु उपर अनुसन्धान गर्ने सिलसिलामा यस्तो निर्णय गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।  जगदम्बा दातब्य औषधालय र मदन धारा समितिका नाममा देशका विभिन्न भागमा रहेका जग्गा अनियमितता नहोस् भन्नेतर्फ ध्यान दिँदै अचल सम्पत्ती हाललाई रोक्का राख्न भूमी सुधार व्यवस्था मन्त्रालय र सम्बन्धित मालपोत कार्यालयलाई भनिएको उसले बताएको छ ।

अख्तियारका अनुसार स्वर्गीय रानी जगदम्वा कुमारी राणाले २०१५ असोज २४ गतेको लिखतद्वारा आफनो नाम/कृति अमर राख्ने उद्धेश्य अनुरुप ‘जगदम्वा दातव्य औषधालय’ स्थापना गर्न आफना सेक्रेटरी कमलमणि दीक्षित (कणनमणिका पिता)लाई संचालक समितिको सदस्य वनाउने सर्तमा ४० हजार कम्पनी दिएको देखिन्छ । उक्त रकम मध्ये ३५ हजारको जग्गा किन्नु, ४ हजारको घर बनाउनु र १ हजारको फर्निचर खरिद गरी कार्यालय सञ्चालन गर्नु भनिएको लिखत आदेश छ ।

र, रानी जगदम्बाका सेक्रेटरी कमलमणि दीक्षित समेतले तेह्रथुमको आठराई संक्रन्तीमा औषधालय स्थापना गरेका थिए । दीक्षितले औषधालयको नाममा मोरङको दुलारी-५ मा ४८ विगाहा १२ कट्ठा ८ धुर र स्तै ताप्लेजुङ जिल्लाको निघुराधिनमा ५३ रोपनी १३ आना ३ पैसा जग्गा खरिद गरेको पाइएको छ ।

तर, सामाजिक संस्थाको रुपमा रहँदै आएको जगदम्बा दातव्य औषधालयलाई कमलमणि दीक्षितकै पहलमा २०७१ वैशाख ४ गते औषधालयलाई कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनीका रुपमा दर्ता गरेको पाइएको अख्तियारले जनाएको छ । साथै औषधालयको नाममा रहेका अचल सम्पत्ती वेचविखन तथा हक हस्तान्तरण गर्न सक्ने प्रावधान राखिएको छ ।

परोपकारी भावना र सामाजिक उद्धेश्य अनुसार स्थापित जगदम्बा दातव्य औषधालयको नाममा रहेको जग्गा विक्रि वितरण तथा नास गर्न सक्ने भन्दै अख्तियारले औषधालयको नाममा रहेका सम्पूर्ण जग्गा रोक्का राख्न सरकार, भूमीसुधार तथा व्यवस्था मन्त्रालय र सम्बन्धित मालपोत कार्यालयलाई निर्देशन दिएको छ ।

साथै सामाजिक सस्थालाई निजी कम्पनीका रुपमा परिणत गर्ने र संस्थाको चल-अचल सम्पत्ती वेचविखनको प्रयास गर्ने व्यक्तिहरुमाथि विस्तृत अनुसन्धान गर्ने आयोगले बताएको छ ।

यसैगरी मदन धारा समिति नाममा मोरङको दुलारी-५ मै ७ विगाहा १२ धुर जग्गा खरिद गरेको देखिएको अख्तियारले जनाएको छ । तर, मदन धारा समिति कसरी, कहिले र के उद्धेश्यले स्थापना भएको हो भन्ने केही नभेटिएको उसले बताएको छ ।

अनुसन्धानका क्रममा मदन धारा समितिलाई २०७० माघ २९ गते कम्पनी रजिष्टारको कार्यालयको निर्णयले कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनीका रुपमा दर्ता गरेको भेटिएको अख्तियारले जनाएको छ । उसका अनुसार कम्पनी सञ्चालनका लागि कमलमणि दीक्षितको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन भएको पाइएको छ ।

अहिले समितिको नाममा रहेको जग्गा कम्पनीको स्वामित्वमा रहने र वेचविखन गर्न समेत पाउने व्यवस्था गरेको भन्दै अख्तियारले मदन धारा समितिको नाममा रहेको जग्गासमेत रोक्का राख्न भनेको छ ।

यसैगरी रानी जगदम्बाले पाटन कलेजलाई दान दिएको भनिएको ललितपुर उपमहानगरपालिका वडा नम्बर ३ अन्तर्गतका कित्ता नम्बर ८०, ८१, ८२, ८३, ८४ र ८५ को ५ रोपनी २ आना जग्गा कमलमणि दीक्षितले जगदम्बा प्रेस प्रा.लि. र मदन पुरस्कार पुस्तकालयको नाममा दर्ता गरेको देखिएको अख्तियारले जनाएको छ ।

जगदम्बा प्रेस प्रा.लि. कनकमणि दीक्षित परिवारको नाममा छ । जगदम्बा प्रेसको २०७२ पुस २३ गतेको सञ्चालक समितिकबाट अध्यक्ष कमलमणि दीक्षित र उनका नजिकका नातेदारहरुवीच शेयर वाडफाँड गर्ने गरी निर्णय भएको पाइएको भन्दै अख्तियारले यसरबारे छानविन अनुसन्धान गर्न र शेयर सदस्यहरुवीच अचल सम्पत्ती वाँडफाँड तथा हक हस्तान्तरणको विषयमा जानकारी गराउन कम्पनी रजिष्टारको कार्यालयलाई निर्देशन दिएको छ ।

अख्तियारले जेठ १६ गतेको निर्णय अनुसार कनकमणी दीक्षित, कुन्द दीक्षित र परिवारका सदस्य तथा नजिका नातेदारले हदबन्दीभन्दा वढीको जग्गा लुकाई राखेको भन्दै १७ रोपनी १३ आना जग्गाबारे भूमी सुधार ऐन २०२१ बमोजिम कारबाहीका लागि सरकार, भूमिसुधार मन्त्रालयमार्फत भूमिसुधार कार्यालयमा लेखिपठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?